ad ad

राजनीति


बलमिच्याईं गरेर प्रजातान्त्रिक मूल्य, मान्यताताको खिल्ली उडाइयो : केसी

बलमिच्याईं गरेर प्रजातान्त्रिक मूल्य, मान्यताताको खिल्ली उडाइयो : केसी

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १६:५,

राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशमा बलमिच्याईं गरेर मुख्यमन्त्रीको सपथ गराइएको भन्दै आपत्ति जनाएको छ।

सोमबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले लुम्बिनी घटनाले संवैधानिक व्यवस्था, बहुदलीय प्रजातान्त्रिक मूल्य, मान्यता र राजनीतिक नैतिकताको खिल्ली उडाएको बताएका छन्।

ओली नेतृत्वको केन्द्रीय सरकार र प्रदेश सरकारका यसप्रकारका हर्कतले देशको विद्यमान संविधान, गणतन्त्र र संसदीय मूल्य मान्यता र विधि प्रक्रियाको उल्लंघन भएको छ भन्दै अध्यक्ष केसीले यस्ता गतिविधिले प्रतिगमनलाई थप मद्दत पुग्ने बताएका छन्।

यस्तो छ केसीको वक्तव्य
लुम्बिनी प्रदेशमा बैशाख १९ गते त्यहाँका मुख्यमन्त्रीको राजीनामा, पुनः उनलाई मुख्यमन्त्रीमा नियुक्ति तथा सपथ ग्रहण गराइएको घटनाको बारेमा राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरुले अविश्वासको प्रस्ताव राखेका थिए। वैशाख १९ गते प्रदेश सभामा उक्त प्रस्तावमाथि छलफल गरी निर्णयार्थ पेश गर्ने कार्यक्रम थियो। लुम्बिनी प्रदेश सभामा कूल ८१ जना सांसद छन्। ४२ जना विपक्षी सांसदहरुको हस्ताक्षरसहित प्रस्तावित मुख्यमन्त्रीलाई नियुक्ति गर्न निवेदन दर्ता भएको थियो।

तत्कालिन मुख्यमन्त्री पोखरेलले षड्यन्त्रपूर्ण तरिकाले अविश्वासको प्रस्तावलाई वाइपास गर्न प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीबाट राजीनामा दिए साथै आफूसँग बहुमत रहेकाले पुनः आफूलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्न माग गरे। विपक्षी सांसदहरुले उनीसँग बहुमत नरहेकाले उनलाई मुख्यमन्त्री पदमा नियुक्ति नगर्न र सपथ ग्रहण नगराउन प्रदेश प्रमुखलाई आग्रह गर्दै संघर्ष गरे।

उक्त आग्रह र संघर्षको बीचमै प्रदेश प्रमुखले पोखरेललाई नै मुख्यमन्त्रीमा नियुक्ति गरे र पोखरेलको निवासमै गएर सपथ ग्रहण गराए। यसप्रकारको कार्यले संवैधानिक व्यवस्था, बहुदलिय प्रजातान्त्रिक मूल्य, मान्यता र राजनीतिक नैतिकताको खिल्ली उडाएको छ। ओली नेतृत्वको केन्द्रीय सरकार र प्रदेश सरकारका यसप्रकारका हर्कतले देशको विद्यमान संविधान, गणतन्त्र र संसदीय मूल्य मान्यता र विधि प्रक्रियाको उल्लंघन भएको छ।

यस्ता गतिविधिले प्रतिगमनलाई थप मद्दत पुग्ने छ। राष्ट्रिय जनमोर्चाले यस्ता असंवैधानिक, अप्रजातान्त्रिक, विधि प्रक्रियाको उल्लंघन गर्ने र षड्यन्त्रपूर्ण राजनीतिक चालबाजीको घोर विरोध र भत्र्सना गर्दछ साथै प्रतिगामी गतिविधिप्रति सचेत रहन र तिनका विरुद्ध संघर्ष गर्न राजनीतिक दलहर्रु तथा जनतासँग हार्दिक अपील गर्दछ।

चित्रबहादुर केसी
अध्यक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .