ad ad

राजनीति


राष्ट्रपतिका चार प्रस्तावमा प्रचण्डको जवाफः धेरै ढिलो भयो, ओलीले एक पद अहिले नै छोड्नु पर्छ

राष्ट्रपतिका चार प्रस्तावमा प्रचण्डको जवाफः धेरै ढिलो भयो, ओलीले एक पद अहिले नै छोड्नु पर्छ

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ५:४,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार लगभग पार्टी सचिवालय बैठक राखिएको समयमै मन्त्रीपरिषदको बैठक आयोजना गरेपछि सत्तारुढ नेकपाभित्रको विवाद साम्य बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अन्तिम प्रयास असफल हुने संकेत मिलेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली सरकार सञ्चालन गर्न असफल भएको र पार्टी पनि राम्रोसँग चलाउन नदिएको भन्दै राजीनामा दिएर निकास दिनु पर्ने प्रस्ताव ल्याएपछि नेकपाको विवादले निर्णायक मोड लिएको छ।

शीर्ष नेताहरूले पार्टी एकता अप्ठेरोमा परेको बताइरहेका बेला राष्ट्रपति भण्डारीले मंगलबार अध्यक्ष प्रचण्डलाई शितल निवास बोलाएर सहमति कायम गर्न चार वटा प्रस्ताव राखेकी थिइन्।

नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रचण्डलाई ‘प्रस्ताव फिर्ता लिनुस्’ भन्दै राष्ट्रपतिका चार प्रस्ताव यस्ता थिएः

एक, तपाईं र ओलीको पहलमा पार्टी एकता भएको हो, तपाईंहरू फेरि पनि मिलेर अगाडि बढ्नु पर्छ। मेरो उपस्थितिमा तपाईंहरू दुई अध्यक्षबीच नयाँ सहमति गरौं।

दुई, भदौमा भएको सहमति अनुसार तपाईंले सम्पूर्ण रुपमा कार्यकारी अध्यक्षको भूमिका खेल्नुहोस्। सबैलाई सहमतिमा लिएर बैठक राख्नेदेखि पार्टीका सबै जिम्मेवारी तपाईं नै सम्हाल्नुस्। त्यसको ग्यारेन्टि म गर्छु। ओलीले सरकार चलाउनु हुन्छ।

तीन, अबको एक वर्षपछि तपाईं नै प्रधानमन्त्री बन्नुहोस्। तपाईंकै नेतृत्वमा चुनाव गराऔं।

चार, महाधिवेशनपछि तपाईं पार्टीको एकल अध्यक्ष बन्नुहोस्। त्यसमा ओलीको पनि समर्थन रहन्छ।

राष्ट्रपतिका यी चार प्रस्ताव सुनेपछि प्रचण्डको भनाइ उधृत गर्दै सचिवालयका ती नेता भन्छन्, ‘अब धेरै ढिलो भैसक्यो। यसरी जान सकिँदैन। ओलीले अहिले नै कम्तिमा एक पद छोड्नु पर्छ। अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुन पद छोड्ने उहाँलाई नै रोज्न दिउँ। तपाईंले ओलीलाई नै सम्झाउनोस्।’

त्यसपछि प्रचण्ड ‘मैले ल्याएको प्रस्तावमा पार्टीको बैठकमा छलफल हुन्छ’ भनेर बाहिरिएका थिए। शितल निवासबाट फर्केपछि प्रचण्डले राष्ट्रपतिसँग भएको छलफलबारे वरिष्ठ नेता माधव नेपाललगायतलाई ब्रिफिङ गरेका थिए।

मंगलबार राति करिब ११ बजे प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे। स्रोतहरूका अनुसार संभवतः प्रधानमन्त्री ओली एक पद छोडेर प्रचण्ड–माधव नेपाल समूहसँग सहमति गर्न तयार भएनन्।

‘प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक राखिएकै समयको आसपास मन्त्रीपरिषद बैठक बोलाउनु भएको छ, त्यसले उहाँ सहमतिमा आउन तयार हुनुहुन्न भन्ने नै देखिन्छ’, ती नेता भन्छन्।

प्रधानमन्त्री ओलीले १ बजे प्रचण्ड–नेपाल समूहले चाल्ने कदम हेरेर अगाडि बढ्ने गरी १ बजे नै आयोजना गरिएको मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका छन्, जसमा पहिले ल्याएकै अध्यादेश फेरि जारी गर्ने तयारी भइरहेको जनाउ दिने सम्भावना रहेको नेकपाका नेताहरूको अनुमान छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .