ad ad

राजनीति


काठमाडौँमा भारतीय नेताकै सामु नेपालको संविधानबारे यस्तो प्रस्ताव

काठमाडौँमा भारतीय नेताकै सामु नेपालको संविधानबारे यस्तो प्रस्ताव

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १६:५९,

तपाईंले विश्वको कुनै देशको संविधानमा अर्को देशको नाम लेखेर ऊसँग विशेष सम्बन्ध रहनेछ भनेर उल्लेख गरेको सुुन्नुभएको छ?

सम्भवतः छैन होला।

तर, शुक्रबार राजधानीको हिमालय होटलमा नेपाल भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा एकजना सहभागीले भारतीय अधिकारीहरुलाई साक्षी राखेर यस्तै प्रस्ताव राख्दा अधिकांश सहभागीहरु छक्क परे।

नेपाल भारत मैत्री समाजले शुक्रबार हिमालय होटलमा ‘नेपाल भारत कोअपरेसनः परस्पेक्ट्स् एन्ड च्यालेन्जेज इन प्रिजेन्ट कन्टेक्स्ट’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवाले र भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई साक्षी राख्दै एक जना सहभागी सच्चिदानन्द मिश्रले हिन्दीमा प्रस्ताव राखे, ‘चीन र भारतसँग नेपालको एउटै खालको सम्बन्ध छैन, भारतसँग विशेष सम्बन्ध छ। त्यसैले नेपालको संविधान संशोधन गरेर भारतसँग विशेष सम्बन्ध छ भन्ने कुरा लेख्नुपर्छ।’

आफूलाई पत्रकार बताउने मिश्रका कुरा सुनेर अधिकांश सहभागीहरु हाँसे। तर, उनले निर्धक्क रुपमा आफ्नो कुरा जारी राख्दै त्यही प्रस्ताव दोहोर्याए।

मिश्र मात्र होइन, कार्यक्रममा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले पनि कार्यक्रममा भारतीय नेताहरुलाई नै अप्ठेरो पर्ने गरी भारतको पक्षपोषण गरेका थिए।

नेपाल–भारत सम्बन्ध पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपीजी) को प्रतिवेदन बुझ्न भारतीय पक्षले एक बर्षदेखि आनाकानी गरिरहेको बेला त्यसैलाई बल पुग्ने गरी रायले भने, ‘इपीजी गठन गर्दा मधेसीहरुलाई सहभागी गराइएको छैन र त्यसबारे हामीसँग छलफल पनि गरिएको छैन। त्यसैले सन् १९५० को सन्धिका बारेमा हेरफेर गर्ने कुरा हामीलाई मान्य छैन, मधेसले मान्दैन।’ 

 स्मरणीय छ, सन् १९५० को सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष इच्छुक नभएका कारण प्रतिवेदन वेवारिशे भएको आँकलन इपीजीकै सदस्यहरुले गरिरहेका छन्।

Chauthai2

कार्यक्रम सञ्चालन गरेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले नेपालको तराइ मधेसमा भइरहेको बाढीको समस्या दुइ देशले मिलेर समाधान खोज्नुपर्ने उल्लेख गरेका थिए। नेपालको विकासमा  भारतीय सहोयग महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाली उत्पादन भारत निर्यात गर्दा देखिने समस्याको समाधान समान धरातलमा खोज्नुपर्ने उल्लेख गरेका थिए।

उद्योगपति तथा पूर्वसांसद विमल केडियाले त कार्यक्रम अंग्रेजी भाषामा चलाइएकोमा आपत्ति जनाउँदै हिन्दीमा गर्नुपर्ने माग गरे। उनको भनाइ थियो, ‘यहाँ सबका सबले हिन्दी बुझ्छन्, अंग्रेजी बुझ्दैनन्। किन अंग्रेजीमा कार्यक्रम चलाउनुपर्यो?’

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले चाहिँ नेपाल र भारत बीचको सीमा समस्या सधैँका लागि समाधान हुनुपर्ने धारणा राखे।

आफू अर्थमन्त्री भएको बेला भारतीय अर्थमन्त्री जसवन्त सिंहसँग भएको कुराकानीको प्रसंग सुनाउँदै उनले दुई देशबीचको व्यापार घाटा कम नगराएसम्म भारतले गरेको सहयोग पनि उतै जाने स्थिति कायम रहने बताए।

भारतीय अखबारमा ‘नेपालमा चिनियाँ लगानी बढेको र नेपाल पूरै चीनको पोल्टामा पुगेको’ समाचार पढेर आफूलाई आश्चर्य लाग्ने गरेको सुनाउँदै डा. महतले भने, ‘नेपालका दुई ठूला छिमेकी छन्, नेपालमा लगानी गर्नका लागि हामीले चीन र भारत दुबैलाई स्वागत गर्नुपर्छ।’

छोटो, कुटनीतिक जवाफ
भाजपा विदेश विभाग प्रमुख डा. चौथाइवालेलाई पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, भारतका लागि पूर्वनेपाली राजदूत डा. दुर्गेशमान सिंह, पूर्वराजदूत प्रद्युम्नविक्रम शाह, सांसद अभिषेकप्रताप शाह, पूर्वमन्त्री हिसिला यमी, डा. सुन्दरमणि दीक्षितलगायतले सीमा समस्या, इपिजी प्रतिवेदन, महंगो टेलिफोन शुल्क, नेपाली गाडीलाई भारत प्रवेशमा कठिनाइलगायतका विषयमा प्रश्न सोधे पनि उनले एकमुष्ट रुपमा कुटनीतिक जवाफ दिएका थिए।

‘नेपाललाई भारतले डोमिनेट गर्दैन र यस मानसिकताबाट कोही पनि चल्नु हुँदैन’, उनको भनाइ थियो।

उनले नेपालको विकास र समृद्धिका लागि भाजपाको सरकार हातेमालो गर्न तयार रहेको उल्लेख गर्दै नेपाल सार्वभौम र स्वतन्त्र मुलुक भएकाले आफ्ना हरेक निर्णय गर्न सक्षम रहेको उल्लेख गरे।

भाजपाले जित्नुका तीन कारणको व्याख्या
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कोर टीमका सदस्य मानिने डा. चौथाइवालेले पाँच बर्ष सत्तामा रहेर पनि आफ्नो पार्टीले भारतमा कसरी चुनाव जित्यो भनेर ब्याख्या गर्नमा अधिकांश समय खर्च गरे।

सत्तामा बसेर चुनाव लड्दा फाइदाभन्दा घाटा हुने गरेको इतिहास बदल्दै हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनमा भाजपाले जित्नुका उनले तीन कारणको व्याख्या गरेका थिए।

पहिलो, भारतको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि प्रधानमन्त्री मोदीले लिएको नीतिले काम गरेको उनको भनाइ थियो।

उनले भने, ‘उरीमा आक्रमण भयो, हामीले पाकिस्तानमाथि सर्जिकल स्ट्राइक गरेर जवाफ दियौँ, फेरि पुलहवामा आक्रमण भयो, हामीले बालाकोटमा आक्रमण गरेर जवाफ दियौँ। यही कारणले हामीलाई भारतीय जनताले पत्याए।’

दोस्रो, प्रधानमन्त्री मोदीले अघि सारेको विकासको एजेन्डाले जनतालाई छोएको उनले बताए।

उनको व्याख्या थियो, ‘चाहे स्वच्छ भारत अभियान चलाएर घरघरमा शौचालय बनाउने योजना होस् वा निःशुल्क ग्यास वितरण होस्, मोदीका एजेन्डालाई जनताले आफैँ अनुभव गर्न पाए।’

तेस्रो, पार्टी अध्यक्ष अमित शाहले सही रुपमा पार्टी चलाएका कारण भाजपा राष्ट्रव्यापी रुपमा प्रभावशाली बनेको उनको भनाइ थियो। ‘सबै नेता–कार्यकर्तालाई परिचालन गर्न सक्नु शाहको विशेष क्षमता थियो’, चौथाइवालेले भने, ‘त्यही भएर हामीले भारतको पुरानो पार्टी कांग्रेस (आई) लाई १२ राज्यमा शून्यको स्थितिमा पु¥यायौँ, पञ्जाव र केरलाबाहेक उसले जितेका अरु ठाउँमा पनि डबल डिजिट कटाउन सकेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .