राजनीति


काठमाडौँमा शृंगलाको ‘खोप कूटनीति’

काठमाडौँमा शृंगलाको ‘खोप कूटनीति’

मणि दाहाल
मंसिर १२, २०७७ शुक्रबार १२:६,

भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले नेपाल भ्रमणका बेला कोभिड-१९ विरुद्धको खोप भारतले प्राप्त गरेपछि नेपाललाई उपलब्ध गराउने प्रतिवद्धता पटकपटक व्यक्त गरेका छन्।

दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव शृंगलाले द्वीपक्षीय वार्ता र शिष्टाचार भेटमा मात्रै नभएर सार्वजनिक प्रवचन कार्यक्रममा पनि खोप उपलब्ध गराउने बताएका हुन्।

शृंगलाको यो प्रतिबद्धता पछिल्लो समय छिमेकीसँगको सम्बन्धमा भारतले अँगालेको खोप कूटनीतिको हिस्सा भएको विश्लेषकहरु बताउँछन्। यद्यपि, शृंगलाको यो खोप कूटनीतिले केही वर्षयता नेपाल–भारत सम्बन्धमा बढ्दो तिक्ततालाई मत्थर पार्न सक्छ कि सक्दैन, त्यो भने स्पष्ट छैन।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सको कार्यक्रममा शृंगलाले २०७२ सालको भूकम्पमा नेपाललाई सबैभन्दा पहिले सहयोग गर्ने मुलुक भारत भएको भन्दै कोभिड-१९ विरुद्धकाे खोपमा पनि नेपाललाई प्राथमिकतामा राख्ने बताए।

भारतले यस्तै बाचा अन्य छिमेकीसँग पनि गरेको छ। यसअघि भारतले बंगलादेश, म्यान्मार, माल्दिभ्स, श्रीलंका, अफगानिस्तान र भुटानलाई पनि खोपमा सघाउने प्रतिवद्धता गरेको छ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ संकट अन्त्य गर्न भारतले सबैलाई सहयोग गर्ने बताएका थिए। उनले खोप उत्पादन, आपूर्तिका लागि आवश्यक पर्ने भण्डारण क्षमता र कोल्ड चेन फ्यासिलिटीको सुविधा विस्तार गर्न सघाउने बताएका थिए।

भारतले अर्को साता विभिन्न देशका राजदूतहरुलाई खोपको विषयमा जानकारी दिन महराष्ट्र राज्यको पुणे भ्रमण गराउँदैछ। भारतको विदेश मन्त्रालयले आयोजना गरेको सो भ्रमणमा विदेशी कूटनीतिहरुले खोपमा काम गरिरहेका सेरम इन्स्टिच्युट अफ इन्डिया र गेन्नोभा बायोफर्मास्युटिकल्समा अवलोकन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतले यसअघि नोभेम्बर ६ मा पनि दिल्लीमा विदेशी कूटनीतिज्ञहरुलाई खोपबारे जानकारी दिने कार्यक्रम गरेको थियो।

उत्पादन क्षमताको हिसाबले विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक हो सेरम इन्स्टिच्युट। अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप समेत उत्पादनको जिम्मेवारी समेत याे भारतीय कम्पनी सेरमले पाएको छ। यसले एक वर्षमा एक अर्ब डोज खाेप उत्पादन गर्न सक्छ।

सेरम आफैँले पनि खोपको अनुसन्धान गरिरहेको छ। सेरमको खोप तेस्रो चरणको परीक्षणमा छ र त्यो आगामी मार्चमा सम्पन्न गर्ने बताइएको छ। अर्कोतिर भारतकै गेन्नोभाले आरएनए विधिबाट खोप निर्माण गरिरहेको छ।

विदेश सचिव शृंगलाले भारतभित्रै पाँच वटा खोपको परीक्षण भइरहेको बताएका छन्। भारतका विज्ञान तथा जनस्वास्थ्यको विषयमा चासो राख्ने विज्ञहरुले भने पारदर्शी रुपमा खोप निर्माण नभएको भन्दै चासो व्यक्त गरेका छन्।

काठमाडौँस्थित ग्लोबल इन्स्टिच्युट अफ इन्टरडिसिप्लेनरी स्टडिज (जीआईआईएस)का रिसर्च फेलो डा. सुरज भट्टराईले कोभिड-१९ को खोपलाई मुलुकहरुले व्यापार मात्रै नभएर प्रभाव विस्तारको रुपमा समेत प्रयोग गर्ने गरेको बताए।

‘खोपको व्यापार त छँदै छ। तर अरु देशमाथि आफ्नो प्रभाव विस्तारको औजार पनि बनेको छ यो,’ डा. भट्टराईले भने, ‘भारत सरकारले प्राथमिकता निर्धारण गरिदिने हो। पैसा नदिई सित्तैमा दिने होइन। प्राथमिकतामा दिएर सहयोग गरेको पनि भयो बजारमा पनि सुरक्षित हुने भयो।’

डा. भट्टराईले खोपको विषयमा अझै पूर्ण जानकारी प्राप्त भइनसकेको बताए।

‘कोडिभ-१९ विषय नै नयाँ हो। यसबारे पर्याप्त मात्रामा जानकारी प्राप्त भइसकेको छैन,’ भट्टराईले भने, ‘खोप झनै नयाँ विषय हो। एक पटक लगाएपछि सधैँका लागि हुन्छ कि प्रत्येक वर्ष लगाउनु पर्ने हो, त्यो पनि थाहा छैन। त्यसैले यो ठूलो बजार पनि हो।’

तर अन्य देशको तुलनामा भारतमा उत्पादित खोप ल्याउन नेपाललाई सहज हुने उनी बताउँछन्।

‘नेपालमा आउने अधिकांश खोप भारतमै उत्पादन भएका हुन्। युरोप वा अन्यत्र उत्पादन गरेको भन्दा भारतमा गरिने उत्पादन सस्तो छ,’ भट्टराईले भने, ‘नेपाल र भारतबीच धेरै विषयहरु मिल्छ। भारतभित्र अनुसन्धान गरेर निर्माण गरिएको खोप उपयुक्त हुन्छ।’

नेपाल सरकारले पनि सेरमसँग सम्पर्क गर्ने बताएको छ। सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत अदिर पुनेवालाले आफ्नो कम्पनीबाट उत्पादन भएको खोपको प्राथमिकतामा भारतका छिमेकी देशहरु पर्ने एक अन्तर्वार्तामा बताएका थिए।

छिमेकीसँगको कूटनीतिक सम्बन्धमा मात्र होइन, भारतले आन्तरिक राजनीतिमा समेत खोपलाई प्रयोग गर्दै आएको छ।

हालै बिहार राज्यमा भएको विधान सभा चुनावअघि सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो सरकार बने बिहारी राज्यका जनतालाई निःशुल्क कोभिड-१९ को खोप उपलब्ध गराउने घोषणा पत्रमै प्रतिवद्धता जनाएको थियो। विपक्षी गठबन्धनले भने खोपमा राजनीति गरेको भन्दै निर्वाचन आयोगमा उजुरी गरेको थियो।

याे पनि:
- भारतीय विदेशसचिवद्वारा नेपाललाई दुई हजार सिसी रेम्डिसिभिर औषधि हस्तान्तरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .