ad ad

राजनीति


कति प्रभावकारी होला ‘खोप कूटनीति’मा समदूरीको नीति?

कति प्रभावकारी होला ‘खोप कूटनीति’मा समदूरीको नीति?

मणि दाहाल
जेठ १२, २०७८ बुधबार १८:८,

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार टेलिफोन वार्ता भयो। वार्ताकै क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज कोभिड खोप दिने घोषणा गरे।

कोरोना महामारीको दोस्रो लहरको सामना गर्न आवश्यक मात्रामा खोपमा जोहो गर्न नसकेको नेपालका लागि चिनियाँ अनुदानले आशा जगाएको छ।

सो घोषणासँगै सामाजिक सञ्जालमा नेपालीहरुले सहयोगका लागि चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद व्यक्त गरेका छन् भने त्यसका लागि पहलकदमी लिएको भन्दै राष्ट्रपति भण्डारीलाई बधाई पनि भनेको देखिन्छ।

टेलिफोन वार्तामा राष्ट्रपति भण्डारीले नेपालीलाई आवश्यक पर्ने परिमाणमा खोप खरिदका लागि सहजिकरण गरिदिन चिनियाँ समकक्षीलाई आग्रह गरेकी थिइन्।

चिनियाँ राष्ट्रपतिसँग टेलिफोन सम्पर्क गर्नु एक दिनअघि मंगलबार मात्रै राष्ट्रपति भण्डारीले दक्षिणी छिमेकी भारतका राष्ट्रपति रामनाथ कोबिदलाई पनि पत्र लेख्दै कोभिड खोप उपलब्ध गराइदिन आग्रह गरेकी थिइन्।

कोरोना महामारी सामना गर्न तत्काल खोप व्यवस्था गर्नुपर्ने चापमा रहेको सरकारले केही सातायता विभिन्न मुलुकसँग खोप प्राप्तिका लागि विभिन्न तहमा संवाद बढाएको छ।

सबै कुटनीतिक तथा राजनीतिक मामिलामा दुई छिमेकीसँगको सम्बन्धमा समदूरीको सिद्धान्तलाई जोड दिँदै आएको नेपालले खोप कुटनीतिमा पनि सोही नीति नै अबलम्बन गरेको देखाउन चाहेको छ।

त्यसो त दुई छिमेकीमध्ये भारतसँग एकदिन पहिले गरेको संवादलाई पनि कुटनीतिक क्षेत्रका व्यक्तिहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

परराष्ट्र मामिला अध्ययन केन्द्रका उपनिर्देशक रुपक सापकोटाले चीनबाट खोप ल्याउने विषयमा कुशलतापूर्वक पहल गरेको भए नेपालले १५ दिनअघि नै प्राप्त गर्ने संभावना रहेको बताउँछन्।

‘नेपालले खोप जुटाउने कुरामा जुन प्रकारको तदारुकता देखाउनुपथ्र्यो त्यो हुन सकेको छैन। नेपाललाई आज खोपको जुन प्रतिबद्धता प्राप्त भएको छ, कुशलतापूर्वक पहल गरिएको भए त्यो १५–२० दिनअघि नै हामीले प्राप्त गर्न सक्ने अवस्था थियो,’ सापकोटाले नेपालखबरसँग भने, ‘नेपालको तर्फबाट चीनलाई औपचारिक रुपमा पत्राचार नगरिएको र पहल नभएको कुराहरु आएका छन्। पछिल्लो समय खोपका लागि बेलायत र अमेरिकालाई पत्राचार गरियो तर चीनतर्फ गम्भीर पहल गर्ने सम्बन्धमा भने अलिक उदासिनता रहँदै आयो।’

चीनले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १ सय वर्ष पुगेको अवसरमा बुधबार आयोजित अन्तरक्रियामा सबै राजनीतिक दलहरुसँग कोभिड महामारीबारे छलफल भएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग बुधबार दिउँसो अन्तरक्रिया पनि गरेका थिए।

‘चीनका राष्ट्रपतिसँग टेलिफोन संवादअघि भारतका राष्ट्रपतिलाई पनि पत्राचार भएको छ,’ सापकोटाले भने, ‘अन्तर्राष्ट्रिय वा परराष्ट्र मामिलामा भारत नचिढियोस र बेखुश नहोस भन्ने नीतिबाट बढी निर्देशित भएको देखिइरहेका बेला चीनले आज १० लाख डोज उपलब्ध गरायो र अन्य खोप पनि सहुलियत दरमा बिक्री गर्ने चीनको योजना देखिन्छ।’

राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टिका ढकालले नेपाल र चिनियाँ राष्ट्रपतिबीच भएको टेलिफोन वार्ता र अन्य कार्यक्रमबीच कुनै सम्बन्ध नरहेको बताए।

‘भारत र चीन दुवै हाम्रो छिमेकी देश हुन र दुवैले भ्याक्सिन उत्पादन गर्छन। त्यसैले यतिबेला दुवैसँग सम्पर्क संवाद गर्नु स्वभाविक विषय हो,’ ढकालले भने, ‘यो मानवीय कुरा हो। सबै कुरालाई भूराजनीतिक दृष्टिले हेर्न आवश्यक छैन।’

ढकालले चीनका राष्ट्रपतिसँग संवादका लागि नेपालको परराष्ट्र मन्त्रालयले नै केही दिनदेखि समन्वय गरिरहेको बताए।

तर सापकोटा भने केहि समययता अमेरिका र भारतबीच बढ्दो गठबन्धनका कारण दक्षिण एशिया खिचातानीको एउटा मुख्य क्षेत्र बनेको हुँदा चीनले नेपाल मात्रै नभएर दक्षिण एशियाका अन्य देशहरुसँग पनि सम्बन्ध अझै मजबुत बनाउँदै गएको बताउँछन्।

‘केहि समययता चीनले बंगलादेश, श्रीलंका र पाकिस्तानलाई कोभिड भ्याक्सिन र स्वास्थ्य सामग्रीमा सहयोग बढाइउँदै लगेको छ,’ सापकोटाले भने, ‘अहिलेको अवस्थामा दक्षिण एशियामा भूराजनीतिक खिचातानी बढ्दै गएको छ। त्यसैले चीनले दक्षिण एशियामा आफ्नो सम्बन्धलाई मजबुत बनाइराख्न महत्वपूर्ण हुने ठानेर सोहिअनुसार यस क्षेत्रलाई महत्व दिएको देखिन्छ।’

त्यसो त भारतीय विदेशमन्त्री एस जयशंकर अहिले भ्याक्सिन सहयोग प्राप्त गर्ने लगायतका विषयमा अमेरिकी अधिकारीहरुसँग छलफल गर्न अमेरिका पुगेका छन्।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्य भ्याक्सिनको विषयलाई भूराजनीतिक विषयसँग जोडेर हेर्न नहुने र आफूलाई चाहिने मात्रामा भ्याक्सिन जहाँबाट सम्भव हुन्छ ती सबैसँग किन्न पहल गर्नुपर्ने बताउँछन्।

‘अनुदान भनेको २–४ लाखलाई पुग्ने हो। तीन करोड जनसंख्यालाई पुग्ने गरी सरकारले व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसका लागि जसले दिन्छ त्यसबाट किन्नैपर्छ,’ आचार्यले भने, ‘त्यसका लागि भूराजनीतिक अवस्था वा अन्य कुरा भनेर हेरेर बसेर हुँदैन।’

भारतसँग पनि राष्ट्रपतिको तहमा कुरा हुनु आफैंमा ठीक भएपनि अझ प्रधानमन्त्रीको तहमै बढी जोड दिनुपर्ने उनको भनाइ छ।

‘नेपाल र भारत दुवैतर्फ कार्यकारी प्रमुख प्रधानमन्त्री नै भएको हुँदा यस्ता तत्काल नतिजा आउनुपर्ने र ताकेता गर्नुपर्ने विषय दुई प्रधानमन्त्रीबीच नै कुरा हुनुपर्छ,’ उनले भने।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता गर्ने पहल सुरु भएको छ।

‘छिट्टै कुराकानी हुने संभावना छ,’ एक उच्चअधिकारीले भने।

नेपालले हालसम्म ४१ लाख २८ हजार डोज खोप सुनिश्चित गरेको छ। आज १० लाख डोज दिने घोषणा गरेको चीनले यसअघि ८ लाख प्रदान गरिसकेको छ।

त्यसैगरी भारत सरकारले नेपाललाई अनुदानमा १० लाख डोज उपलब्ध गराएको थियो भने नेपालले भारतीय कम्पनी सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गरेकोमा १० लाख प्राप्त भयो भने १० लाख आउन बाँकी छ।
संयुक्त राष्ट्रसंघ लगायतका विभिन्न अन्तर्राष्ट्रिय निकायहरुद्वारा सञ्चालित कोभ्याक्सबाट ३ लाख २८ हजार डोज खोप नेपालले प्राप्त गरेको छ।

यसबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ८ करोड डोज खोप विभिन्न अल्पविकसित मुलुकलाई सहयोग गर्ने बताएका छन्। उनको सो घोषणापछि अमेरिकाबाट सो सहयोग प्राप्तिका लागि नेपालले सक्रिय पहलकदमी लिनुपर्ने आवाज उठेको छ। त्यसबारे अमेरिकाले नेपाललाई केकस्तो सहयोग गर्ने हो भन्ने अहिलेसम्म प्रष्ट भइसकेको छैन।

यसबीचमा नेपाल सरकारले बेलायत र युरोपेली मुलुकसँग पनि खोप प्राप्तिका लागि पहल गरेको छ। केहि दिनयता अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन केहि सक्रिय देखिएका पश्चिमी मुलुकहरुबाट खोप भने केकति मात्रामा प्राप्त हुन सक्ने हो स्पष्ट हुनसकेको छैन।

दोस्रो लहरको महामारीले भारतलाई नै नराम्रोसँग संकटमा पारेपछि भारत सरकार र त्यहाँको सर्वोच्च अदालतले पहिले भारतीय नागरिकलाई नलगाई खोप निर्यातमा प्रतिबन्ध लगाएको छ।

सुरुमा नेपाललाई खोप अनुदानमा र बिक्रि गरेर दिन निकै उदार देखिएको दक्षिणी छिमेकी भारतबाट नेपालले अहिले आवश्यकताअनुसार खोप प्राप्त गर्न सकेको छैन।

आफ्नै मुलुकमा देखिएको महामारी र अदालतको आदेश आदिका कारण उसले नेपालले भुक्तानी गरेको रकमको समेत खोप उपलब्ध गराएको छैन।

उत्तरी छिमेकी चीनले भने सुरुमा सानो स्तरको सहयोगबाट सुरुवात गरेको थियो। पहिलोपटक ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि ८ लाख पुर्‍याउने घोषणा गरेको थियो।

आफ्नो मुलुकमा कोरोना नियन्त्रण गरी विभिन्न मुलुकलाई सघाउँदै आएको चीनले बुधबार नेपाललाई थप १० लाख दिने घोषणा गरेको छ।

नेपालले भने कोरोना महामारीलाई पुरै नियन्त्रणमा लिइसकेको चीन र अझै पनि महामारीबाट आफैं आक्रान्त रहेर अरूसँग सहयोग मागिरहेको भारत दुवैसँग सहयोगको अपेक्षा गरेको छ। महामारीका बेला पनि कायम गर्न खोजिएको यो कूटनीतिक समदूरीको नीति कति प्रभावकारी हुने हो, हेर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .