राजनीति


जहाँ जसले जे सुन्न चाहेको छ, त्यही बोल्ने ‘पपुलिस्ट’ राजनीति घातक छ: वर्षमान पुन

जहाँ जसले जे सुन्न चाहेको छ, त्यही बोल्ने ‘पपुलिस्ट’ राजनीति घातक छ: वर्षमान पुन

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १७:८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन बताएका छन्। 

बिहीबार रोल्पाको लिवाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यविनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)प्रति लक्षित गर्दै मतदाताअनुसार फरकफरक अभिव्यक्ति दिनेहरूबाट कुनै आशा गर्न नसकिने उनको भनाइ थियो। 

‘काठमाडौँमा संघीयताको विरोध गर्ने र जनकपुर गएपछि संघीयता चाहिन्छ भन्ने। काठमाडौँमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरू र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा झरेपछि सुकुम्बासीको पक्षमा छौँ भन्ने’, पुनले भने, ‘जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने पपुलिस्ट राजनीति घातक छ।’

गणतन्त्रलाई समाजवादसँग जोड्ने, असमावेशीतलाई पूर्ण समावेशीतालामा लैजाने, धनी र गरिबबीचको खाडल पुरेर समानता कायम गर्ने एजेन्डामा समहत रहेको उनको भनाइ थियो। ‘हामी नयाँसँग काम गर्न तयार छौँ। तर, अहिलेको उपलब्धी खोसेर पछि हट्न खोज्ने नयाँसँग होइन, अहिलेको उपलब्धी जोगाएर अघि बढ्ने नयाँसँग काम गर्न हामी तयार छौँ,’ उनले भने। 

विचार, राजनीति र एजेन्डाले नेकपा नयाँ दल भएको उनको दाबी थियो। ‘विचारले नयाँ, राजनीतिले नयाँ, एजेन्डाले नयाँ हामी हौँ,’ पुनले भने, ‘यथास्थितिवादी र नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी पनि होइनौँ हामी।’

उनले रोल्पाले सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा र सिंचाइजस्ता पूर्वाधार विकासमा विगतको तुलनामा फड्को मारेको जिकिर गरे। अब अधुरो आयोजना पूरा गर्न आफ्नो तर्फबाट सहजीकरण हुने उनले प्रतिबद्धता जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad