राजनीति


सुरेश वाग्ले मेमोरियल अस्पतालको भवन निर्माणबारे अध्ययन गर्न संसदीय समिति गठन

सुरेश वाग्ले मेमोरियल अस्पतालको भवन निर्माणबारे अध्ययन गर्न संसदीय समिति गठन

नेपालखबर
भदौ ४, २०७६ बुधबार १०:२६,

सांसदहरुले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको निर्माण प्रक्रिया रद्द गरि नया प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखेका छन्।

पटक पटक म्याद थप गरेर पनि त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको भवन निर्माण कार्य सम्पन्न हुन नसकेपछि सांसदहरुले नयाँ प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका हुन्। संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले निर्माण प्रक्रियामा सम्बन्धीत निकाय जिम्मेवार बन्न नसकेको र राज्यकोषको ढुकुटी सकाउने काम मात्रै भएको भन्दै सम्पुर्ण प्रक्रिया खारेज गर्न सुझाएका हुन्।

समिति सदस्य जीवनराम श्रेष्ठले भवन निर्माण समयमा नसक्दा ठेकेदारको दोष देखिएपनि पटक पटक समय थप गर्ने, बजेट निकासा गर्ने सबै सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्ने बताए। उनले कुनै पनि निकायले निर्माण सम्पन्न हुन नसकेको सम्बन्धमा जिम्मेवारी लिन अग्रसर नभएकाले भवन बनाउने प्रक्रिया नै क्यान्सर भईसकेको टिप्पणी गरे।

उनले भने, ‘भवन बनाउने प्रक्रिया नै क्यान्सर भईसकेको छ। आफैमा क्यान्सर भईसकेको छ। त्यसैले यो सामान्य उपचारबाट, यहाँबाट निर्देशन दिएको भरमा यो काम हुन्छ भन्ने मलाई पटक्कै लागेको छैन। मिडियालाई खुराकी दिने हो भने ठिकै हो। होइन समाधान खोज्या हो भने पहिलो यो कुन खालको क्यान्सर, कुन चरणको क्यान्सर भन्ने पत्ता लगाउनुपर्यो।’

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका समिति सदस्य गगन थापा र खगराज अधिकारीले अस्पताल निर्माण प्रक्रिया नै खारेज गर्नुपर्ने धारणा राखे। अस्पताल सञ्चालनका लागि बजेट, जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्था गर्न नसक्ने हो भने भवन निर्माण भएपनि कान्ति अस्पतालको आईसिीयू सेवा बन्द भएजस्तै अवस्था उत्पन्न हुने भन्दै उनले सम्बन्धित निकायलाई कारबाही गर्न निर्देशन दिनुपर्ने धारणा राखे

समिति सदस्य थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला सुरेश वाग्ले स्मृति केन्द्र भवन निर्माणका लागि तेश्रो पटक म्याद थपको अनुमति दिईएको थियो। २०७० मा अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला सम्झौता अनुसार भवन निर्माण अन्तिम चरणमा पुग्नुपर्ने थियो। २०७१ मंसिर २७ गने निर्माण सम्पन्न गर्ने गरि २०६८ साल मंसिर २८ गते निर्माण सम्बन्धी सम्झौता भएको थियो।

समिति सदस्यहरु उमेश श्रेष्ठ र उमाकान्त चौधरीले पनि समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गरेर मात्रै समस्या समाधान नहुने भएकाले राज्यपक्षलाई जिम्मेवारी बनाउने ढंगले आवश्यक निर्देशन दिनुपर्ने धारणा राखे।

बैठकमा उपस्थित स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विगतमा नियम विपरित रकम निकासा भएकाले समस्या भएको स्वीकार गर्दे समितिको निर्देशनका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले म्याद थप, बजेट निकासा र भेरियसन लगायतमा कर्मचारीक संलग्नता भएको प्रमाणित भए आफु पदीय जिम्मेवारी लिने बताए।

छलफल पछि समितिले अस्पताल भवन निर्माणबारे अध्ययन गर्न ३ सदस्यीय समिति गठन गरेको छ। समितिलाई ५ दिन भित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ। नेपाल सरकारर स्वास्थ्य मन्त्रालयको बहुबर्षीय परियोजना अन्र्तगत ३ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि २०६८ मंसिर २८ गते सम्झौता भएको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवन निर्माणका लागि २ पटक भेरिएशन आदेश र तेश्रो पटक म्याद थप भईसकेको छ। पटक पटक थप भएको समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि अहिले भेरिएशन स्वीकृति र म्याद थपको प्रक्रिया नै अगाडि बढाईएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .