राजनीति


प्रतिनिधि सभा पुनर्स्थापना भयो भने नेकपा एक होला?

प्रतिनिधि सभा पुनर्स्थापना भयो भने नेकपा एक होला?

सागर न्यौपाने
पुस १४, २०७७ मंगलबार १५:४७,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजन प्रक्रियामा गएको नेकपा फेरि एक हुने कुनै संभावना छ कि छैन त?

अहिले यो प्रश्न पनि बिभिन्न कोणबाट उठिरहेको छ।

प्रधानमन्त्री ओलीले पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि आक्रोशित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले ओलीलाई देश, जनता र लोकतन्त्रविरोधी काम गरेको भनी कारबाही गर्‍यो।

साे पक्षले ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटायो।

उता ओली पक्षले पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट हटायो।

आरोप प्रत्यारोप र पार्टीभित्रै समानान्तर गतिबिधि गर्दै आएका नेकपाका दुई पक्षले अहिले एक अर्का अध्यक्षलाई कारवाही गरेर दुई पार्टीको अभ्यास सुरु गरिसकेका छन्।

ती नेताहरु अब तत्काल एक ठाउँ उभिन सक्लान र? के भयो भने त्यो एकता संभव छ त?

प्रचण्ड–नेपाल पक्षका केही नेताहरुले अहिले यस सम्बन्धमा पनि अभिव्यक्ति दिन थालेका छन्।

नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले पनि यो विषयमा समेत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग सो जिज्ञासा राखेको थियो।

प्रचण्डले चिनियाँ टोलीलाई प्रतिनिधि सभा पुनर्स्थापना भएमा नेकपा एक रहने संभावना रहेको जनाउ दिएका थिए।

सो पक्षका अरु नेताहरुले पनि त्यस्ताे धारणा व्यक्त गर्न थालेका छन्।

नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा पुनर्स्थापना भयो भने एकता जोगिने दाबी गरेका छन्।

‘संसद पुनःस्थापना भयो भने सबैकुरा ट्रयाक (सहि बाटो)मा आउँछ,’ भुसालको भनाइ छ, ‘संसद विघटन भएपछि संविधानमाथि चुनौति थपिएको छ, पुनर्स्थापना भयो भने संविधानको रक्षा पनि हुन्छ, पार्टी विभाजन पनि जोगिन्छ।’

भुसालले पार्टी एकता जोगाउने हो भने त्यो चाहना राख्ने पार्टीका सबै सदस्यले संसद पुनर्स्थापनाको मागलाई नै जोड दिनुपर्ने बताए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीपक्ष भने सो तर्क स्वीकार्दैन। ओलीनिकट स्थायी समिति सदस्य सुवास नेम्वाङले एकताको संभावना नै नरहेको बताए।

‘एकतालाई भड्काएर साथीहरुले यहाँसम्म ल्याइपुर्‍याउनु भयो,’ पूर्वसभामुख नेम्वाङले भने, ‘अदालतमा विचाराधीन विषयलाई दबाब दिनेगरी बोल्नु हुँदैन, सर्वाेच्चले के गर्छ अहिले म त्यहि प्रतिक्षा गरिरहेको छु, हेरिरहेको छु।’

पुनर्स्थापनाको विषयमा प्रचण्ड–नेपाल पक्षका नेताहरुका फरकफरक बुझाइ रहेको हुनसक्ने नेम्वाङको भनाइ छ।

ओली पक्षकै अर्का स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद पुनर्स्थापना हुने संभावना न्यून रहेको बताए।

उनले संसद विघटन गर्ने सरकारको कदम संविधानसम्मत् रहेको बताउँदै अब बरु निर्वाचनले चाहिँ पार्टी एकता गराउनसक्ने बताए।

‘सरकारको संसद विघटन गर्ने सिफारिस संविधानसम्मत् छ,’ नेपालखबरसँग ज्ञवालीले भने, ‘संसदमा ६४ प्रतिशत बहुमत प्राप्त पार्टी अविभाजित अवस्थामा रहेकै बेला त्यो पार्टीका संसदीय दलको रुपमा त्यो पार्टीका सांसदहरुको विश्वास प्रधानमन्त्री केपी शर्मा ओलीप्रति रहेको र खण्डित नभएको अवस्थामा अर्को सरकार बन्ने अवस्था थिएन।’

बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जान्छु भनेको हुँदा त्यहि संसदबाट अर्को सरकार बन्ने अवस्था नभएको ज्ञवालीको तर्क छ।

‘त्यसैले अदालतले अन्यथा लिन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने।

त्यसकारण संसद पुनर्स्थापना हुने र पार्टी एकता जोगिने प्रश्न नै काल्पनिक जस्तो हुने मन्त्री ज्ञवालीको भनाइ छ।

ज्ञवालीले अदालतले संसद पुनर्स्थापना गर्‍यो भने पनि प्रचण्ड–नेपालसँग मिलिहाल्ने संभावना कम देख्छन्। ‘किनभने यो प्रधानमन्त्रीको रोजाइ थिएन। एकता जोगाउन गरिएका सबै प्रयास असफल भइसकेका हुन्।’

ज्ञवालीले प्रचण्ड–नेपाल पक्ष एकताबाट धेरै पर पुगिसकेको र उनीहरुले त्यसमा पुनर्विचार पनि नगरेको बताए।

‘नेतृत्व त्यो अवस्थामा पुगेको बेलामा पुनर्स्थापना भइहाल्दा पनि कस्तो हुन्छ यकिन भन्न सक्तिन, त्यसमाथि सरकारको सिफारिस संविधानसम्मत् रहेको र अदालतको निर्णय पनि तदअनुरुप हुन्छ भन्ने विश्वास छ’ उनले भने, ‘एकता जोगाउनको लागि फरक ढंगबाट जानुपर्छ होला, त्यो भनेको निर्वाचनमा जाने नै हो।’

प्रधानमन्त्रीले पनि नेकपाका नेताहरुलाई कुनैपनि रसायनले नजोडेपछि चुनावमै जानुपर्ने निष्कर्ष निकालेको उनले बताए।

‘पुनर्स्थापनाको संभावना देख्दिन बरु चुनावमा एकता र सहकार्यको गुञ्जायस रहन्छ कि जस्तो लाग्छ,’ ओलीपक्षीय नेकपाका प्रवक्ता समेत रहेका ज्ञवालीले भने।

तर कानुन व्यावसायी र सांसद लगायतले प्रधानमन्त्रीले संविधानमा व्यवस्थै नभएको धारालाई टेकेर प्रतिनिधि सभा विघटन गराएको भन्दै त्यसको खारेजी मागसहित सर्वाेच्च अदालतमा रिट दिएका छन्। त्यसमाथि सुनुवाइ सुरु भइसकेको छ।

अदालतले अन्तिम फैसला नगरेसम्म प्रतिनिधि सभा के हुन्छ यसै भन्न सकिँदैन।

तर, आन्दोलनरत पक्ष प्रचण्ड–नेपाल भने अदालतबाट पुनर्स्थापित हुने दाबी गरेका छन्।

संसद विघटनलाई असंवैधानिक ‘कू’ भन्दै सो पक्षले सडक संघर्ष चर्काएको छ।

मंगलबार काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा प्रदर्शन गर्‍यो।

काठमाडौंमा भएको विरोध सभामा बोल्दै प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले संसद पुनर्स्थापना भए ओलीलाई गरिएको कारवाहीबारे फेरि छलफल गर्न सकिने बताए।

‘प्रतिनिधि सभा पुनर्स्थापना गर्नुहुन्छ भने हामी सबै कुरा बिर्सेर ओलीसँग फेरि छलफल गर्न तयार छौं,’ नेपालले भने, ‘संसद पुनर्स्थापना हुन्छ हुन्छ र भएरै छाड्छ।’

विरोध प्रदर्शनमा उपस्थित हजारौं नेपालीले संसद पुनर्स्थापना गरेर संविधानको रक्षा गर्न अदालतलाई सहजीकरण गरेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ छ।

मंगलबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै प्रचण्डले संसद पुनर्स्थापना हुने ठोकुवा गरे।

उनले भने, ‘संसद पुनर्स्थापना हुन्छ, हुन्छ हुन्छ।’

संसद विघटनलाई प्रतिगमनको संज्ञा दिँदै प्रचण्ड–नेपाल पक्षले सडक आन्दोलनको शक्तिले पुनर्स्थापना गराएरै छाड्ने दाबी गरिरहेका छन्।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमप्रति आक्राशित प्रचण्ड–नेपाल पक्षले असंवैधानिक कदम चालेको भन्दै ओलीलाई कारवाही गर्दै अध्यक्ष पदबाट समेत हटाएको हो।

उता ओली पक्षले पनि प्रचण्डलाई कारवाही गरेको छ। यस्तो अवस्थामा पनि उनीहरुबीचको एकताको मिलनविन्दू भने संसद पुनर्स्थापनाबाट हुनसक्ने प्रचण्ड–नेपाल पक्षका नेताहरुको भनाइ छ।

तर, ओली पक्षका नेताहरु भने संसद पुनर्स्थापना होइन बरु चुनावले दुई पक्षले सहकार्यका अवसर दिनसक्ने तर्क गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .