ad ad

राजनीति


विपरीत परिस्थितिको सामना गर्दै महन्थ ठाकुर पाँचौँ पटक संसद पुगे

विपरीत परिस्थितिको सामना गर्दै महन्थ ठाकुर पाँचौँ पटक संसद पुगे

जयन्त ठाकुर
मंसिर ९, २०७९ शुक्रबार १८:५५, जनकपुर

मधेश केन्द्रित दलहरुका लागि गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रतिकुल रह्यो।

०७४ सालको निर्वाचनमा मधेश प्रदेशमा राम्रो नतिजा ल्याउनुका साथै प्रतिनिधिसभामा समेत मजबुत स्थितिमा रहेका मधेश केन्द्रित दल यो निर्वाचनमा खुम्चिएको छ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई त सप्तरी २ का मतदाताले हारको स्वाद चखाइसकेका छन्।

यसका साथै कयौँ क्षेत्रमा पराजय भोग्नु परेको छ। विपरीत परस्थितिका बिच पनि महोत्तरी ३ का मतदाताले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो जनप्रतिनिधि चुनेको छ। ठाकुर यो जीत संगै पाँचौ पटक संसदमा पुगेका छन्।

८० वर्षीय ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर विपरित परस्थितिका बिच जीत निकाल्न सफल भएको छ। मतगणनाको सुरुदेखि नै पछाडी पार्दै आएका जसपाका हरिनारायण यादव मतगणनाको अन्तिम चरणमा आउँदासम्म १४ हजार ३ सय २५ मत ल्याएर दोस्रो स्थानमा चित्त बुझाए। 

एमालेको बागी उम्मेदवार रामआधार कापरले भने १२ हजार ७ सय ३३ मत ल्याएर तेस्रो स्थानमा रहे। ठाकुर २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट ठूलो मतान्तरले विजयी भएका थिए। 

६२ वर्षदेखि राजनीतिमा सक्रिय ठाकुर २०१७ सालमा नेपाली कांग्रेसमा लागेर औपचारिक रुपमा राजनीतिमा सक्रिय भएका थिए। कांग्रेसमा रहँदा पनि उनी प्रभावशाली नेताको रुपमा चिनिन्थे।

कांग्रेसी राजनीतिमा उनी कोइराला परिवारका विश्वासी पात्र थिए। 

यद्यपि ०६३ सालमा मधेश आन्दोलन चरमोत्कर्षमा पुग्दा नेपाली कांग्रेस मधेशको मागप्रति गम्भिर नरहेको भन्दै आफ्नै नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेर कांग्रेस परित्याग गरे।

ठाकुर महोत्तरीको पिपरा गाउपालिकास्थित एकहरियामा जन्मिएपनि उनको राजनीतिक रुपमा सर्लाही जिल्ला लामो समयसम्म कर्मभूमि रह्यो। कांग्रेस पृष्ठभूमिबाट राजनीतिमा उदाएका ठाकुरले मधेशकेन्द्रित राजनीतिमा प्रवेश गर्दासम्म उनलाई त्यागी नेताको रुपमा परिभाषित गरिन्छ। 

०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार भएर उनी सर्लाही–५ बाट पहिलो पटक निर्वाचित भए। ठाकुर २०५१ सालमा उपसभामुख बने।

०५१ को मध्यावधि चुनावमा पनि ठाकुर सर्लाहीबाटै जित निकाले। सोही वर्ष उनी कृषिमन्त्री भए। २०५६ को निर्वाचनपछि उनी कानुनमन्त्री पनि बने।

त्यस्तै, कांग्रेसमै रहँदा उनी सञ्चार मन्त्री पनि बनेका थिए। ०६४ र ०७०को संविधानसभा निर्वाचनमा पराजित भएछि उनी ०७४को आफ्नो गृहजिल्ला महोत्तरी आइपुगे। महोत्तरी ३का मतदाताले ०७४ सालको आम निर्वाचनमा उनी विजयी भएका थिए। 

तत्कालिन केपी ओली नेतृत्वको सरकार रहेको बेला उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलाई ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी मिलाएर जनता समाजवादी पार्टी गठन गरे। ठाकुर र यादव दूबै सो पार्टीका अध्यक्ष बने। ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि रातारात ओलीले पार्टी फुटाउन लागेका भन्दै राजपा र समाजवादी पार्टी मिलेर जसपा गठन भएको थियो।

त्यसको एक वर्षपछि ओलीलाई सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा जसपा भित्र विवाद बढ्दा पार्टी विभाजित भयो। जसपाको आधिकारिता उपेन्द्रले पाए भने ठाकुरलाई लोकतान्त्रिक समाजवादी पार्टी नामक नयाँ दल गठन गर्नुपर्यो। 

अहिले उनी ललितपुरको हात्तीवनस्थित छोरीज्वाइँको घरमा बस्छन्। 

ठाकुरकी श्रीमतीको २०४५ सालमा स्टोभ पड्किएर मृत्यु भएको थियो भने पछि दुर्घटनामा परेर छोराको पनि मृत्यु भएको थियो। ठाकुरले आफ्नो नाममा रहेको सम्पति पनि नेपाली कांग्रेसलाई दान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .