राजनीति


नेकपा स्थायी समिति बैठकः एकै दिनमा सक्ने तयारी

नेकपा स्थायी समिति बैठकः एकै दिनमा सक्ने तयारी

सागर न्यौपाने
भदौ २५, २०७७ बिहिबार १४:३२,

सत्तारुढ नेकपाको स्थायी समितिको बैठक शुक्रबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठक एकै दिनमा सक्ने तयारी भएको नेताहरुले बताएका छन्।

असार १० गतेदेखि सुरु भएको बैठक विवाद चुलिँदै गएपछि असार १८ पछि बस्न सकेको थिएन। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि बैठक भाँडिएको थियो।

पटकपटक मिति तोकेर स्थगित भएको बैठक साउन १३ गते भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत २९ जना सदस्य लिएर सञ्चालन गरेका थिए।

अध्यक्षद्वय ओली र प्रचण्डबीच विवाद समाधानको सहमति जुटिसकेको छ। सो सहमति स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि बुधबार नै इमेलमार्फत पठाइएको छ।

अध्यक्षद्वयबीच सहमति भइसकेको र त्यसलाई बैठकमा निर्णयार्थ पेस मात्र गरिने भएकाले एकै दिनमा बैठक सम्पन्न हुनसक्ने नेताहरु बताउँछन्।

‘बैठक भोलि नै सक्ने तयारी देखिन्छ,’ एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘दुई अध्यक्षबीचमा सहमति जुट्यो त्यसैलाई निर्णयार्थ प्रस्तुत गर्नुहुन्छ।’

प्रधानमन्त्री ओलीनिकट अर्का स्थायी समिति सदस्यले पनि बैठक एकैदिनमा सक्ने तयारी भएको बताए।

‘बैठकलाई लम्ब्याउने पक्षमा प्रधानमन्त्री हुनुहुन्न। एकसरो पहिले नै सबैले बोलिसकेका छन्,’ ती नेताले भने, ‘प्रस्ताव पहिले नै अध्ययन गर्न दिएर सहमति मै प्रतिवेदन आएकोले धेरै विवाद नहोला। छुटाउनै नहुने विषय भएमात्र पर्सिसम्म जाला।’

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि त्यसको समाधानको लागि साउन ३० गते ६ सदस्यीय ‘समस्या समाधान सुझाव कार्यदल’ गठन गरिएको थियो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित सो कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी समिति सदस्य शंकर पोखरेल सदस्य थिए।

कार्यदलले १७ पृष्ठ लामो सुझाव प्रतिवेदन भदौ ७ गते बुझाएको थियो। सोही कार्यदलको प्रतिवेदनलाई ओली र प्रचण्डले अध्ययन गरेर थपघट र परिमार्जन गरेका थिए।

सोमबार, मंगलबार र बुधबार दुवै अध्यक्षबीच भएको छलफलपछि पार्टीको विवाद समाधानको संयुक्त १५ बुँदे सहमति तयार पारी स्थायी समिति सदस्यलाई पठाइएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सकेसम्म छिट्टै सक्ने बताए।

‘सकभर छिट्टै सक्ने योजना हो, एकैदिनमा सके त राम्रो भयो, जे होस् छिटो सकाउने स्प्रिटमा भोलि बोलाइएको हो,’ उनले भने, ‘तर, भोलि सकिएन भने पर्सि बैठक नबस्ने भन्ने त हुँदैन।’

प्रवक्ता श्रेष्ठले स्थायी समितिको बैठक भएकाले बोल्न खोज्ने सबै नेताले आफ्ना धारणा राख्ने बताए।

‘सबै विस्तृतमा त जानकारी आइसकेको छैन तर, पनि स्थायी समितिको बैठकमा बोल्न खोज्ने सबैले पाउनुहुन्छ,’ श्रेष्ठले भने।

बालुवाटारनिकट नेताका अनुसार छिटो सक्न समूह बनाएर छलफल गराउने तयारी छ।

‘नेताहरुको तयारी हेर्दा भोलि नै बैठक सकाउने देखिन्छ,’ ती नेताले भने, ‘विवाद समाधान गर्न दुई अध्यक्ष तयार हुनुभयो, उहाँहरुले रियालाइजेसन गरेर बैठकमा प्रस्तुत भएपछि अरु नेताले के बोल्नु होला र!’

दुई अध्यक्षले प्रस्ताव गरेको विवाद समाधानको संयुक्त प्रस्तावमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनी पक्षका नेताहरुले के गर्छन् भन्ने हेर्न बाँकी छ।

४४ सदस्यीय नेकपाको स्थायी समितिको बैठकमा असार १० देखि १३ सम्म सीमा समस्याका विषयमा छलफल भइसकेको छ। त्यसबेला तय गरेका बाँकी ६ एजेन्डा पनि ओली प्रचण्डको संयुक्त विवाद समाधान प्रस्तावमा समेटिएको छ।

नेपाल र नेम्वाङसँग प्रचण्डको भेट
स्थायी समिति बैठकको अघिल्लो दिन कार्यकारी अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य तथा ओलीनिकट नेता सुवास नेम्वाङसँग खुमलटारमा छलफल गरेका छन्।

बिहीबार बिहान प्रचण्डलाई भेट्न नेता नेपाल खुमलटार पुगेका थिए। दुई अध्यक्षबीचको सहमतिको प्रस्तावका विषयमा छलफल भएको एक नेताले जानकारी दिए।

प्रचण्ड–नेपालबीच बिहान ८ बजेदेखि एक घण्टा छलफल भएको हो। स्थायी समितिको बैठकमा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेर राजीनामा माग गर्नेमा प्रचण्ड नेपाल र झलनाथ खनाल पक्षका नेताहरु रहेका थिए। उनीहरुको गठबन्धन नै बनेको छ।

नेता नेपालले पार्टीभित्र विधि र मापदण्डको कुरा उठाउँदै आएका छन्। स्रोतका अनुसार मन्त्रिमण्डल र प्रदेश मन्त्रिमण्डल पुनर्गठन, संयुक्त प्रस्ताव, आदिको विषयमा पनि छलफल भएको छ।

नेपाल निस्किए लगत्तै नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .