राजनीति


सुदूरपश्चिमको सकस : सभामुख चयनका लागि आज तेस्रोपटक प्रयास गरिँदै

सुदूरपश्चिमको सकस : सभामुख चयनका लागि आज तेस्रोपटक प्रयास गरिँदै

नेपालखबर
माघ ३, २०७९ मंगलबार ८:२१, कञ्चनपुर

यती एयरलाइन्सको जहाज दुर्घटनाको शोकले स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबार बस्दै छ।

बिहान १० बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। आजको प्रदेशसभा बैठकमा सभामुखका लागि तेस्रोपटक मतदान गर्ने तयारी छ।

सभामुख चयनका लागि दुईपटक भएको मतदानमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल कसैले पनि बहुमत ल्याउन नसक्दा प्रदेशसभाले सभामुख पाउन सकेको छैन।

हिजो सोमबार बिहान ९ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक यती विमान दुर्घटनाका लागि सकारले शोक बिदा दिएकाले स्थगन गरिएको थियो। यसअघि पुस २८ र ३० मा सभामुखका लागि लागि भएको मतविभाजनमा कसैले पनि बहुमत ल्याएका थिएनन्।

पहिलोपटक भएको मतविभाजनमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भण्डारीका पक्षमा २६ र कांग्रेसका रावलका पक्षमा २३ मत खसेको थियो।

त्यसदिन एमालेका चक्र मल्ल, नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी बैठकमा उपस्थित भएनन् भने सत्तारुढ गठबन्धनको एक मत बदर भएको थियो।

त्यसपछि दोस्रो पटक ३० पुसमा भएको सभामुखको मतविभाजनमा सत्तारुढ नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा कसैलाई बहुमत जुटेन। त्यसदिन भण्डारी र रावलको पक्षमा २२/२२ मत खसेको थियो।

मंगलबारको प्रदेशसभाको बैठकले पनि सभामुख पाउनेमा अन्योल छ। नागरिक उन्मुक्तिले अझै मतविभाजनमा भाग लिने/नलिने निर्णय गर्न सकेको छैन।

‘आज छलफल चलिरहेको छ, के गर्ने भन्ने निर्णय भएको छैन,’ नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले भने।

नागरिक उन्मुक्ति पार्टी सत्तारुढ गठबन्धनसंग मन्त्री नियुक्तिलाई लिएर असन्तुष्ट छ। मुख्यमन्त्री राजेन्द्र रावलसँगै माओवादीका खगराज भट्ट र एमालेकी सन्तोषी कुमारी थापा (शर्मा) ले पनि मन्त्रीको शपथ लिएका थिए।

मन्त्री नियुक्तिमा सत्ता साझेदार दल भए पनि आफूहरुसँग छलफल नै नगरी एकलौटी गठबन्धन अगाडि बढेकाले नागरिक उन्मुक्ति असन्तुष्ट बनेको छ। 

यस्तै, टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चौधरीलगायत बन्दीलाई रिहाइ नभएकाले नागरिक उन्मुक्तिले ३० गतेको मतविभाजनमा तटस्थ बसेको जनाएको थियो। 

पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुखको निर्वाचन गराइसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो। सुदूरपश्चिम प्रदेश सरकार संवैधानिक संकटमा फस्दै गएको छ। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी प्रतिनिधि सभा सांसद रञ्जिता श्रेष्ठले सोमबार नागरिक उन्मुक्तिका सांसदहरुसंग छलफल गर्दै सभामुखमा सत्तारुढ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएको चर्चा पनि छ। यद्यपी, नागरिक उन्मुक्ति पार्टीका सांसद भने अझै के गर्ने अन्योलमा छन्।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ। प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९, नेकपा एकीकृत समाजवादी ४ र  एक स्वतन्त्र सांसद प्रतिपक्षमा छन्। नेकपा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनको पक्षमा २९ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .