राजनीति


प्रदेश १ सरकार गठनमा १ मात्र सिट भएको जसपा निर्णायक

निर्मलाको साथ सत्ता गठबन्धनले पाउला कि एमालेले?
प्रदेश १ सरकार गठनमा १ मात्र सिट भएको जसपा निर्णायक

निर्मला लिम्बू


ध्रुव भट्टराई
पुस ४, २०७९ सोमबार १०:२, विराटनगर

प्रदेश १ को सरकार गठनका लागि सत्ता गठबन्धन र गठबन्धनबाहिर रहेको एमालेको दौडधुप सुरु भएको छ। गठबन्धन र एमाले दुवैलाई सरकार गठनका लागि प्रस्ट बहुमत प्राप्त नगरेपछि साना दललाई फकाएर सरकार निर्माणको बाटो बनाउन यी दल प्रयासरत देखिएका छन्। 

सत्तारुढ गठबन्धन र एमाले कसको नेतृत्वमा अबको सरकार गठन हुने भन्ने कुरा अन्योल छ। तर गठबन्धनभित्रका दल र एमाले दुवैले अबको प्रदेश सरकार आआफ्नो नेतृत्वमा हुने दाबी गरिरहेका छन्। वाम गठबन्धनमा आएको विग्रहपछि बनेको वर्तमान सत्ता गठबन्धनकै सरकारको निरन्तरताका लागि पनि जनमतसिद्ध हुन सकेन। त्यसैगरी नेकपा एमालेको नेतृत्वमा भएको चुनावी तालमेलमा सहभागी दलहरूले पनि सरकार टिकाइराख्ने सुविधा भएको नयाँ सरकार बनाउन नसक्ने गरी झिनो बहुमत पाएका छन्। 

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेले २५ प्रत्यक्ष सिट जितेको छ। निर्वाचन आयोगको आँकडाअनुसार समानुपातिकतर्फबाट एमालेले १५ सिट पाएको छ। एमालेलाई आफूले पाएको ४० सिटबाट बहुमतको सरकार बनाउन चुनावमा तालमेल गरेका राप्रपा र जसपाको साथ आवश्यक छ। 

प्रदेशसभामा राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिक ४  गरी जम्मा ६ सिट प्राप्त गरेको छ। सरकार गठनका लागि न्यूनतम बहुमत ४७ सिट हो। एमालेलाई आफैंसँग तालमेलमा चुनाव लडेको जसपाले समानुपातिकतर्फबाट प्राप्त गरेको एक सिट थपिँदा बहुमत ४७ सिट हुनेछ।

तर केन्द्रदेखि नै फेरि विभाजन हुँदै गएको सत्ता स्वार्थको राजनीतिले फेरि पनि कुन दललाई कहाँ उभ्याउने हो भन्ने कुराले एमालेलाई ४७ सिटे बहुमतले ‘माघको जाडो नथेग्ने’ स्पष्ट छ। त्यसको मुख्य कारण जसपाभित्र सत्तारोहणको रोडम्याप निश्चित भइनसक्नु र राप्रपाभित्र पार्टी निर्माणको गुरुयोजनाको पाना फेरिनु नै हो। अर्कोतिर केन्द्रदेखि प्रदेशसम्म वर्तमान सत्ताकै ढलीमली हुनेगरी निरन्तरताको प्रतीक्षामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका मुख्य दल पनि आफूहरूसँगको ४६ सिट देखाएर राप्रपा र जसपालाई साथमा लिने प्रयास जारी राखेका छन्। सत्ता गठबन्धन र गठबन्धनबारिहको दल एमालेले सरकार गठनका लागि आवश्य एक सिट दिएबापत जसपालाई पुरस्कारस्वरूप मन्त्री पद दिने गरी छलफल चलाइरहेका छन्। 

प्रदेश १ मा नेपाली कांग्रेसले प्रत्यक्ष १७ सिट जित्दा समानुपातिक १२ सिट सुरक्षित गरेको छ। त्यस्तै माओवादी केन्द्रले ९ प्रत्यक्ष र ४ समानुपातिक तथा नेकपा एकीकृत समाजवादीले ३ प्रत्यक्ष र एक समानुपातिक गरी गठबन्धनले कूल ४६ सिट सिट मात्र प्राप्त गरेको छ। एक सिट मात्रै बढी भएको बहुमतको सरकार बनाउन यतिबेला सत्ता गठबन्धनका दलहरू पनि कसिएर लागेका छन्। 

उनीहरूले राप्रपा र जसपालाई फकाउने प्रयत्न जारी राखेका छन्। रोचक त के छ भने सरकार गठनका लागि एक सिट अपुग भएका गठबन्धनभित्र र बाहिरका यी दलका निम्ति सरकार गठनका लागि जसपाले साथ दिए पुग्ने अवस्था छ। 

त्यसैले सरकार निर्माणका लागि जसपा निर्याणक शक्तिका रूपमा देखिएको छ। आगामी सरकार  गठनको तयारीमा जुटेका सत्ता गठबन्धन र गठबन्धबाहिरका दलहरूका लागि निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी (जसपा) ले कसलाई समर्थन गर्ने टुंगो गरिसकेको छैन। त्यसैले प्रदेश १ मा सरकारको नयाँ नेतृत्वबारे सबै सम्भावनाको ढोका खुला नै छ। प्रदेशमा प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको जसपाले समानुपातिकबाट प्रदेशसभामा एउटा सिट हात पारेको छ। 

जसपाले निर्णय गरिनसकेका कारण प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको अर्को गठबन्धनका नेताहरू जसपा फकाउन प्रयासरत छन्। प्रदेशदेखि केन्द्रसम्मका नेताहरू भेट्ने, शक्ति बाँडफाँट गर्नेसम्मको काममा नेताहरू लागिरहेका छन्। एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले एमाले प्रदेशकै सबैभन्दा ठूलो दल भएको नाताले सरकार गठनको मुख्य जिम्मेवार दल रहेको बताए। उनले सरकार निर्माणको प्रक्रियामा आफनो पार्टीलाई जसपाको साथ मिल्ने दाबी गरे। 

‘आसन्न निर्वाचनमा चुनावी तालमेलमा हामी यी दुई पार्टीसँगै थियौँ’, अध्यक्ष न्यौपानेले भने, ‘प्रदेश सरकार निर्माणको चाबी बोकेको जसपाले अहिलेसम्म ठोस निर्णय नलिको छैन। हामी यसलाई साथमा लिएर सरकार गठनको प्रयास जारी राखिरहेका छौं।’

एमालेले यस्तो प्रयास जारी राख्दा सत्ता गठबन्धनका दलहरूले पनि दौडधुप तीव्र पारेका छन्। ‘जसपा निर्णायक भएकाले ऊसँग विभिन्न चरणमा संवाद भइरहेको माओवादी केन्द्रका नेता इन्द्र आङ्म्बोले बताए। 

वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा रहेको सरकारमा सामेल रेहकाले निश्चय पनि नयाँ सरकार निर्माणमा जसपाको साथ गठबन्धलाई नै रहने दाबी उनले गरे। 

प्रदेश सरकारका मन्त्रिपरिषद् सदस्यसमेत रहेको आङम्बोले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा जसपा सत्ता गठबन्धनमै आउने सम्भावना देखिन्छ।’ 

आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गरिरहेका दलहरूको दाबी जे–जस्ता भए पनि बल आखिर जसपाको ‘कोर्ट’मा छ। त्यसैले उसले आधिकारिक निर्णय नलिएसम्म प्रदेशमा कसको नेतृत्व हुने भन्ने सबै सम्भावना खुला नै देखिन्छ। प्रदेश १ को सरकार निर्माणमा निर्णायक अवस्थामा रहेको जसपाले कसलाई समर्थन गर्ने टुंगो गरिसकेको छैन।

जसपाका अध्यक्ष उपेन्द्र यादवले केही समयअघि मात्र विराटनगरमा ‘एमालेसँग चुनावी सहकार्य मात्रै भएको र त्यो कोर्स सकिएको’ बताएपछि सत्ता गठबन्धन हौसिएको थियो। तर, लगत्तै अर्का नेता अशोक राईले ‘त्यो अध्यक्षको व्यक्तिगत विचार मात्रै भएको’ बताएपछि एमाले उत्साही देखिएको छ। 

प्रदेश सरकार बनाउन निर्णायक बनेको जसपाले कसलाई समर्थन गर्ने टुंगो गरिसकेको छैन। त्यसैले प्रदेश १ मा सरकारको नयाँ नेतृत्वबारे सबै सम्भावनाको ढोका खुला नै छ। प्रत्यक्षतर्फ एक सिट पनि नजितेको जसपाको समानुपातिकतर्फकी एक्ली सांसद हुन्– निर्मला लिम्बू। ताप्लेजुङकी लिम्बूको पहिलो संसद् यात्रा नै यति रोमान्चक बन्दैछ कि प्रदेश १ संसद्‌मा उनी जता उभिइन्, उतैतिर नयाँ सरकार बन्नेवाला छ।

‘पार्टीको निर्णय नै मुख्य कुरा हुन्छ‘, निर्मलाले भनिन्, ‘तर, मलाईचाहिँ पहिचानको पक्षमा उभिएका शक्तिहरूसँग गठबन्धन भए राम्रो हुन्छ भन्ने लागेको छ।’ 

निर्णायक सांसद निर्मला फुङलिङ–६ मा ढाका कपडा उद्योगसमेत चलाइरहेकी छन्। ४२ वर्षीया निर्मलाले थपिन्, ‘म पार्टीको इमान्दार कार्यकर्ता र सिपाही हुँ। यसमा मेरो व्यक्तिगत रोजाइ गौण हुन्छ। मलाई पहिचान पक्षधरहरूसँग गठबन्धन भए राम्रो लाग्नेछ।’

कुमार लिङ्देन नेतृत्वको लिम्बूवानबाट स्कुले जीवनबाटै राजनीतिक यात्रा थालेकी उनी अहिले जसपाको पोलिटब्युरो सदस्य र प्रदेश सहइन्चार्जको जिम्मेवारीमा छिन्। अशोक राई, रकम चेम्जोङ, अजम्बर काङमाङहरूले एमालेबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी बनाएपछि निर्मला पनि सो पार्टीको संस्थापकमध्येकै एक थिइन्। एकता प्रक्रिया हुँदै अहिले उनी जसपाको जिम्मेवारीमा आइपुगेकी हुन्। 

यसपटक उनकै भूमिका प्रदेशमा सरकार निर्माणका लागि निर्णायक हुँदै छ। सरकार गठनका लागि आवश्यक बहुमत सिट संख्या ४७ मध्ये सरकार गठनका लागि एमालेलाई पनि थप १ सिटले बहुमत पुग्ने अवस्था छ, ठीक त्यसैगरी सत्ता गठबन्धनलाई पनि बुहमत सिद्ध गर्न १ सिट नै आवश्यक छ।

कांग्रेससँग २९ सिट रहेको प्रदेशमा माओवादीसँग १३ र एकीकृत समाजवादीसँग ४ सिट छन्। यसरी सत्ता गठबन्धनलाई पनि बहुमत पुर्‍याउन जसपाको साथ अनिवार्य छ। यस्तो बेलामा जसपाको एकताबद्ध निर्णय नआउने हो भने प्रदेशकी एक्ली सांसद् निर्मलाको पोजिसन के हुनेछ? जसपा नेताहरू यस्तो अवस्था नै नआउने दाबी गर्छन्। त्यस्तो अवस्था आइहाले अशोक राई निकट निर्मलाले आफ्नै नेताको लाइन लिने हुन् कि? जवाफमा निर्मला भन्छिन्, ‘हामी पार्टीका इमान्दार सिपाही हौं, हामी पार्टीको लाइनमा उभिन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .