राजनीति


अमेरिकाले भारतलाई भन्यो– रुससँग प्रतिरक्षा प्रणाली खरिद गरे प्रतिबन्ध लाग्नसक्छ

अमेरिकाले भारतलाई भन्यो– रुससँग प्रतिरक्षा प्रणाली खरिद गरे प्रतिबन्ध लाग्नसक्छ

नेपालखबर
चैत ८, २०७७ आइतबार ७:१८,

अमेरिकाले भारतलाई रुससँग हवाई प्रतिरक्षा प्रणाली खरिद नगर्न आग्रह गरेको छ।

भारत भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भारतीय समकक्षी राजनाथ सिंहसँग शनिबार भएको भेटमा सो धारणा राखेका हुन्।

भारतले आफ्नो पुरानो रणनीतिक साझेदार रुससँग एस४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने तयारी गरिरहेका बेला अमेरिकी रक्षामन्त्रीले त्यसविरुद्ध दबाब दिएका हुन्।

उनले रक्षामन्त्री सिंहसँगको भेटवार्तामा अमेरिकी गठबन्धनका देशहरुले प्रतिबन्धबाट बच्ने हो भने रुसी उपकरणहरु खरिद गर्न नहुने बताएका छन्।

‘हामी पक्कै पनि हाम्रो गठबन्धनका सबै सदस्यहरु, हाम्रा साझेदारहरुलाई रुसी उपकरण खरिदबाट पन्छिन आग्रह गर्छौं... साँच्चिकै हामी त्यस्ता खरिद नगर्न भन्छौं जसका कारण हाम्रोतर्फबाट प्रतिबन्ध आकर्षित गर्छ,’ अस्टिनले नयाँ दिल्लीमा संवाददाताहरुसँग भने।

Rajnath Justin 77Chait 1

रुसले भारतलाई एस४०० उपकरण प्रदान गरिनसकेको हुँदा अहिले नै प्रतिबन्धबारे छलफल नभएको उनले बताए।

एस४०० प्रणाली खरिद गरेकै कारण अमेरिकाले गतवर्ष टर्कीमाथि प्रतिबन्ध लगाएको थियो।

रुसबाट प्रतिरक्षा सामग्री खरिद गर्नका लागि सन् २०१९ मै भारतले प्रारम्भिक भुक्तानीको रुपमा ८० करोड डलर बुझाइसकेको छ। मिसाइल ब्याट्रिको पहिलो सेट यसैवर्ष आइपुग्ने बताइएको छ।

अस्टिन भारत भ्रमणमा आउनुअघि नै अमेरिकी सिनेटको विदेश मामिलासम्बन्धी समितिका अध्यक्ष बब मेनेन्डेजले भारतमा लोकतन्त्र र मानवअधिकारको विषय पनि उठान गर्न आग्रह गरेका थिए। उनले रुससँग प्रतिरक्षा प्रणाली खरिद गर्ने भारतको तयारीबारे अमेरिकी सरकारका तर्फबाट कडा विरोध जनाउनुपर्ने मेनेन्डेजको सुझाव थियो।

अमेरिकामा जो वाइडेन राष्ट्रपति भएपछि यस क्षेत्रमा चीनको प्रभाव निस्तेज पार्ने योजनासहित विदेशमन्त्री जस्टिन भारत लगायत देशको भ्रमणमा आएका हुन्।

यस भ्रमणमा उनले अमेरिका, भारत, अष्ट्रेलिया र जापानको गठबन्धनलाई थप सशक्त बनाउँदै चीनको आक्रामकतालाई निस्तेज पार्ने योजनासहित यी मुलुकका नेताहरुसँगको भेट तिब्र पारेका छन्।

सोहि उद्देश्यअनुरुप क्वाड गठबन्धन भनिने अमेरिका, इन्डिया, अष्ट्रेलिया र जापानका नेताहरुको शिखर बैठक गतसाता भएको थियो। सो बैठकमा उनीहरुले स्वतन्त्र र खुला इन्डो–प्यासिफिक सहकार्यलाई अझ बढाउने र चीनद्वारा सिर्जित समुन्द्री तथा साइबर सुरक्षा चुनौती सामना गर्न आपसी सहयोग वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Rajnath Justin 77Chait 2

‘अहिले तिब्ररुपमा बदलिँदो अन्तर्राष्ट्रिय मामिलाका सन्दर्भमा मुख्यतः भारत झनै महत्वपूर्ण साझेदार बनेको छ,’ भारतीय रक्षामन्त्री सिंहसँग प्रतिरक्षा मामिलाबारे भएकाे भेटवार्तापछि अस्टिनले भने, ‘अमेरिका–भारत प्रमुख प्रतिरक्षा साझेदारीलाई थप बलियो बनाउनेबारे हामीले छलफल गरेका छौं...र, हामीले क्षेत्रीय सुरक्षा सहकार्य र दुई सेनाबीचको अन्तरक्रिया र प्रतिरक्षा व्यापारमार्फत् त्यसलाई बढाउनेछौं।’

अहिले भारतलाई सबैभन्दा बढि हतियार बिक्रि गर्ने बिक्रेताका रुपमा अमेरिका उदाएको छ। भारतले अमेरिकाबाट थप सशस्त्र ड्रोनहरु खरिद गर्नेबारे पनि दुई पक्षबीच छलफल जारी छ। त्यसैगरी भारतको एयर फोर्सका लागि १ सय ५० वटा लडाकु जेट खरिद गर्ने ठूलो खरिद योजना र चीनसँग समुन्द्री युद्धमा भारतको क्षमतालाई बढाउनेबारे पनि भारत र अमेरिकाबीच छलफल जारी छ।

अर्बौं डलरको जेट खरिद मामिलामा पनि अमेरिकाकै बोइङ र लकहिड मार्टिन नै सबैभन्दा अग्रपंक्तिमा रहेका कम्पनीहरु हुन्।

नयाँ दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गरेका अस्टिन आइतबार भारतबाट फर्किंदैछन्।

गतवर्ष चीनसँग सीमामा भिडन्त भएपछि भारत अमेरिकासँग थप नजिकिएको हो। त्यसपछि अमेरिकाले भारतीय सेनालाई सर्भिलेन्स ड्रोन्स र जाडोमा चाहिने उपकरणजस्ता महत्वपूर्ण सामग्री उपलब्ध गराउँदै आएको छ। –रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .