राजनीति


ओलीसँग सहमतिप्रति घनश्याम भुसाल असन्तुष्ट, भन्छन् : क्रान्ति जारी रहन्छ

ओलीसँग सहमतिप्रति घनश्याम भुसाल असन्तुष्ट, भन्छन् : क्रान्ति जारी रहन्छ

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १:२,

नेकपा एमालेका नेता घनश्याम भुसालले क्रान्ति जारी नै रहेको बताएका छन्।

आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बनिरहँदा पूर्वमन्त्रीसमेत रहेका भुसालले इतिहास उद्धृत गर्दै क्रान्ति सफल वा असफल नभई यो जारी हुने प्रक्रिया भएको प्रतिक्रिया दिएका हुन्।

माधव नेपाल पक्षका सामूहिक राजीनामा रोक्न सफल ओली विपक्षी दलले बहुमत जुटाउन नसकेपछि ठूलो पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री बन्न पाउने प्रावधानअनुरूप बिहीबार राति पुनः प्रधानमन्त्री पदमा नियुक्ति लिन सफल भएका हुन्। आज शपथ लिँदेछन्।

बिहीबार बिहानसम्म सामूहिक राजीनामा दिएर भए पनि संसदको कूल सदस्य संख्या घटाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने निष्कर्षमा पुगेको नेपाल पक्षलाई ओली अन्तिम समयमा फकाउन सफल भएका हुन्।

बिहीबार ओलीसँगको वार्तापछि माधवकुमार नेपालले संवाद सकारात्मक दिशामा अघि बढेको भन्दै अब दुई चार दिनलाई राजीनामा रोकिएको प्रतिक्रिया दिएका छन्।

तर यो निर्णयप्रति नेपाल पक्षकै कतिपय नेता असन्तुष्ट देखिएका छन्।

यसै क्रममा नेपाल पक्षका एक जना जल्दाबल्दा नेता भुसालको प्रतिक्रियाले पनि त्यस्तै संकेत गरेको छ।

‘क्रान्तिको इतिहासको एउटा निष्कर्ष छ– क्रान्ति न सफल हुन्छ न असफल हुन्छ,’ बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यो त जारी रहन्छ।’

यस्तै नेत्री रामकुमारी झाँक्री पनि अध्यक्ष ओलीसँगको सहमतिप्रति सन्तुष्ट देखिएकी छैनन्।

‘ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदैछ,’ उनी भन्छिन्, ‘जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि हाम्रा अगाडि एक मात्र विकल्प हो, विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौं।’

नेपाल पक्षकै अर्का जल्दबल्दा नेता योगेश भट्टराई भने ओलीसँगको सहमतिप्रति निकै खुसी देखिएका छन्।

यो पनि : योगेश भट्टराईको आह्वान : एकता कमजोर पार्ने टिप्पणी नगरौं

यो पनि : यी हुन् ओली-नेपालबीच भएका सहमति र मिल्न बाँकी मुद्दा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .