ad ad

राजनीति


राजा वीरेन्द्रले अस्वीकार गरिसकेको अवधारणामा टेकेर अमित शाहले किन गरे नेपालमा भाजपाको सरकार बनाउने भ्रामक दाबी?

राजा वीरेन्द्रले अस्वीकार गरिसकेको अवधारणामा टेकेर अमित शाहले किन गरे नेपालमा भाजपाको सरकार बनाउने भ्रामक दाबी?

मणि दाहाल
फागुन ५, २०७७ बुधबार १६:१३,

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले गृहमन्त्री अमित शाहलाई उधृत गर्दै नेपालमा पनि भारतीय जनता पार्टी (भाजपा) को सरकार गठन गर्ने योजना रहेको बताएपछि नेपालमा त्यसको चर्को विरोध भएको छ।

शाह र देवको भनाइ उनीहरुले लामो समयदेखि वकालत गर्दै आएको हिन्दुत्ववादी अखण्ड भारतवर्षको सोचबाट निर्देशित भएको विश्लेषकहरुले बताएका छन्। उनीहरुले यस्तो सोच नेपालको सार्वभौमिकतामाथिको चुनौती पनि भएको बताएका छन्।

त्रिपुरामा गृहमन्त्री शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार बनाउने योजना सुनाएको मुख्यमन्त्री देवले गत शनिबार कार्यकर्तामाझ बताएका थिए। शाह भाजपाको चुनावी जितको ‘आर्किटेक्ट’ मानिन्छन्।

देवको सो भनाइमा श्रीलंकाले पनि आपत्ति प्रकट गरेको छ। भारतीय विदेश मन्त्रालयले बिहीबार हुने साप्ताहिक पत्रकार सम्मेलनमा यस विषयमा स्पष्ट पार्ने बताइएको छ।

देवले ठट्टाका रुपमा सो कुरा भनेको भन्दै त्रिपुराको भाजपा इकाइले उनको बचाउ गरेको छ। गृहमन्त्री शाहले नै सो धारणा व्यक्त गरेका हुन् कि होइन्, स्पष्ट छैन। तथापि, अखण्ड भारतको अवधारणा भने हिन्दुत्ववादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले लामो समयदेखि अगाडि सार्दै आएको छ।

देवको भनाइले आरएसएसको सोही विचारलाई प्रतिबिम्बित गर्ने दिल्लीमा रहेका अनुसन्धाता अमिश मुल्मी बताउँछन्।

‘मुस्लिम लिगलाई काउन्टर दिन सन् १९३० र ४० को दशकमा राष्ट्रिय स्वयंसेवक संघले अखण्ड भारतको विचार अघि सारेको थियो। उनीहरु बंगलादेश, पाकिस्तानसहित यो पुरै उपमहाद्वीपलाई अखण्ड भारतको अंग मान्दछन्,’ मुल्मीले भने, ‘आफ्नो नेताको प्रशंसा गर्न देवले बढाइचढाइ गरेर बोले होलान्। शाहले त्यस्तो बोले कि बोलेनन् प्रमाणित गर्न नसिकएला। तर, देवको भनाइ उनीहरुको विचारको अभिव्यक्ति पनि हो।’

यस्तो उग्र राष्ट्रवादी विचार बोक्ने समूह पहिले भारतीय राजनीतिमा मात्रै होइन भाजपाभित्र पनि कमजोर थियो। तर, अहिले त्यो विचार मूल राजनीतिक धार बनेको छ।

सन् १९२५ मा विजयादशमीको दिन केशव बलिराम हेडगेवारले हिन्दुत्ववादी संगठनका रुपमा आरएसएसको स्थापना गरेका थिए। तीस र चालीसको दशकमा हेडगेवार र विनायक दामोदर सावरकरले यसको सैद्धान्तिक जग राखेका थिए।

त्यसबेला मोहम्मद अली जिन्ना मुस्लिमहरुको संरक्षणको वकालत गर्थे। स्वतन्त्रतासँगै जिन्नाले मुस्लिमहरुकै लागि भनेर पाकिस्तान निर्माण गरे।

आरएसएसले भने समग्र भारतवर्षमा हिन्दुत्वको विस्तार र हिन्दुहरुको संरक्षणको कुरा गर्थ्यो।

‘त्यसैले अहिले पनि भाजपाका नेताहरुले बेलाबेलामा यो कुरा बोल्ने गरेका छन्’ मुल्मीले भने, ‘पहिले मुसलमान र पछि अंग्रेजहरुले हिन्दुमाथि अत्याचार गरे भन्ने उनीहरुको धारणा छ।’

भारतको सत्तारुढ दल भाजपा आरएसएसकै राजनीतिक इकाइ हो। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री शाहदेखि भाजपाको शासनसत्तामा रहेका धेरै राज्यका मुख्यमन्त्रीहरुले संघबाटै राजनीति थालेका हुन्। अहिले भाजपामा धर्मप्रति कट्टरपन्थी विचार राख्ने उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, विवादास्पद सांसद प्रज्ञा ठाकुर, साक्षी महाराजजस्ता नेताहरुको बोलवाला छ। भाजपा वैचारिक रुपमा हिन्दु राष्ट्रवादमा आधारित छ।

आरएसएसको शाखा नेपालमा पनि छ। पहिले धादिङमा रहेको संघको मुख्यालय अहिले राजधानी काठमाडौंमा सारिएको छ।

‘नेपालले पहिले नै अस्वीकार गरेको अवधारणा’
भारतका कट्टरपन्थीहरुले अघि सार्दै आएको अखण्ड भारतवर्षको धारणालाई नेपालले पहिले नै अस्वीकार गरिसकेको सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास)का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की बताउँछन्।

‘उनीहरुले भारतवर्ष भनेर हिमालदेखि समुद्रसम्मको कुरा गर्छन्। सांस्कृतिक रुपले केही होला। तर यो आधुनिक राष्ट्रको परिभाषामा अट्दैन,’ कार्की भन्छन्, ‘तसर्थ भारतवर्षमा नेपाललाई राख्नु नितान्त गलत छ।’

‘यो विषय पहिले पनि उठ्थ्यो। तर तत्कालीन राजा वीरेन्द्रले धेरै पहिले नै नेपाल भारतवर्षमा नभई हिमवत् खण्डमा पर्ने बताउनुभएको थियो,’ कार्कीले थपे, ‘उसै पनि नेपाल विश्वका पुरानामध्येको एक मुलुक हो। कसैले १७ औँ, कसैले १८ औँ र कसैले २२ औँ मुलुक भन्छन्। संसारको २२ औँ मुलुक नै भएपनि नेपाल निकै पुरानो हो। त्यसैले धेरै अघिदेखि हाम्रो छुट्टै अस्तित्व छ।’

नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्स्थापनाका लागि अभियान चलिरहेको छ। सो अभियानमा भारत सरकारका नजिक भनिएका कतिपय व्यक्तिहरुको भूमिका देखिन्छ। त्यस्तै, प्रधानमन्त्री केपी ओलीमा पनि हिन्दुवादी रुझान बढ्दै गएको देखिन्छ। त्यसैले त्रिपुराका मुख्यमन्त्री देवको भनाइलाई अहिले चासो साथ हेरिएको छ।

गत महिना हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमा नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनीले भारतले अहिले नेपालमा राजतन्त्रको नेतृत्वमा हिन्दुवादी शक्तिलाई सहयोग र प्रेरित गरिरहेको बताएका थिए।

‘भारतले हटिसकेको राजतन्त्रको नेतृत्वमा हिन्दुवादी शक्तिहरुलाई पनि सहयोग र उत्साहित गरिरहेको छ,’ मुनीले लेखेका छन्, ‘नेपालमा अब राजनीतिक शक्तिहरुबीच बन्न लागेको नयाँ समीकरणको दृष्टिकोणका आधारमा सम्भवतः यो चाल चालिएको होला। यसर्थमा, भारत अब नेपालमा नयाँ चुनाव गराउने पक्षमा खुलेर लागेको देखिन्छ।’

नेपालमा विभिन्न स्तरमा देवको अभिव्यक्तिको विरोध भएको छ। प्रधानमन्त्री ओलीसँग भारतीय गुप्तचरहरुको उठबसका कारण भारतका कट्टरपन्थीहरु उत्साहित भएको केही नेताहरुले आरोप लगाएका छन्।

‘हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ। यो प्रधानमन्त्री केपीको बालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो। नेपालविरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन,’ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले ट्विटमा भनेका छन्।

नेकपाका नेता डा. दीपकप्रकाश भट्ट अखण्ड भारतको अवधारणा उपनिवेशवादसँग मिल्दोजुल्दो देखिने बताउँछन्।

‘आरएसएसले जुन रुपमा अखण्ड भारतवर्षको कुरा गर्छ, त्यो आधुनिक राष्ट्रको परिभाषा विपरीत र औपनिवेशिक लाग्ने कुरा हो,’ उनले भने, ‘बौद्ध धर्मलाई हिन्दु धर्मबाट फरक रुपमा हेर्ने गरिएको छैन। त्यसैले आरएसएसका मानिसले नेपाल मात्रै नभएर श्रीलंकामा पनि भाजपाकै सरकार गठन गर्ने कुरा गरेका हुनसक्छन्।’

नेपाल सरकारले भने भारतीय नेताहरुको धारणाप्रति औपचारिक रुपमै विरोध गर्दै आफ्नो धारणा स्पष्ट पार्न भारत सरकारसँग आग्रह गरेको छ।

‘नेपाल–भारत सम्बन्ध सामान्य बन्दै गएको भनिएको अवस्थामा अमित शाहको भन्दै देवले जे बोलेका छन्, त्यसले दुई देशको सम्बन्धलाई राम्रो गर्दैन,’ मुल्मी भन्छन्, ‘आरएसएसको अखण्ड भारतसम्बन्धी जुन धारणा छ, त्यो नेपालको सार्वभौमिकताका लागि चुनौतीको विषय पनि हो।’

नेपाल र भारतबीचको सम्बन्ध केही समयदेखि तिक्त रहँदै आएको थियो। भारतीय स्वतन्त्रता दिवसको अवसरमा अगस्ट १५ का दिन प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोनमार्फत शुभकामना व्यक्त गरेका थिए। त्यसैबेलादेखि दुई देशबीचको संवादहीनता तोडिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .