राजनीति


अस्पताल, भेन्टिलेटर र बिरामी कहाँकहाँ छन् ट्रयाक गरेर नेटवर्किङ गर्दैछाैं : बालानन्द शर्मा

अस्पताल, भेन्टिलेटर र बिरामी कहाँकहाँ छन् ट्रयाक गरेर नेटवर्किङ गर्दैछाैं : बालानन्द शर्मा

प्रशान्त लामिछाने
जेठ १३, २०७८ बिहिबार १३:४५,

बालानन्द शर्मा नेपाली सेनाका अवकासप्राप्त रथी हुन्। उनलाई सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

नेपाली सेनामा माओवादी लडाकु समायोजन गर्न बनाइएको सेना समायोजन विशेष समितिको सचिवालयमा संयोजक भएर काम गरेका उनी सैनिक सेवामा रहँदा संयुक्त राष्ट्रसंघ अन्तर्गतको मिसनमा फोर्स कमाण्डरसमेत भएर काम गरेका थिए।

‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार प्रधानमन्त्री नेतृत्वमा गठन गरिएको कोभिड–१९ निर्देशक समितिमा उनी सदस्य–सचिव रहेका छन्। देशव्यापी कोरोना नियन्त्रणको गहन जिम्मेवारी पाएका बालानन्द शर्मासँग प्रशान्त लामिछानेले गरेको कुराकानी:

सीसीएमसी पुनर्गठन भएपछि तपाई प्रमुख कार्यकारी अधिकृतको भूमिकामा आउनु भएको छ। अब कसरी काम गर्नुहुन्छ?
अहिले संकटको अवस्था छ। यो पुरानै संरचनाको निरन्तरता हो। यसलाई सामान्यरुपमा पुनर्संरचना मात्र गरिएको हो। साविकमा गर्दै आएका कोभिड-१९ सँग सम्बन्धित कामहरु नै यसले गर्छ।
पहिलो, कोभिड-१९ को प्रवेश रोक्नु पर्यो। दोस्रो, भित्रभित्रै फैलिएको संक्रमणलाई रोक्नु पर्यो। यी रोकथामका उपायहरु भए। अहिले संसारमा जतिपनि स्थापित प्रक्रियाहरु छन् ति हामीले पनि प्रयोग गर्छौं। मुख्यरुपले भन्दा महामारी रोकथाम गर्ने नै प्रमुख प्राथमिकता हो। जहिलेसम्म हामीले खोप लगाउँदैनौ तबसम्म हामीले रोकथामका उपायहरु पूर्णरुपले पालना गर्नुपर्छ। रोकथामको काम अलिकति फितलो भएका गुनासा छन्। फितलो कुन मानेमा भयो भने सीमानाबाट आउनेहरुलाई हामीले कडाई गर्यौं। त्यहाँबाट आगमनमा त नियन्त्रण भयो तर खुला सीमाना भएकाले आउनेहरुलाई नियन्त्रण गर्न सकेनौं। सीमामा कडाई गरेको नगर्‍यै भयो। नयाँ नयाँ भेरियन्ट्हरु आइरहेकोले त्यसलाई रोक्नु नै अहिलेको चुनौती हो। रोकथामका उपायहरुलाई निरन्तरता दिनैपर्छ। ठाउँ हेरेर नियन्त्रणका उपायहरु अबलम्बन गरिएको छ। नयाँ प्रकोप आउँदा त्यसलाई रोक्न प्रयास गर्छौं। अहिले संक्रमणको गति पीक (उत्कर्ष) मा पुगेर ओरालो लाग्न खोजेको हो की भनेजस्तो देखिन्छ। तथ्याङकलाई आधार बनाएर अघि बढ्ने हो।

कोरोना नियन्त्रणका लागि केही योजनाहरु बनाउनु भएको छ?
प्रमुखरुपमा अनुगमनलाई नै अगाडि बढाउँछौं। कोरोना संक्रमणबारे संवेदनशील नदेखिएका ठाउँमा सचेतना बढाउँछौं। सरकारले मात्र रोकेर महामारी रोकिँदैन। जनता आँफै पनि रोकिनु पर्छ। जस्तो अहिले काठमाडौंमा निषेधाज्ञा छ। निषेधाज्ञा लगाउने सरकारको रहर हैन। मानिसको मोविलिटी (आवतजावत) बढ्दा कोरोना पनि बढ्यो भनेर निषेधाज्ञा लगाएको हो। नागरिकलाई अप्ठ्यारो पार्न लगाएको होइन। यसबाट नकारात्मक असर नपरोस्, जनताले यसलाई सहयोग गरुन् भन्ने नै छ। यो अन्तरिम उपाय मात्रै हो। कोरोनाको चेन ब्रेक भइदियो भने यसको रोकथाममा सहयोग हुन्छ। त्यसअनुसार हामी योजनाको तयारी गर्दैछौं। हाम्रो प्रमुख ध्यान खोप ल्याएर आमरुपमा लगाउनेमै छ।

स्वास्थ्य क्षेत्रभन्दा बाहिरबाट आउनु भएको छ। कत्तिको चुनौती देख्नुहुन्छ?
महामारीमा काम गर्न चुनौती नै हुन्छ। प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति छ। प्रधानमन्त्रीले म र मेरो टिमलाई जुन किसिमबाट निर्देशन दिनु भएको छ त्योअनुसार ब्रिफीङ पनि भएको छ। यो कामको अगुवाई स्वास्थ्य मन्त्रालयले गर्छ। स्वास्थ्य मन्त्रालयले काम गर्दा उहाँहरुसँग धेरै विशेषज्ञ, चिकित्सकलगायत प्राविधिक टिम छ। उहाँहरुलाई हामीले काम गर्न सहज वातावरण बनाइदिने हो। उहाँहरुलाई स्वास्थ्य सामग्री हामीले आपूर्ति गरेर सहज बनाउने हो। बाहिरबाट ल्याउन पर्ने भए बाहिरबाट र यहाँ उत्पादन हुने भए यहाँबाट सामान उपलव्ध गराउने हो। उहाँहरुको आवश्यकताअनुसार स्वास्थ्य मन्त्रालयले हामीलाई अनुरोध गर्छ। त्यो अनुसार सम्वन्धित ठाउँमा पुर्याइदिएर लजिस्टिक (सामग्री)मा अलमलिन नपरोस् भनेर उहाँहरुलाई नै अगुवा बनाएर उहाँहरुलाई नै सहयोग गर्ने हो।

तपाई सैन्य पृष्ठभूमिबाट आउनु भएको छ। राजनीतिक नेतृत्वसँग काम गर्दा समन्वयमा अप्ठ्यारो पर्नेमा कत्तिको सचेत हुनुहुन्छ?
हामी सबै नेपाली हौं। महामारीको अवस्था छ। मृत्यु कसैका लागि प्रिय हुँदैन। आफ्नो पार्टीका मानिसको मृत्यु र अर्को पार्टीका मानिसको मृत्यु उत्तिकै पीडादायी हो। यी कुराहरु हामीले बुझेका छौं र अर्को निर्देशक समितिले पनि बुझेको छ। राजनीतिक तवरबाट स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाइदिनु भएको छ। पार्टीगत दवावमा काम गर्नुपर्ने अवस्था अहिलेसम्म सिर्जना भएको छैन। त्यस्तो नहोस् भनेर हामीले पनि अनुरोध गरेका छौं। एक नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ हरेक परिवारलाई। हामी त्यसरी नै अगाडि बढेका छौं। राजनीतिक हिसावमा दवाव नपर्ला भन्ने आशा लिएका छौं।

अहिलेको स्वास्थ्य संरचनामा सुधार गर्नेतर्फ पनि तपाईहरुले प्रयास गर्नुहुन्छ?
अहिलेसम्म मैले लिएको ब्रीफिङ र सीसीएमसीमा भएका जति पनि तथ्याङकहरु प्राप्त भएका छन् त्यसअनुसार अहिलेको संक्रमणदर, अहिलेको मृत्युदर, अहिले रहेका अस्पताल र अस्पतालमा भएका जति पनि स्वास्थ्य उपकरणहरु छन् त्यसबाट म्यानेज गर्नसक्ने अवस्थामा हामी छौं। केही अगाडि अस्पतालमा बेड लगायतका समस्या देखिए। हामीले थप समन्वय बढाएर डेटाबेसमा काम गर्छौं। कहाँ अस्पताल छन्, कहाँ भेन्टिलेटर छन् र कहाँ बिरामी आएका छन् त्यसको ट्रयाक गरेर एउटा नेटवर्किङ गर्दैछौं।

ग्रामीण क्षेत्रमा देखिएको महामारी नियन्त्रणमा सीसीएमसीले कसरी काम गर्छ?
जिल्लास्तरको स्थानीय अस्पतालमा जहाँ कोभिड-१९ को उपचारको व्यवस्था छ त्यहाँ ल्याउने हो। ग्रामीण क्षेत्रमा ट्रेसिङ गर्न पनि जनशक्ति त्यहीँबाट पठाउने हो। ट्रयाक नेटवर्किङमा आइसकेपछि कुन जिल्लाको कुन गाविसमा महामारी देखिएको छ, त्यहाँसम्म कुन अस्पतालबाट जाने, कुन सुरक्षा अंगले त्यहाँ सहयोग प्रदान गर्ने त्यो हिसाव गरेर ट्रेसिङ गर्दै संक्रमितहरुलाई उपचारको व्यवस्था मिलाउने व्यवस्था गर्छौं।

महामारी नियन्त्रणमा नेपाली सेनाको महत्वपूर्ण भूमिका छ। तपाई सीसीएमसीमा आइसकेपछि सेना परिचालनको काम अझ प्रभावकारी ढंगबाट हुन्छ भन्ने अनुमान पनि गरिएका छन्। के भन्नु हुन्छ?
म आएपछि बढी प्रभावकारी हुने भन्दा पनि सबै कुरा व्यवस्थित गर्ने मुख्य कुरा हो। जहाँ संक्रमण छ, जहाँ विरामी छन्, जहाँ आपत परेको छ त्यहाँ छिटो र सहज तरिकाले औषधि उपचारका सामग्रीहरु र स्वास्थ्यकर्मीहरु पठाउने व्यवस्था गर्ने हो। सेनाले लगिदिने व्यवस्था मात्र गर्ने हो। खास सेवा दिने भनेको स्वास्थ्यकर्मीले हो। उहाँहरुलाई नै हामी परिचालन गर्छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .