जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महत्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणमा संलग्न नहुने बताइ रहँदा सोही पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले भने देशलाई अनिर्णयको बन्दी बनाउनु नहुने बताएका छन्।
एकताबद्ध ढंगले देशलाई राजनीतिक निकास दिनबाट जसपा चुक्नु नहुने भन्दै डा.भट्टराईले कांग्रेस माओवादी गठबन्धनसँग मिलेर नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
‘लोकतान्त्रिक पार्टीमा फरक मत हुनु स्वाभाविक हो। तर हाम्रो आन्तरिक विवादले देशलाई अनिर्णयको बन्दी बनाउनुहुन्न,’ डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकताबद्ध भएर धारा ७६ (२) को सरकार बनाउन योगदान गरौं! सौताका रिसले पोइको नाक काटे झैं नगरौं!’
जसपाका अध्यक्ष महन्थ ठाकुरले भने आफ्नो पार्टी अर्को सरकार निर्माणमा संलग्न नहुने स्पष्ट पारेका छन्। ठाकुरले सोमबार मध्यराति विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी अर्को सरकार गठनमा संलग्न नहुने स्पष्ट पारेका थिए।
प्रधानमन्त्री ओलीको विकल्पमा अर्को सरकार गठन गर्ने विषयमा जसपा विभाजित छ। सोमबार संसदमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए।
यो पनि मध्यराति महन्थ ठाकुरको विज्ञप्ति : ओली नै ठीक छन्, हामी अर्को सरकार बनाउने पक्षमा छैनौं
प्रतिक्रिया