राजनीति


नेपाल पक्षका सांसदले राजीनामा दिने, देउवालाई गण्डकी दोहोरिने डर

नेपाल पक्षका सांसदले राजीनामा दिने, देउवालाई गण्डकी दोहोरिने डर

सागर न्यौपाने
बैशाख २९, २०७८ बुधबार १५:४९,

नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन्।

राजीनामा तयार पारिसकिएको र बिहीबार बिहान सोको जानकारी संसद् सचिवालयलाई दिइने एक नेताले बताए। ती सांसदले २८ जनाले राजीनामा पत्रमा हस्ताक्षर गरेको पनि बताए।

तर, उनका अनुसार कांग्रेस नेतृत्वमा गठनबन्धन सरकार बन्न आवश्यक सांसदले मात्र राजीनामा बुझाउने तयारी छ।

‘२८ जनाको राजीनामा दिनेगरी हामीले तयारी गरेका छौँ, भोलि समयमै राजीनामा दिन्छौँ,’ ती नेताले भने, ‘कांग्रेसको नेतृत्वमा बहुमत पु¥याउन आवश्यक संख्याले मात्र पनि राजीनामा दिनसक्छौँ।’

‘हामीले फर्स्ट आवरमै राजीनामा दिएको जानकारी संसदमा गराउनेछौँ,’ ती सांसदले भने।

सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका केही नेताहरुले भने अझै पनि अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको प्रयास गर्नुपर्ने धारणा राखिरहेका छन्।

उनीहरुले सांसद पदबाट राजीनामा दिने हदसम्मको कदम चाल्न नहुने अडान कायम राखेका छन्। जसका कारण सो समूहमा अझै केही दुविधा भने बाँकी छ। सोही कारण उनीहरुबीच बुधबार दिनभर छलफल भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार संसदमा भएको मतदानमा विश्वास लिन नसकेपछि पदमुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न वैशाख २७ गते तीन दिनको समय दिएर आह्वान गरेकी छन्। जसअनुसार बिहीबार सो दाबी पेस गर्नुपर्ने हुन्छ।

सोही अनुसार कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थन लिएर बहुमतको सरकार बनाउने तयारी गरिरहेको छ।

संसदमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ र जसपाको ३२ सिट छ।

तर, जसपाभित्र १५ सांसद सहितको समूहको नेतृत्व गरेका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने नयाँ सरकार बन्न नदिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ धाइरहेका छन्।

जसपा विभाजित रहेकाले देउवा नेतृत्वको नयाँ सरकार गठनमा एमालेका नेपाल पक्षका सांसदहरु निर्णायक छन्।

राष्ट्रपति भण्डारीले बहुमतको दाबी पेस गर्न दिएको समयसीमा सकिनुअगाडि नेपाल पक्षका सांसदहरुले राजीनामा दिएर देउवालाई बहुमत पु¥याउने वातावरण बनाउन लागेको नेपाल पक्षका नेताहरुको भनाइ छ।

‘प्रधानमन्त्री चयनबारे लिने कदमबारे प्रतिनिधि सभामा सदस्य रहेका पार्टीका स्थायी कमिटी सदस्यहरुलाई नै निर्णय गर्ने जिम्मेवारी दिइएको छ,’ नेपाल पक्षका नेता बेदुराम भुसालले नेपालखबरसँग भने।

नेपाल पक्षका २८ सांसदले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मत समेत बहिस्कार गरेका थिए। बुधबार नेता भीम रावलले पनि स्पष्ट रुपमा राजीनामा दिने बताएका थिए।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ,’ रावलले लेखेका छन्, ‘थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

बुधबार नै अर्का नेता घनश्याम भुसालले पनि राजीनामा गर्ने संकेत गरेका छन्।

राजीनामा लगत्तै उनीहरु पदमुक्त भएको जानकारी संसद् सचिवालयले दिनुपर्ने हुन्छ। संसदको अधिवेशन चालू नभएकोले पदमुक्त भएको सूचना टाँस गरेर जानकारी दिनुपर्ने प्रक्रिया छ।

हाल प्रतिनिधि सभामा २ सय ७१ सांसद छन्।

त्यसमा नेपाली कांग्रेसका २ र जसपाका २ सांसद निलम्बनमा परेकाले मत जाहेर गर्न पाउँदैनन्। नेपाल पक्षका २८ जनाले राजीनामा दिए संसदको कुल संख्या घटेर २ सय ४३ कायम रहन्छ। त्यसको बहुमत भनेको १ सय २१ हुन्छ।

राजीनामाको अवस्थामा कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र–बाबुराम पक्षका सांसदहरुले बहुमत पुग्छ र देउवाले सरकार बनाउन सक्नेछन्।

समानुपातिक सांसदको रिक्त पदमा भने ओलीले नियुक्त गर्न पाउँछन्।

कांग्रेसको तयारी
कांग्रेसले सभापति देउवालाई नै प्रधानमन्त्री प्रस्ताव गरेर बहुमतको दाबी पेस गर्ने निर्णय नै गरिसकेको छ।

तर, गण्डकी प्रकरण दोहोरिने भय कांग्रेसमा अझै बाँकी छ।

गण्डकी प्रदेशमा बुधबार बहुमत सांसदको दाबी पेस गर्न गएको नेपाली कांग्रेसको दाबी नपुगेको भन्दै मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई ठूलो दलको रुपमा मुख्यमन्त्री बनाइएको छ।

प्रदेश प्रमुखले गरेकै व्यवहार राष्ट्रपति भण्डारीले पनि दोहो¥याउने हुन् कि भन्ने चिन्ता कांग्रेसलाई छ।

जसपाको महन्थ–राजेन्द्र पक्षले राष्ट्रपतिलाई अर्का अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षलाई मान्यता नदिन आग्रह गरेका छन्। यदि महन्थ पक्षले भनेअनुसार राष्ट्रपतिले कदम चाले बहुमत कसरी देखाउने भन्ने विषयमा कांग्रेसले कानुनविदसँग समेत छलफल गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .