राजनीति


वार्तामा ओली र विप्लवका आआफ्नै दाउपेच

वार्तामा ओली र विप्लवका आआफ्नै दाउपेच

सागर न्यौपाने
फागुन १८, २०७७ मंगलबार १४:३०,

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच वार्ता प्रक्रिया सुरु भएको छ।

सरकारले मंगलबार घोषणा गरेको वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन्।

विप्लव समूहको तर्फबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र पूर्वजनमुक्ति सेनाका डिभिजन कमान्डर उदय चलाउने (दीपक) वार्ता टोलीमा छन्।

एकीकृत जनक्रान्तिको अवधारणा अघि सारेको विप्लव पार्टीका कार्यकर्ताले दुई वर्षअघि ललितपुरको नख्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट गराएको थियो। त्यसलगत्तै देशका विभिन्न स्थानमा भौतिक संरचनामा आक्रमण गरेपछि ओली सरकारले २०७५ फागुन २८ गते सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। त्यससँगै विप्लव समूहका नेताहरु भूमिगत भएका थिए।

सो पार्टीलाई प्रतिबन्ध नलगाउन त्यसबेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। तर, ओलीले नटेरी प्रतिबन्ध लगाए।

प्रतिबन्धसँगै विप्लवका थुप्रै नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायहरुलाई विप्लवको गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिएका थिए।

तर, प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेलगत्तै ओलीले विप्लवलाई हरियो झण्डा देखाएका छन्।

प्रहरी प्रशासनलाई विप्लवविरुद्ध दमनमा उतारेका गृहमन्त्री थापा यतिबेला वार्ता टोलीको संयोजक बनेका छन्।

ओलीले किन यही समयमा विप्लवसँग वार्ता प्रक्रिया अघि बढाए त?

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य चक्रपाणि खनाल ओलीले प्रचण्डविरोधी मोर्चा बनाउने प्रयासअन्तर्गत यतिबेलै विप्लवसँग वार्ता सुरु गरेको दाबी गर्छन्।

‘हामीले त्यो बेला पनि विप्लव पार्टीलाई प्रतिबन्ध लगाउनु हुँदैन भनेका थियौँ, तर ओलीले टेर्नुभएन,’ खनालले नेपालखबरसँग भने, ‘विप्लवजीमा रहेको प्रचण्डविरोधी धारणालाई ओलीले प्रयोग गर्न खोजेका हुन्।’

‘साँच्चै वार्ताद्वारा समस्या सल्टाउनेभन्दा पनि विप्लवलाई प्रचण्डविरुद्ध प्रयोग गर्ने ओली मानसिकताबाट अहिलेको वार्ता प्रेरित देखिन्छ,’ खनालले थपे।

प्रतिनिधि सभा विघटन गरेपछि ओलीले प्रचण्डविरोधी मोर्चा बनाइरहेको उनले तर्क गरे।

‘तर, विप्लवसँगको वार्तालाई हामीले सकारात्मक रुपमा लिएका छौँ,’ खनालले जोडे।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि विप्लव पार्टी र सरकारबीच वार्ता हुनुलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको बताए।

फेरि हिंसातर्फ अग्रसर भएको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु सकारात्मक छ,’ शर्माले भने, ‘सरकारले प्रतिबन्ध लगाएर बल प्रयोगबाट समाधान गर्न खोज्दा गलत भयो भनेर हामीले वार्ताबाट समाधान खोजी गर्न भनेका थियौँ।’

वार्तालाई सरकारले प्रचारबाजीको साधन बनाउन नहुने उनले बताए।

‘वार्ता समिति बनाएर हामीले काम गर्न खोजेका थियौँ भन्नलाई, प्रचारबाजीमा गएर भावनामा खेल्नलाई सरकारले गर्नुहुन्न,’ उनले भने, ‘सरकार प्रचारबाजी गरेर जनताको भावनामा खेल्ने र विद्रोही पक्ष शक्ति सञ्चय गर्ने दिशामा जानुहुन्न।’

युवा तथा खेलकूद मन्त्री दावा तामाङले भने देशलाई शान्तिपूर्ण वातावरण दिनु राज्यको दायित्व भएकाले विप्लव समूहसँग वार्ता अघि बढाइएको दाबी गरे।

‘कुनै राजनीतिक रणनीतिभन्दा राष्ट्रको शान्ति सुरक्षालाई नै मुख्य रुपमा हेरिएको हो,’ तामाङले नेपालखबरसँग भने, ‘यसअघि पनि विप्लव समूहलाई वार्तामा ल्याउन प्रयास भएकै हो। सोमनाथ पाण्डेले निकै मिहिनेत गर्नुभएको थियो।’

संसद् पुनस्र्थापना भएपछि मात्रै विप्लवसँग वार्ता प्रक्रिया अघि नबढेको उनले दाबी गरे।

‘विप्लव समूहको आक्रामक गतिविधि लामो समयदेखि रोकिएको थियो। उहाँहरु ढिलो चाँडो वार्तामा आउने संकेत थियो, अहिले त्यसले मूर्तरुप लियो,’ उनले भने।

अर्कोतिर, पछिल्लो समय विप्लवको पार्टी पनि कमजोर बन्दै गएको थियो। धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश वली र अनिल शर्मालगायत वरिष्ठ नेताहरु पक्राउ परेका छन्।

प्रतिबन्धपछि मात्रै सो पार्टीका २ हजारभन्दा बढी पक्राउ परिसकेका छन्। त्यसमध्ये डेढ सय अझै थुनामा छन्। त्यसैले सो पार्टीका लागि वार्ता बाध्यता बनेको सुरक्षा विश्लेषकहरु बताउँछन्।

शक्ति सञ्चयका लागि पनि विप्लवलाई वार्ता आवश्यक परेको उनीहरुको बुझाइ छ।

‘खासमा निरन्तर आफ्ना उच्च तहका नेता पक्राउ परेपछि विप्लव कमजोर बनेका थिए,’ एक पूर्वडीआईजीले भने, ‘वार्ता गर्दै आफ्ना नेता कार्यकर्ता छुटाउने रणनीति तय गर्न खोजेको देखिन्छ।’

२०६९ भदौमा बौद्धमा राष्ट्रिय भेलाको आयोजना गरेर मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन गर्दाका प्रमुख योजनाकारमध्ये विप्लव एक थिए। वैद्य नेतृत्वको पार्टीमा उनी करिब २ वर्ष सचिव बने।

२०७१ मंसिर ८ मा आफ्नै नेतृत्वमा नेकपा (माओवादी) बनाए र रोल्पामा २०७३ फागुनमा भएको पार्टीको आठौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .