ad ad

राजनीति


बागलुङमा ‘वाम : एक ठाउँ’ नहुँदा एमालेलाई ठूलो क्षति

संघीय संसद र प्रदेश दुवैतर्फ ‘क्लिन स्वीप’
बागलुङमा ‘वाम : एक ठाउँ’ नहुँदा एमालेलाई ठूलो क्षति

वाशुदेव मिश्र
मंसिर ७, २०७९ बुधबार २०:१, पोखरा

बागलुङमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच पुरानो दुस्मनी थियो। कतिसम्म भने,गाउँमा लाग्ने मेलाहरुमा पनि त्यो पोखिन्थ्यो। मारकाट नै हुन्थ्यो। त्यसो त, आफूलाई कम्युनिष्टको ‘माउपार्टी’ मान्ने जनमोर्चा र माओवादी केन्द्रबीच पनि उतिसारो मिल्ती हुँदैनथ्यो। 

राष्ट्रिय जनमोर्चा छाडेर माओवादी केन्द्र र एमाले जानेहरु पुरानो पार्टीको सत्तोसराप गर्थे। तर,हरेक चुनावमा ‘जनमोर्चा’ निर्णायक हुन्थ्यो। 

त्यहाँ रहेका एमाले र माओवादीले त्यो तथ्यलाई नबुझ्ने कुरै भएन। २०७४ सालको आमनिर्वाचनमा देशैभरको माहौलसँगै त्यही तथ्यमा टेकेर वाम गठबन्धन बन्यो। 

वाम गठबन्धनले बागलुङ क्षेत्र नम्बर १ बाट एमालेका सूर्य पाठक र २ बाट माओवादीका देवेन्द्र पौडेललाई उम्मेदवार बनायो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी त्यो बेला अस्वस्थ थिए। उनले चुनाव लड्ने मन गरेनन्। 
जनमोर्चाले प्रदेशतर्फका दुवै ‘ख’ रोज्यो। प्रदेश १ ‘ख’ मा कृष्ण थापा र प्रदेश २ ‘ख’ मा टेकबहादुर घर्ती उम्मेदवार बने। 

प्रदेशका बाँकी सिटमध्ये प्रदेश १ को ‘क’ एमालेका इन्द्रलाल सापकोटा र २ को ‘क’ बाट माओवादीका चन्द्रबहादुर बुढाले टिकट पाए। एक्लै चुनावमा होमिएको कांग्रेसले वाम गठबन्धन हल्लाउन सकेन। 

बागलुङबाट कांग्रेस बढारियो। अघिल्लो पटक बागलुङ क्षेत्र नम्बर १ को उपनिर्वाचन जितेकी चम्पादेवी खड्काले पनि पराजय भोगिन्। 

तर, समय न हो ! २०७९ सालसम्म आइपुग्दा वाम गठबन्धन भत्कियो। माओवादी केन्द्र र जनमोर्चा एकातिर अनि एमाले अर्को कित्तामा उभिए। 

एमालेलाई प्रतिगमनको मतियार भएको आरोप लगाएका माओवादी–जनमोर्चाले कांग्रेससँग साँठगाठ गरे। स्थानीय चुनावको लागि वाम–लोकतान्त्रिक गठबन्धन बन्यो। 

गठबन्धनले बागलुङका १० मध्ये ९ पालिका प्रमुख र अधिकांश वडा जितेको थियो भने २०७४ सालको चुनावमा ४ पालिका प्रमुख र २ वटामा उपप्रमुख जितेको एमाले खुम्चिएर एउटामा झर्न पुगेको थियो। 

२०७८ साल वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन परिणामले नै वाम–लोकतान्त्रिक गठबन्धनको ताकत प्रमाणित भइसकेको थियो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी स्वयम् बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बने भने २ मा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल मैदानमा उत्रिए। 

संघतर्फ जनमोर्चा र माओवादीले टिकट पाउँदा प्रदेशतर्फका ४ वटै सिट कांग्रेसको भागमा पर्‍यो। एक्लै प्रतिस्पर्धामा उत्रन बाध्य एमालेले यो चुनावमा विद्रोहीहरुको ‘टेको’ खोज्यो। 

कांग्रेसबाट विद्रोह गरेकी मञ्जु शर्मा चालिसेलाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनायो। भने क्षेत्र नम्बर १ को ‘ख’ मा पनि कांग्रेस छाडेका नवराज शर्मालाई उठायो। उता, क्षेत्र २ को ‘ख’ मा माओवादी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश घर्ती मगरलाई सघायो। 

एमालेको यो रणनीतिले जादू त देखाएन तर आशा भने जगायो। कतिसम्म भने, क्षेत्र नम्बर १ बाट उम्मदेवारी दिएका चित्रबहादुर केसी अन्तिम समयसम्म पनि ‘धुकचुक’मा बस्न बाध्य भए। त्यहाँ कहिले एमालेका डा. सूर्य पाठक अगाडि र कहिले चित्रबहादुर केसी अगाडि हुने उपक्रम चलिरह्यो। 

अन्तिममा केसीले २ हजार २२६ मतले पाठकलाई पाखा लगाए। केसीले ८१ हजार ४५१ मत पाउँदा पाठकको पक्षमा १८ हजार ८२५ मत आयो। 

केसीलाई धर्मर बनाउनुमा पाठकको भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलको बढी हात रह्यो। तेस्रोमा आएका उनले ९ हजार १८१ मत ल्याए। त्यहाँ एमाले बलियो नै थियो। 

त्यही क्षेत्रको प्रदेश ‘क’का उम्मेदवार हीराबहादुर केसीले अन्तिम समयसम्म कांग्रेसका दीपेन्द्रबहादुर थापालाई आच्छुआच्छु पार्नुले त्यहाँ एमाले बलियो भएको प्रमाणित गर्छ। 

४७८ मतले पछि पर्दै केसीले नतिजा थापालाई सुम्पिँदा ‘ख’ मा कांग्रेसका डिल्लीराम सुवेदी भने भारी मतले विजयी भएका थिए। डिल्ली र प्रतिस्पर्धी एमालेका नवराज शर्मालाई ६ हजार ३७ मतान्तरले हराएका थिए। तर, उनले पाएको सबै मत चित्रबहादुरलाई गएन। 

उता, क्षेत्र नम्बर २ मा भने देवेन्द्र पौडेल भने सुरुदेखि नै सहज अवस्थामा देखिए। कांग्रेसको मत तान्ने आशा गरिए पनि मञ्जुको हकमा त्यो लागू भएन। 

उनी ४ हजार ४९९ मतान्तरले पछि परिन्। देवेन्द्रले २८ हजार ८२७ र मञ्जुले २० हजार १८० मत ल्याइन्। प्रदेशतर्फ ‘क’मा स् ३ हजार १ सय मतले पछि पर्दै स्वतन्त्र प्रकाश घर्ती मगरले परिणाम जीतबहादुर शेरचनलाई सुम्पे। ‘ख’मा कांग्रेसका द्रोणकुमार कुँवरले एमालेका लक्ष्मण पुनलाई ३ हजार ३३७ मतान्तरले पराजित गरे। 

चुनावमा ५ दलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएकोमा नेताहरु खुसी छन्। तर, जनमोर्चाका नेताहरु भने परिणामबा सशंकित देखिएका छन्। 

कांग्रेस गठबन्धनप्रति प्रतिवद्ध नभएको उनीहरुको आशंका छ। यद्यपि, उनीहरुले मुख खोलेका भने छैनन्। यता, कांग्रेस नेतृ रेणुका काउचा मगरको भनाइ मान्ने हो भने बागलुङमा गठबन्धन कसिलो देखिएको छ।

‘गठबन्धनका सबै उम्मेदवारहरु विजयी हुनुभएको छ, गठबन्धनमा दायाँबायाँ भएकै छैन’,उनले भनिन्,‘चुनावमा व्यक्तित्वल पनि असर पार्छ भन्ने त देशभरको नतिजाले देखाएको छ, पनि त्यो हावाले छुँदा गाह्रो भएको हो,घात होइन।’

उनले यसो भनिरहँदा एमालेमाथि भने चुनौती थपिएको छ। संघ र प्रदेशमा एमालेको प्रतिनिधित्व गुमेको छ। स्थानीय तहमा पनि उसको पकड छैन। चुनावलाई लिएर एमालेभित्र पनि प्रारम्भिक समीक्षा भएको छ। 

चित्रबहादुरसँग निवर्तमान प्रदेश सांसद इन्द्रलाल सापकोटालाई प्रतिस्पर्धी बनाउन सकेको भए नतिजा फरक हुने उनीहरुको आँकलन छ। 

‘एमाले भनेर लामो समय बिताएकाहरुले टिकट पाएनन्, पार्टी सिस्टम नै नबुझेका नयाँलाई टिकट दिँदा भित्र पनि समस्या भयो,बाहिरी आक्रमण बलियो थियो, त्यसैले सोचेजस्तो नतिजा आएन तर एक्लै लड्दा पाएको जनमतले हामी कमजोर छैनौँ भन्ने प्रमाणित भएको छ’,एमाले बागलुङका एक नेताले विश्लेषण सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .