ad ad

राजनीति


वामदेवको विज्ञप्ति : ओली तुरुन्त राजीनामा गर्नुस्, दुवै अध्यक्ष मिलेर सचिवालय बैठक बोलाउनुस्

वामदेवको विज्ञप्ति : ओली तुरुन्त राजीनामा गर्नुस्, दुवै अध्यक्ष मिलेर सचिवालय बैठक बोलाउनुस्

नेपालखबर
फागुन १२, २०७७ बुधबार ३:५२,

नेकपा एकता अभियानमा लागेका वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट तुरुन्त राजीनामा गर्न आग्रह गरेका छन्।

साथै उनले आफू नेकपाको उपाध्यक्ष भएका हैसियतले दुवै अध्यक्ष (प्रचण्ड र ओली) लाई पार्टीको सचिवालय बैठक राख्न अनुरोध पनि गरेका छन्।

सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुर्स्थापनाको फैसला गरेको भोलिपल्ट आज बुधबार बिहान विज्ञप्ति जारी गरी नेता गौतमले आफ्ना धारणा औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

यस्तो छ, वामदेव गौतमले जारी गरेको प्रेस विज्ञप्ति :
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता वि‍. सं २०७७ साल फागुन ११ गतेका दिन
ऐतिहासिक महत्वको रहेको छ।

यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो।

यस अवसरमा म सर्वप्रथम प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।

यस अवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु :

१. सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्तिमार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्छ।

२. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ।

३. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।

वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
१२।११।२०७७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .