ad ad

राजनीति


क्वाडको बैठकमा चीनको आक्रमकता र जबर्जस्तीबारे छलफल, चीनले दियो प्रतिक्रिया

क्वाडको बैठकमा चीनको आक्रमकता र जबर्जस्तीबारे छलफल, चीनले दियो प्रतिक्रिया

नेपालखबर
फागुन २९, २०७७ शनिबार ६:१६,

शुक्रबार सम्पन्न चार देशका प्रमुखबीचको वैठकपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भनेका छन्,‘वैठकमा चीनले अस्ट्रेलियामाथि गरेको जबर्जस्ती, जापानको सेनकाकु टापुमा चीनको रबैया तथा भारतसँगको सीमामा उसको आक्रमकताबारे छलफल भयो।’

शुक्रबारको भिडिओ वैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा जापानी प्रधानमन्त्री योसिहिदे सुगा उपस्थित थिए।

उनीहरुले चीनले प्रस्तुत गरेको चुनौतीको बारेमा छलफल गर्नुका साथै कोरोनाविरुद्ध एक भएर लड्ने साथै प्रविधि तथा व्यापारको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सहमति गरे।

चीनले क्वाडलाई आफूविरुद्धको मोर्चाको रुपमा व्याख्या गर्दै आएको छ।

क्वाड देशले शुक्रबारको वैठकपछि चीनलाई इंगित गर्दै संयुक्त बयानमा भनेको छ,‘हामी एउटा यस्तो क्षेत्र बनाउने प्रयास गरिरहेका छौं जुन स्वतन्त्र, खुला, समावेशी, स्वस्थ, लोकतान्त्रिक मूल्यसँग जोडिएको होस् जो बल र जबर्जस्तीले प्रभावित हुनेछैन।’

क्वाडका सदस्य राष्ट्रहरुले खुला इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै दक्षिण चीन सागरमा चीनको दाबीलाई अवैधानिक भएको बताउँदै आएका छन्।

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगालका अनुसार चार राष्ट्रबीच हिन्द–प्रशान्त क्षेत्रमा कोरोना भ्याक्सिन उत्पादन र वितरणमा सहयोग पुर्याउने सहमति पनि भएको छ। चार देशले आगामी वर्षभित्र एक अर्ब डोज कोरोना खोप उत्पादन गर्ने सहमति गरेका छन्।

यी राष्ट्रहरुले म्यान्मारमा लोकतन्त्र पुनर्स्थापना गराउने, उत्तर कोरियालाई क्षेप्यास्त्र निशस्त्रीकरण पूर्ण रुपमा गराउने, विश्वमा फाइभ–जी प्रविधिको लागि काम गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।

क्वाड समूहको वैठकमा चीनको चुनौतीको विषयमा छलफल भएसँगै चीनले प्रतिक्रिया जनाएको छ।

चीनले भनेको छ,‘देशहरूबीच आदानप्रदान र आपसी सहकार्य आपसी समझदारी र विश्वास सुधार गर्न को लागी हुनुपर्दछ, तेस्रो पक्ष र त्यसको चासोमा चोट पुर्‍याउनका लागि होइन।’

‘हामी अमेरिकाले चीनसँगको सम्बन्धलाई उद्देश्यपूर्ण र तर्कसंगत रुपमा हेरोस् भन्ने चाहन्छौं। उसले शीतयुद्धको अवस्थालाई पन्छाएर चीनको सार्वभौमिकता, सुरक्षा र विकाससँग सम्बन्धित चासोहरूको सम्मान गर्न सिक्नुपर्छ। साथसाथै उसले चीनको आन्तरिक मामिलामा हस्तक्षेप रोक्नुपर्छ।’

अमेरिकाले हङकङको स्वतन्त्रता, सिनजियाङको मानवअधिकार, ताइवान, दक्षिण चीन सागरजस्ता चीनको आन्तरिक विषयमा चासो राख्दछ। यी विषयहरुमा हस्तक्षेप नगर्न चीनले चेतावनी दिँदै आएको छ। एससीएमपी र बीबीसीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .