राजनीति


योगेश भट्टराईलाई अप्ठेरो पार्न ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

योगेश भट्टराईलाई अप्ठेरो पार्न ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

मणि दाहाल
बैशाख १, २०७८ बुधबार १२:४५,

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माधवकुमार नेपाल समूहका नेताहरुलाई कारबाही गरेका ओलीले उनीहरुमाथि निर्वाचन क्षेत्रमा पनि अप्ठेरो पार्ने प्रयास गरिरहेका छन्।

यही क्रममा ओली पक्षले ताप्लेजुङका स्थानीय प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा तान्न थालेको छ। नेपाल पक्षका नेता योगेश भट्टराईलाई दबाबमा पार्न ओली पक्षले सो कदम चालेको स्थानीय नेताहरु बताउँछन्।

लामो समय जिल्लाको नेतृत्व गरेका पूर्वसांसद तिलकुमार मेन्याङ्बो हालै ओली पक्षमा लागेका छन्। नवौँ महाधिवेशनमा उनी माधवकुमार नेपाल समूहबाट केन्द्रीय सदस्यमा उठेका थिए।

त्यसैगरी, माओवादीको प्रदेश नम्बर एकका संसदीय दलका नेता टंक आङ्बुहाङ र केन्द्रीय सदस्य पासाङ शेर्पा पनि एमालेमा प्रवेश गरी ओली समूहमा लागेका छन्। प्रदेश सभा सदस्य भूपेन्द्र थेबे पहिलेदेखि नै ओली पक्षमा थिए।

काठमाडौँमा दुई पटक पराजित भएपछि भट्टराईले ताप्लेजुङबाट चुनाव लडेका हुन्। ओली पक्षमा लागेका मेन्याङ्बो २०५६ को आमनिर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। गत आम चुनावमा पनि उनले टिकट पाउने अपेक्षा गरेका थिए।

‘ताप्लेजुङमा मात्रै नभएर आफ्नो विपक्षमा रहेका नेताहरुविरुद्ध स्थानीय प्रभावशाली नेताहरुलाई तानेर विरोध गर्नेमाथि दबाब सिर्जना गर्न खोजेको देखिन्छ। योगेशजीमाथि पनि त्यस्तै दबाब पैदा गर्न खोजेको हुनसक्छ,’ ताप्लेजुङका नेता तथा अनेरास्ववियुका पूर्वउपाध्यक्ष शिव गुरुङले भने, ‘यो लिम्बुबाहुल क्षेत्र हो। केही नेतालाई तान्दैमा परिस्थिति उल्टिन्छ भन्ने सोचेको होला। तर, त्यस्तो अवस्था छैन।’

पछिल्लो समय जिल्ला पार्टी हाँक्न सक्ने थुप्रै नेता जन्मिसकेको बताए। ताप्लेजुङमा ४२ प्रतिशत जनसंख्या लिम्बुहरुको छ।

जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका शेर्पा भने पहिलो संविधानसभामा एमालेबाट सभासद् थिए। पछि माओवादी केन्द्रमा प्रवेश गरेका उनी एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाको केन्द्रीय सदस्य थिए।

गुरुङका अनुसार पछिल्लो जिल्ला अधिवेशनबाट निर्वाचित सिंगो जिल्ला कमिटी भने झलनाथ खनाल र माधवकुमार नेपाल पक्षसँगै छ। ओली २०७५ जेठ २ गतेअघिको पार्टी संरचना बनाउन तयार नभएपछि खनाल–नेपाल पक्षले विभिन्न जिल्लामा पुरानै जिल्ला कमिटी पुनर्गठन गरेका छन्।

खनाल–नेपाल पक्षले ताप्लेजुङमा बलबहादुर साम्सोहाङ अध्यक्ष रहेको जिल्ला कमिटीलाई सक्रिय बनाएको छ।

ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीका आलोचना मानिन्छन् भट्टराई। उनले मालेकालमा कालापानी मार्चसहितको विभिन्न अभियानको नेतृत्वमा गरेका थिए।

यसअघि नवौँ महाधिवेशनमा घनश्याम भुसाल र योगेश भट्टराईले छुट्टै समूह बनाएपदाधिकारीसहित पार्टीमा बलियो उपस्थिति जनाएका थिए। एक पटक मात्रै केन्द्रीय सदस्य भएका भट्टराई २०७१ सालमा भएको नवौँ महाधिवेशनबाट एकै पटक सचिवमा निर्वाचित भएका हुन्।

दुई पटक संविधानसभाको चुनाव हारेर धक्का खाएका भट्टराई २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा आफ्नै गृह जिल्लाबाट प्रत्यक्ष निर्वाचन जितेर मन्त्री बनेका थिए।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि भट्टराईसहित सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।

दुई साताअघि प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा टंक आङबुहाङ, पासाङ शेर्पापछि तिलकुमार मेन्याङबोको साथ पाएपछि आफूहरु बलियो बन्ने दाबी गरेका थिए।

‘पासाङ शेर्पा, टङ्क आङ्बुहाङसँगै कमरेड तिलकुमार मेन्याङ्बोको साथ, नेकपा (एमाले) को नीति र नेतृत्व मातहत, बदलियो– ताप्लेजुङको जनमतको जग, बुझ्न चाहनेलाई संकेत नै पर्याप्त छ,’ थापाले भट्टराईलाई लक्षित गर्दै लेखेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .