राजनीति


चिनियाँ रक्षामन्त्रीलाई निमन्त्रणा गर्ने पूर्वरक्षामन्त्री पोखरेललाई किन सहभागी बनाइएन भ्रमणका कार्यक्रममा?

चिनियाँ रक्षामन्त्रीलाई निमन्त्रणा गर्ने पूर्वरक्षामन्त्री पोखरेललाई किन सहभागी बनाइएन भ्रमणका कार्यक्रममा?

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ८:१०,

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको निम्तोमा एक दिने नेपाल भ्रमणमा आएका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङलाई गृहमन्त्री रामबहादुर थापाले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

औपचारिक वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भने नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्ने छन्।

रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ रक्षामन्त्रीको दिउँसो चार बजे शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

डेढ महिनाअघि तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रालयबाट हटाई प्रधानमन्त्री कार्यालयसम्बन्धी मामिला हेर्ने जिम्मेवारी दिएका प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैले सम्हालिरहेका छन्।

मर्यादाक्रममा बराबरी रहेका र निमन्त्रणा गर्ने तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल भने प्रधानमन्त्री कार्यालयमै रहेर पनि उनलाई यो सम्पूर्ण प्रक्रियामा कुनै जिम्मेवारी दिइएको छैन। जसलाई धेरैले अर्थपूर्ण मानेका छन्।

‘प्रधानमन्त्री कार्यालयमै रहेको र उहाँकै निमन्त्रणामा आएको हुँदा यो भ्रमणमा उहाँको कुनै न कुनै ढंगबाट सहभागिता गराउन सकिन्थ्यो, त्यसो गरेको भए राम्रो हुन्थ्यो,’ रक्षा मामिलासम्बन्धी एक विज्ञले नाम उल्लेख नगर्ने शर्तमा बताए।

आइतबार नै नेपालबाट बंगलादेश प्रस्थान गर्नुअघि उनले राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।

नेपाल भ्रमणमा आएका वेइ स्टेट काउन्सिलर हुन्। जुन उपप्रधानमन्त्री सरहको हैसियत हो। नेपालबाट औपचारिक वार्ताको नेतृत्व गर्ने प्रधानसेनापति विशिष्ट श्रेणीका सुरक्षा अधिकारी हुन्।

नेपालको मर्यादाक्रममा १०औं नम्बरमा रहने उनको स्थान मुख्यसचिवपछि हुन्छ। केहिले भने दुवैबीच वार्ताको प्रोटोकल नमिलेको टिप्पणी गरेका छन्।

सत्तारुढ दल नेकपाका सांसद डा दीपकप्रकाश भट्टले प्रोटोकल नमिलेको र त्यसो गर्नु कूटनीतिक व्यवस्थापनको पक्षमा कमजोरी भएको बताउँछन्।

‘यो कूटनीतिक व्यवस्थापनमा देखाएको कमजोरी हो। औपचारिक छलफलमा प्रोटोकलको विषयलाई पनि राम्रोसँग ध्यान दिनुपर्ने हो,’ भट्टले भने, ‘डिप्लोम्याटिक जेस्चर महत्वपूर्ण कुरा हो। चाहिनेभन्दा बढी सम्मान दिएर चाकडी पनि गर्नु हुँदैन र कम महत्व दिँदा बेवास्ता गरेजस्तो हुन्छ। त्यस्तो गर्नु हुँदैन। बराबरी रुपमा व्यवहार गर्नुपर्ने हुन्छ। अतिथि देवो भवः भन्ने मान्यता भएको हामीले छिमेकीबाट आएका अतिथिलाई पनि किन पर्याप्त सम्मान नगर्ने। यस्तो विषयमा ध्यान दिनुपर्ने हुन्छ।’

स्टेट काउन्सिलर वेइ रक्षामन्त्री र चिनियाँ जनमुक्ति सेनाको जनरल हुन्। जनरल वेइ प्रधानमन्त्री ली खच्याङको मन्त्रिपरिषदमा पहिलो नम्बरका स्टेट काउन्सिलर हुन्। त्यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वको निकै शक्तिशाली केन्द्रीय सैन्य आयोगका सदस्य हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराईले भने कूटनीतिक व्यवस्थापनमा कमजोरी नभएको बताए। भट्टराईले जनरल वेई स्टेट काउन्सिलर र रक्षामन्त्री मात्रै नभएर त्यसका अतिरिक्त चिनियाँ जनमुक्ति सेनाका जनरल समेत भएको हुँदा सोहिअनुसार सबै वार्ता तथा भेटघाट तय गरिएको बताए।

‘उहाँ चिनियाँ जनमुक्ति सेनाको सैन्य भूमिकामा पनि भएको हुँदा त्यसै रुपमा उहाँसँग प्रधान सेनापतिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वमा औपचारिक वार्ता गर्नुहुन्छ,’ भट्टराईले भने, ‘अर्कोतर्फ उहाँ स्टेट काउन्सिलर र रक्षामन्त्री भएकाले उहाँले प्रधानमन्त्री र राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुन्छ।’

नेपाली सेनाका पूर्वरथी नेपालभुषण चन्दले सामन्यतया कसको निमन्त्रणामा भ्रमण भएको हो भन्ने पक्ष महत्वपूर्ण हुने बताए।

‘अहिलेसम्म आएको जानकारीअनुसार यो ‘रिटर्न भिजिट’ हो। जसको हैसियतमा निमन्त्रणा गरिएको हो त्यसैको नेतृत्वमा वार्ता हुँदा राम्रो हुन्थ्यो,’ चन्दले भने, ‘तर रक्षामन्त्री पनि प्रधानमन्त्री हुनुहुन्छ। उहाँले प्रधान सेनापतिलाई जिम्मेवारी दिनुभयो। सैन्य मामिला सेनापतिले भन्दा बढी अरुले बुझेको हुँदैन नि।’

यो पनि:
द्विपक्षीय समझदारी कार्यान्वयन गर्न नेपाल भ्रमणमा आएको हुँ : चिनियाँ रक्षामन्त्री

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने विश्वास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .