ad ad

राजनीति


झन्डै टिकट नपाएका शंकर सांसद बनेपछि रामचन्द्रलाई थपिएको चुनौती

झन्डै टिकट नपाएका शंकर सांसद बनेपछि रामचन्द्रलाई थपिएको चुनौती

फाइल तस्बिर : शंकर भण्डारी र रामचन्द्र पौडेल


वाशुदेव मिश्र
मंसिर ७, २०७९ बुधबार १०:३, पाेखरा

२०७७ मंसिर १६ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको व्यास नगरपालिका १०, बुल्दीखोलामा रहेको एउटा कल्भर्टजस्तो पुल उद्घाटन गर्न पुगे। तर, उनलाई तत्कालीन नेकपाको सरकारले रोक्यो। त्यो बेलाका प्रतिस्पर्धी नेकपाका कृष्णकुमार श्रेष्ठ ‘किसान’को निर्देशनमा जिल्ला प्रशासन कार्यालयले रामचन्द्रलाई निषेधाज्ञा जारीसहित रोकेको थियो। रामचन्द्र पक्राउ परे। पार्टी सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेसँगै पौडेल ३ घण्टाको हिरासतबाट छुटे।  

रामचन्द्र पक्राउ के परेका थिए, कांग्रेसीहरू एक भए। कांग्रेसले रामचन्द्र पक्राउको घटनासँगै सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा मात्रै गरेन, दमौलीमा नेकपा सरकारविरुद्ध ‘शक्ति प्रदर्शन’ गर्‍यो। युवा संघ र कांग्रेस समर्थकबीच झडपको स्थिति आएपछि निषेधाज्ञा नै जारी गरियो। तर, त्यसको भोलिपल्ट कांग्रेसीहरूले रामचन्द्रबाटै पुल उद्घाटन गराए। निषेधाज्ञा तोड्ने अभियानको नेतृत्वकर्ता थिए - कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, उनलाई अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले साथ दिएका थिए। शक्ति प्रदर्शन यस्तो थियो - त्यहाँ रामचन्द्र त थिए तर केन्द्रमा शंकर भण्डारी थिए। कांग्रेसका बाहुबली नेता स्वर्गीय खुमबहादुर खड्का समूहका भण्डारीको वरपर ‘युवा’हरूको जमात थियो। शंकर नै मैदानमा आउँदा प्रहरी-प्रशासनसमेत अलमलमा परेजस्तो देखिन्थ्यो। 

हो, भण्डारीको छवि बाहुबलीकै छ। २०३८ सालतिर नेपाल विद्यार्थी संघको राजनीति थालेका भण्डारी २०४९ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति तथा २०५४ सालमा तरुण दलको केन्द्रीय सदस्य बनेका थिए। तीनपटक कांग्रेसको केन्द्रीय सदस्य एवं २०७३ सालमा प्रचण्ड नेतृत्व सरकारमा वनमन्त्री बनेका शंकर भण्डारीलाई तनहुँ क्षेत्र नम्बर २ बाट टिकट पाउन भने कसरत गर्नुपर्‍यो।

सो क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल स्वयंले आँखा लगाएका थिए भने १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा क्याम्पबाट महामन्त्रीको चुनाव लडेका प्रदीप पौडेल पनि टिकटका दाबेदार थिए। उनी प्रदेशसभा चुनावमा ५ मतले पराजित प्रदीपलाई काठमाडौं र रामचन्द्रलाई क्षेत्र नम्बर १ थमाएपछि शंकरले टिकट पाए। २०७४ सालको प्रतिनिधिसभा चुनावमा ३ हजार २७९ मतले एमालेका केदार सिग्देलसँग हारेका भण्डारी र २०६४ सालतिर वनमन्त्री रहेका एमालेका किरण गुरुङ आमनेसामने भए। बाजी शंकरले मारे। पराजयसँगै एमालेको स्थायी समिति सदस्य भइसकेका किरणको राजनीतिक जीवन विश्रामतिर धकेलिएको छ। 

कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षपाती भण्डारी कार्यकर्तासँग सम्पर्कमा रहने नेताका रुपमा चिनिन्छन्। मुद्दा–मामिला वा प्रशासनसँग सम्बन्धित काम लिएर उनीकहाँ जानेलाई खाली हात नफर्काउने उनको बानी छ। यही कारण उनी कार्यकर्तामाझ लोकप्रिय छन्। सांसद बनेसँगै उनी मन्त्री बन्ने लाइनमा छन्। मन्त्री बनेपछि दायित्व थपिन्छ। जनतामाझ बोलेका कुराहरू पूरा गर्नुपर्छ। शंकर यो मामिलामा कति खरो उत्रन्छन् हेर्न बाँकी छ।

तर, उनी परीक्षणमा गएका छन्। उनको उदयले वरिष्ठ नेता रामचन्द्र पौडेल स्वयंलाई पनि चुनौती थपिएको छ। प्रदीप पौडेलको काठमाडौं प्रस्थान तथा रामचन्द्रको बढ्दो उमेरका कारण अब शंकरले आफूलाई तनहुँ कांग्रेसको मियो बनाउने सम्भावना भने बढेर गएको छ। कांग्रेस कार्यकर्तामा बढ्दो दक्षिणपन्थी झुकावले पनि उनलाई साथ दिने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .