राजनीति


अनौपचारिक सचिवालय बैठक राखेर प्रचण्डले दिन चाहेका थिए यी दुई सन्देश

अनौपचारिक सचिवालय बैठक राखेर प्रचण्डले दिन चाहेका थिए यी दुई सन्देश

मणि दाहाल
कात्तिक २१, २०७७ शुक्रबार १६:३,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार राखेको पार्टी सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ।

प्रायः आफ्नै निवासमा आफूपक्षीय नेताहरुसँग छलफल राख्ने गरेका कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबारको बैठक भने पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखेका थिए।

सचिवालयका बहुमत सदस्यको सहभागिता रहेको सो अनौपचारिक बैठकले पार्टीको शीर्ष तहको विवादलाई नयाँ चरणमा प्रवेश गराएकोरुपमा पनि हेरिएकाे छ।

अध्यक्ष ओली पक्षले यसलाई पार्टीभित्र समीकरण तिब्र पार्ने कदम भनी आराेप लगाएकाे छ भने अर्काे पक्षले पार्टीका एजेन्डाहरुलाई पार्टी कमिटीहरुबाट छलफल र निर्णय गर्ने प्रयास भएकाे दाबी गरेकाे छ।

नेकपाको कोर अफ द लिडरसिप भनिने नौ–सदस्यीय सचिवालयका पाँच नेता सो बैठकमा सहभागी भए भने अन्य चार जना अनुपस्थित रहे।

कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए भने प्रधानमन्त्री तथा अध्यक्ष ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा अनुपस्थित रहे।

विषयहरु संस्थागत गर्ने प्रयास
प्रचण्डनिकट नेताहरुले प्रधानमन्त्री ओली पक्षबाट प्रचण्डलाई लगाउँदै आएको आरोपको जवाफ दिन र विवादका विषयलाई संस्थागत ढंगबाट सम्बोधन गर्ने प्रयासस्वरुप सो बैठक पहिलेजस्तो निवासमा नगरी पार्टी कार्यालयमा आयोजना गरिएको बताए।

‘सचिवालयका पाँच जना सदस्यहरु खुमलटार (प्रचण्ड निवास) वा कोटेश्वर (माधव नेपाल निवास) मा बसेर पनि भोली प्रधानमन्त्रीलाई समुहिक रुपमा भेटेर बैठक राख्न आग्रह गर्ने निर्णय गर्न सक्थे, त्यसमा कुनै समस्या नै थिएन,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘तर स्थायी कमिटीको पछिल्लो बैठकले गरेका निर्णय कार्यान्वयन प्रक्रियामा देखिएको विवादको विषयलाई संस्थागत रुपमै अघि बढाउनका लागि यो प्रयास गरिएको हो।’

केहि दिनदेखि पार्टी कमिटीहरुमा बहुमतमा रहेका प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षले कमिटीहरुका बैठक राखेर सबै कुरा त्यहिँ छलफल गरेर निर्णय गर्न जोड दिइरहेका छन् भने ओली पक्षले अहिले त्यसो गर्न नसकिने बताउँदै आएको छ।

ओलीले एकता महाधिवेशनसम्म कमिटीमा बहुमत र अल्पमतको आधारमा निर्णय गर्न नसकिने बताएका छन्।

ओलीपक्षीय नेताहरुले पार्टी एकता गर्दा मुख्यतः दुई अध्यक्षबीचको सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने समझदारी भएअनुरुप गर्नुपर्ने अडान लिँदै आएका छन्।

तर अर्को पक्षले कम्युनिष्ट पार्टीमा कमिटी प्रणाली नै निर्णायक हुनुपर्ने तर्क गर्दै आएको छ।

वरिष्ठ नेता नेपालले शुक्रबार पनि सोहि कुरामै जोड दिए।

‘सबै समस्याको समाधान पार्टी कमिटीभित्रैबाट निस्कन्छ, बाहिरबाट निस्कँदैन। कमिटीमा छलफल गरेरै, त्यहिँबाट नै समाधान खोज्नुपर्छ,’ उनले बैठकपछि सञ्चारकर्मीसँग भने।

तर ओली पक्षले भने शुक्रबार पार्टी कार्यालयमा भएको बैठकलाई पनि खुमलटार वा कोटेश्वरमा हुने बैठककै निरन्तरताको रुपमा अर्थ्याएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबारको बैठक पनि यसअघि खुमलटार वा अन्य स्थानमा हुने गरेका भेटघाटकै निरन्तरता मात्रै भएको बताए।

नेकपाका बैठकहरु दुवै अध्यक्षको सहमतिमा मात्रै हुने प्रावधान रहेको बताउँदै थापाले भने, ‘विगतमा खुमलटार, अगेनो वा अन्य स्थानमा लाइक माइन्डेड (आफूसँग मिल्ने) नेताहरुबीच हुने गरेको छलफलकै निरन्तरता मात्रै हो।’

पार्टी जिम्मेवारी ननिभाएको आरोपको खण्डन
पछिल्लो समय प्रधानमन्त्री ओली पक्षले प्रचण्डलाई कार्यकारी अध्यक्षको रुपमा पार्टी सञ्चालनको उनको मुख्य जिम्मेवारीमा केन्द्रित हुनुको साटो सरकारका काम कारवाहीमा बढी चासो तथा हस्तक्षेप गरेको भनी लगाएको आरोपको खण्डन गर्नु बैठक राख्नुको अर्को रहेको प्रचण्ड पक्षको भनाइ छ।

‘केहि समययता ओलीनिकट नेताहरुबाट प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिएकोमा उहाँले सरकारको काममा बढि आँखा लगाएको आरोप लगाउने गरिएको छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘त्यसलाई जवाफ दिनका लागि केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक आयोजना गरिएको हो।’

उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले केहि दिनपहिले दिएको एक अन्तरवार्तामा प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष भएर पनि पार्टी सञ्चालनमा कुनै कुरामा पनि अगुवाइ गर्न नसकेको बताएका थिए।

पार्टी एकता भएको ‘तीन वर्ष बितिसक्दा यस अवधिमा उहाँले (प्रचण्डले) पार्टीका कुन कुन कुरामा लिड गर्नुभो त?’ भनी प्रश्न गरेका थिए।

हालैको एक छलफलमा प्रधानमन्त्री ओलीले समेत प्रचण्डलाई कार्यकारी अध्यक्ष भएको एक वर्ष हुन लागेको हुँदा पार्टीको कुन कुन विषयमा के कति काम भयो त भनी सोधेका थिए।

त्यही छलफलमा प्रचण्डले ओलीलाई आफूले सचिवालयका बैठक राखेर पार्टीका मामिला अघि बढाउने बताएका थिए।

तर प्रधानमन्त्री ओलीले आफ्नो सहमतिबिना सचिवालयको औपचारिक बैठक राखेमा त्यहि बैठक नै पार्टी विभाजनको सुरुवातको बिन्दु हुने चेतावनी दिएका थिए। त्यसपछि प्रचण्डले त्यसबारे छलफल गर्न अनौपचारिक बैठक बोलाउने जानकारी दिएका थिए।

‘बैठक बस्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोसम्म पनि सहमति दिनु भएन। अध्यक्ष ओलीले औपचारिक बैठक बस्नु भयो भने त्यहि नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर समेत भन्नु भएको कुरा आज अध्यक्ष कमरेडले जानकारी गराउनु भयो,’ बैठकपछि सञ्चारकर्मीहरुसँग नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यो पृष्ठभूमीमा अध्यक्ष प्रचण्डले कमरेड केपी ओली समेतको सहमतिमा अनौपचारिक बैठक आह्वान गर्नुभएको हो।’

प्रधानमन्त्री ओलीले बैठकमा आफू उपस्थित नहुने जानकारी प्रचण्डलाई बिहीबार नै दिएका थिए।

‘तर उहाँ (ओली)को समेत सहमतिमै आजको अनौपचारिक बैठक बसिएको हो,’ श्रेष्ठले भने।

ओलीनिकट केही नेताहरुले पनि अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीको पनि सहमति रहेको बताएका थिए।

सो अनौचापरिक बैठकमा प्रचण्डले सूचना गरेका मध्ये तीन सचिवालय सदस्यहरु अनुपस्थित रहेका थिए। ओलीपक्षीय उपप्रधानमन्त्री पोखरेल, महासचिव तथा अर्थमन्त्री पौडेल, गृहमन्त्री थापा रहेका बैठकमा आएनन्।

प्रवक्ता श्रेष्ठले तीनै जना नेताले व्यस्तता र अन्य बैठकको कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .