राजनीति


रहस्यमयी नेतादेखि राष्ट्रिय सभामा हारसम्म : के बादलको राजनीतिक जीवनमा बादल लागेको हो?

रहस्यमयी नेतादेखि राष्ट्रिय सभामा हारसम्म : के बादलको राजनीतिक जीवनमा बादल लागेको हो?

प्रशान्त लामिछाने
जेठ ६, २०७८ बिहिबार १६:६,

रामबहादुर थापा बादल नेपाली राजनीतिमा कुनै समय रहस्यमयी नाम थियो। १० वर्षे माओवादी जनयुद्धको समयमा उनीबारे कयौँ 'मिथ'हरु बनेका थिए।

उनलाई त्यो समय सैन्यविद् भन्दै प्रचार पनि गरियो। तर उनी जनयुद्धको समय सैन्य मोर्चामा नभई राजनीतिक नेताको रुपमा कार्यरत थिए।

उनै बादल अहिले नेकपा एमालेमा छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको सचिवालयमा थिए उनी।

सर्वोच्च अदालतको फैसलाले नेकपा एकतालाई विभाजन गरेपछि उनलाई पुष्पकमल दाहाल प्रचण्डसँग माओवादीमा फर्किन मन भएन। त्योभन्दा एमालेकै नेताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनुमा उनले फाइदा देखे।

ओली सरकारमा गृहमन्त्री रहेका बादललाई पूर्वपार्टीमा नफर्केपछि माओवादीले कारबाही गर्‍यो। यो सँगै उनको राष्ट्रिय सभा सदस्य पद पनि गुम्यो।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि विपक्षीको नयाँ सरकार बन्न सकेन। त्यसपछि ठूलो दलको हैसियतमा पुन: ओली नै प्रधानमन्त्रीमा नियुक्त भए। बादलसहित पूर्वमाओवादीका ७ मन्त्रीलाई पनि उनले निरन्तरता दिए।

संसद् सदस्य नभएका थापालाई प्रधानमन्त्री ओलीले पुन: गृहमन्त्रीमा नियुक्ति गरे, राष्ट्रपतिले सपथ गराइन्।

राष्ट्रिय सभा बागमती प्रदेशको उपनिर्वाचनमा एमालेले उनैलाई टिकट दियो। तर बादलको दुर्भाग्य! उनका प्रतिस्पर्धी पनि एमालेनिकट डा. खिमलाल देवकोटा थिए।

देवकोटालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को समर्थन थियो।

बिहीबार उनलाई एकै पटक दुई चोट परेको छ। राष्ट्रिय सभा उपनिर्वाचनमा डा. देवकोटासँग उनी पराजित भएका छन् भने अर्कोतर्फ सर्वोच्च अदालतले गैरसांसद मन्त्रीलाई काम गर्न नदिनू भन्दै आदेश दिएको छ। यो आदेशसँगै माओवादी छाडेर एमालेमै बसेका ७ जनाको मन्त्री पद गुगेको छ।

माओवादी केन्द्रका नेता कार्यकर्ता देवकोटाको विजयमा भन्दा बादलको हारमा हर्षित भएको सामाजिक संजालमा देख्न सकिन्छ। निर्वाचनको मौन अवधी सुरु भएपछि प्रधानमन्त्री ओलीले बादलका नाममा भोट मागेका थिए। निर्वाचन आयोगले त्यसबारे सचेत पनि गराएको थियो।

बादललाई राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी गराउनु ओलीका लागि प्रतिष्ठाको विषय पनि थियो। त्यसैले त मौन अवधिमा पनि बादलका लागि उनले मत मागे।

जनयुद्धको समयमा बादल प्रचण्डका प्रमुख सहयोगीमध्ये एक नेता थिए। पहिलो संविधानसभा निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा बादल रक्षामन्त्री बने। तर कटवाल काण्डमा माओवादी सरकार ढल्यो। त्यसपछिका दिनमा प्रचण्ड र बादलबीच कटुता बढ्न थालेको देखिन्छ।

त्यसो त प्रचण्ड-बादलको सम्बन्ध चिसिएको यो पहिलो पटक थिएन। जनयुद्ध थालनीको लागि गोरखामा बसेको पहिलो बैठकमै नै दुई कमरेडबीच दरार पैदा भएको थियो। बादलले नेतृत्व केन्द्रीकरण गर्ने प्रचण्डको प्रस्तावको खुलेर विरोध गरेको माओवादी दस्तावेजहरुमा पाइन्छ।

२०५४ सालमा भारतको फरिदावादमा भएको बैठकले बादललाई सांस्कृतिक कारबाही मात्र गरेन 'लिनप्याओवादी' को आरोपसमेत लगायो।

शान्ति प्रक्रियाका दिनहरुमा बादल मोहन वैद्य किरणको राजनीतिक लाइनमा देखिन थाले। जुन प्रचण्डका लागि अनपेक्षित थियो। त्यसैगरी एमालेमा बादल बस्नु प्रचण्ड मात्र होइन पूर्वमाओवादीका लागि पनि आश्चर्यको विषय थियो।

बादलले जीवनमा एक पटक मात्रै प्रत्यक्ष चुनाव जितेका छन् भने चुनाव बहिष्कार गरेको अनुभव पनि उनले सँगालेका छन्। पहिलो संविधान सभामा चितवनबाट निर्वाचन जितेका उनी दोस्रो संविधान सभामा आइपुग्दा चुनाव बहिष्कारको नारा बोकेर हिँड्ने स्थानमा पुगिसकेका थिए।

त्यस समय वैद्य नेतृत्वको माओवादीको महासचिव रहेका उनी पछि फेरि प्रचण्ड नेतृत्वको माओवादीमा फर्किए। आफ्नै निर्वाचन क्षेत्र अभावमा उनलाई प्रतिनिधि सभा निर्वाचको उम्मेदवार नबनाएर राष्ट्रिय सभामा लगियो।

एमाले बनेका बादलको राजनीतिक भविष्य अब त्यति सहज देखिँदैन। यसै पनि उनीसँग माधव नेपाल समूह असन्तुष्ट छ। बादलसहितको बैठकबारे नै नेपाल समूहले आपत्ति जनाएको अवस्थामा उनलाई एमाले भित्र नेता स्वीकार्न कठिन हुने प्रष्ट छ। माओवादीभित्र नारायणकाजी श्रेष्ठप्रति माओवादी नेता कार्यकर्ताहरुले गर्ने व्यवहार पछिसम्म पनि फरक थियो। बादलले पनि त्यस्तै प्रकारको व्यवहार भोग्न पर्ने देखिन्छ।

एमालेमा पूर्वमाओवादी नेताहरु त छन् तर उनकै समूहका नेता छैनन्। प्रमुख पार्टीको महासचिव भइसकेका बादलको पार्टीभित्र राजनीतिक हैसियत के हुने स्पष्ट छैन। ओली पक्षमा रहेका उनलाई ओली पक्षकै नेताहरुले पनि मन पराउँदैनन्। त्यसैले उनको राजनीतिक जीवनमा बादल लागेको टिप्पणी पनि गर्न थालिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .