राजनीति


सत्ता र प्रतिपक्ष दुबै गैह्रजिम्मेवारः बाबुराम भट्टराई

सत्ता र प्रतिपक्ष दुबै गैह्रजिम्मेवारः बाबुराम भट्टराई

नेपालखबर
असार ३, २०७६ मंगलबार ९:४४,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैह्रजिम्मेवार भएको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसँग प्रतिक्रिया दिँदै दुबै दलले जनताको जनमतको दुरुपयोग गरेको डा. भट्टराईले प्रतिक्रिया दिए।

प्रतिनिधिसभा जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो भएकाले प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनताको अभिमतको दुरुपयोग भएको भन्दै घटनाको भर्त्सना पनि गरे।

उनले भने, ‘गैह्र जिम्मेवार व्यवहार ठान्दछु म सत्तापक्ष प्रतिपक्ष दुवैको। प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग हो। र म चाही यसको तिब्र भर्त्सना गर्दछु।’

प्रतिपक्षीको आवाज कुण्ठित गर्न खोजियोः कर्ण

यस्तै, राष्ट्रिय जनता पार्टीका सांसद लक्षमणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताएका छन्।

उनले विपक्षी दलले समय मागेपछि उपलब्ध गराईनुपर्ने बताए। प्रमुख प्रतिपक्षी दलले ढ्याप ढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उनले गरे। संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्नु नहुने भन्दै उनले संसद सधै ‘प्रतिपक्षी दलको हो’ भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गरे।

उनले भने, ‘प्रतिपक्षीले ढ्याप ढ्याप गरेपछि किन ढ्याप ढ्याप गरे भनेर त्यो कुरा सभामुखले सुन्नुपथ्र्यो, नसुनेको कारणले गर्दा संसदको अवस्था यस्तो भयो। रोष्टम घेरियो। स्थगित पनि भो। प्रधानमन्त्रीले मात्रै बोल्ने संसदीय अभ्यास होइन। कुनै बेला दमन ढुंगानाले संसद प्रतिपक्षीको हो भन्ने पनि रुलिङ गरेका थिए। त्यसलाई पनि हामीले आफ्नो परम्परामा लिनुपर्छ। बोलिसकेपछि के हो त्यो जवाफ दिने सयम प्रधानमन्त्रीलाई छँदै थियो नि। प्रतिपक्षीको आवाजलाई कुण्ठित गर्नु हुँदैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .