राजनीति


नेकपामा देखियाे अचम्मकाे संकेत, शीर्ष नेताहरुले गुहार माग्दा पार्टीपंक्ति प्रतिक्रियाशून्य

नेकपामा देखियाे अचम्मकाे संकेत, शीर्ष नेताहरुले गुहार माग्दा पार्टीपंक्ति प्रतिक्रियाशून्य

मणि दाहाल
कात्तिक १७, २०७७ सोमबार १६:५५,

नेकपामा पछिल्ला केहि दिन अचम्मका संकेतहरु देखिएका छन्।

पार्टीको अस्तित्व नै संकटमा पर्‍यो, फुट्नै लाग्यो र दुई अध्यक्षबीच पार्टी फुटाएर आआफ्नो बाटो लाग्नेसम्मको कुरा भयो भनी पार्टीको शीर्ष तहका एकपछि अर्का नेताले सार्वजनिक वक्तव्यहरु दिइरहेका छन्। दुवै पक्षबाट एकअर्काप्रति लक्षित जवाफहरु समेत आइरहेका छन्।

तर त्यसप्रति पार्टीको आमपंक्तिले कुनै चासाे देखाएकाे देखिँदैन। छिटै उत्तेजित हुने स्वभावका कार्यकर्ता समेत यसपटक प्रतिक्रियाशून्य देखिन्छन्।

यसअघि कुनै नेताले पार्टी विभाजनसम्बन्धी सांकेतिक अभिव्यक्ति दिँदा समेत छिट्टै तरंगित हुने नेकपाका सदस्यहरु अहिले किन प्रतिक्रियाविहीन बन्दैछन् भन्ने सर्वत्र चासो देखिएको छ।

शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ता र आइतबार बिहान भएको फोनवार्ता निकै कटुतापूर्ण भएको समाचार सार्वजनिक भए।

दुई अध्यक्षबीच अब एउटै पार्टीमा रहन नसकिने वार्तालाप भएको जानकारी नेताहरु मार्फत् नै सार्वजनिक भयो।

पार्टी विवादबारे कहिल्यै टिप्पणी गर्न नचाहने पार्टी महासचिव तथा अथमन्त्री विष्णु पौडेलले समेत आइतबार अपरान्ह मुख खाेले। उनले पार्टी नेतृत्वमा देखिएको मतभेदका कारण पार्टी गम्भीर संकटमा परेको बताए। पाैडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमै गम्भीर संकट उत्पन्न भएको भनी सामाजिक सञ्जालमार्फत् भनाइ सार्वजनिक गरे।

सोमबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेलले तत्कालीन नेकपा–एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता हुनुअघिका पूर्वसमूहकै आधारमा अहिले पार्टीभित्र समीकरण बनाएर खेलहरु खेलेका कारण नेकपा विभाजनको खतरा निम्तिएको बताए।

सोमबार नै त्यसलगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको बैठक पनि नराख्ने, बैठकको बहुमतले गरेका निर्णय पनि नस्वीकार्ने र कुनै निर्णय गरेमा त्यसविरुद्ध आफूले ‘महाएक्सन’ लिने भनेको बताए।

उनका अनुसार पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बरु अब पार्टी अलग अलग नै गरौं नै भनेका थिए।

यसरी, पार्टीका शीर्ष तहका नेताहरुले पार्टी एकीकृत रुपमा सञ्चालनमा रहन नै नसक्ने अवस्था रहेको गम्भीर धारणा व्यक्त गर्दा त्यसप्रति सर्वसाधारण त छाडौं पार्टीपंक्ति समेत कुनै वास्ता गरेकाे छैन।

नेकपाका केहि नेताहरुले पार्टीपंक्तिकाे याे वेवास्ताले गम्भीर चिन्ताजनक अवस्थाको संकेत गर्ने बताए भने अन्य केहि नेताले नेताहरुको भनाइलाई कसैले नपत्याएको बताए।

अहिले देखिएको विवादमा नेताहरुको व्यक्तिगत असन्तुष्टि मात्र झल्किएको हुँदा त्यसले पार्टीमा ठूलो क्षति हुने जोखिम कम रहेको केहि नेताहरुको बुझाइ छ।

तर पछिल्ला महिनाहरुमा शीर्ष नेताहरुबीच देखिएको निरन्तरको कलहले नेतृत्वप्रति पार्टीभित्रै र बाहिर पनि विश्वसनीयता गुम्ने उनीहरुले बताए। त्यसले गर्दा नेतृत्वको साख गिर्ने मात्र नभई पार्टी समेत कमजोर हुने तर विभाजनको अवस्थामा भने नजाने उनीहरुकाे निष्कर्ष छ।

भदौ अन्तिममा पार्टी स्थायी कमिटी र सचिवालय बैठकबाट सुल्झाइएको भनिएको नेकपाको आन्तरिक विवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि पुनर्जीवित भएको हो।

‘नेकपाभित्र असारमा देखिएको बिवाद जति गम्भीर थियो, त्यस्तो अहिले होइन। उतिबेला दुवै पक्षले विभिन्न गम्भीर कदमहरु चालेका थिए। त्यसले गर्दा पार्टी विभाजनको अवस्थामा पुगेको ठानिएको थियो,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘तर अहिले त्यस्तो अवस्था छैन। शीर्ष नेताहरुको किचलोलाई गम्भीररुपमा लिएका छैनौं।’

यसअघि दुवै पक्षले चालेका कदममध्ये सबैलाई झस्काउने गरी आएको पहिलो कदम थियो– प्रधानमन्त्रीद्वारा ल्याएको अध्यादेश। बैशाखमा प्रधानमन्त्री ओलीले दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याएका थिए।

सो अध्यादेश ल्याएपछि उनले पार्टीमा ४० प्रतिशतको समर्थन जुटाएर पार्टी फुटाउने भित्रि तयारी गरेको भनी नेकपाभित्र र बाहिर समेत खैलाबैला भएको थियो।

नेकपाका कार्यकर्ता केहि दिन यो के हुन लाग्यो भनी चिन्तित मुद्रामा भेटिन्थे।

त्यसविरुद्ध तत्काल २० स्थायी कमिटी सदस्यले पार्टी बैठकको माग गरे। बैशाखको दोस्रो साता भएको सचिवालय बैठकमा ओलीको अध्यक्ष तथा प्रधानमन्त्रीबाट राजीनामा माग गरिएको थियो।

दुई पटक स्थगित भएर नेकपाको स्थायी कमिटीको बैठक असारको दोस्रो सातामा बस्यो।

बैठक चल्दाचल्दै प्रधानमन्त्री ओलीले विदेशीको इशारामा आफूलाई हटाउन खोजेको र नेकपाकै नेताहरुसमेत त्यसमा सहभागी रहेको भनी सार्वजनिकरुपमा आरोप लगाए।

त्यसलगत्तै स्थायी कमिटीको बैठकमा दुवै पदबाट उनको राजिनामा माग गरियो। स्थायी कमिटीको बैठक चल्दाचल्दै प्रधानमन्त्री ओलीले संसद अधिवेशन स्थगित गरे।

त्यस समयमा प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री तथा अध्यक्षको राजीनामा माग गर्ने प्रस्ताव पारित गर्ने र त्यसको अनुमोदनका लागि एक सातामा केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको थियो।

तर दोस्रो पुस्ताका नेताहरुले हस्तक्षेप गर्दै सो प्रक्रियालाई रोकेका थिए।

त्यतिबेला दोस्रो तहका बिभिन्न नेताहरु र केन्द्रीय सदस्य र सांसदहरुका बिभिन्न समूहहरु समेत पार्टी विभाजनमा जाने खतरा भयो भनी त्यसलाई रोक्न बिभिन्न अभियान नै सुरु गरेका थिए।

निर्वाचन आयाेगमा नेकपा-एमाले पार्टी दर्ता गर्ने कदमले अर्काे खैलाबैला भएकाे थियाे।

त्यसैगरी, ओली पक्षकाे अनुपस्थितिमै प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक राखेपछि विवाद त्यतिबेला अर्काे गम्भीर माेडमा पुगेकाे थियाे।

‘तर अहिलेको किचलोलाई दोस्रो पुस्ताका नेताहरुले गम्भीरतापूर्वक लिएका छैनन्। त्यसैले पहल पनि गरेका छैनन्,’ एक स्थायी कमिटी सदस्यले भने।

आइतबार आफ्नो निवासमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकटका सचिवालय सदस्यहरुलाई प्रधानमन्त्री ओलीले विवाद गरेर बस्नुभन्दा सल्लाह नै गरेर आआफ्नो बाटो लाग्नु उपयुक्त हुन सुझाव दिएको बताएका छन्।

अर्काेतर्फ ओलीले पनि आफूनिकट नेताहरुलाई बालुवाटार बाेलाएर प्रचण्ड-नेपाल पक्षले आफूलाई हटाउने तयारी भित्रभित्र तिब्र पारेकाे र पार्टी पनि फूटाउने आधार तयार गरिरहेकाे बताउने गरेका छन्।

यसलाई दुवैतर्फका केहि नेताहरुले भने घुर्क्याईंको रुपमा लिएका छन्।

नेपालनिकट स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री ओली पक्षले आफू संकटमा परेपछि चलाएको हल्लाको रुपमा व्याख्या गरे।

ओलीनिकट गोकूल बाँस्कोटाले पनि यो कुनै गम्भीर संकट नभई लेनदेनको व्यापारिक स्वार्थमा अडेको एकता अर्को सम्झौतामा समाधान हुने बताएका छन्। उनले आइतबारदेखि सुरु भएको चर्चालाई ‘बेकारको हल्ला’ को संज्ञा दिए।

स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालले पनि नेताहरुको झगडाले निरन्तरता पाउँदा विषय जटिल बन्दै गएको भएपनि अहिलेका विवादका जुन विषय देखिएका छन् त्यसकै कारण पार्टी विभाजन हुने संभावना नरहेको बताए।

‘अहिलेको विवादको समाधान पनि बैठकबाटै हुने हो, समाधान गर्न सकिन्छ,’ भुसालले भने।

उनले पहिले नेताहरुबाट पार्टीमा समस्या भएको कुरा आउँदा कार्यकर्ताहरु एक अर्कोविरुद्ध आक्रामकरुपमा उत्रिने गरेकामा यसपटक त्यसो नभएको बताए।

‘अहिले त्यस्तो देखिदैन। यो झगडामा कार्यकर्ताहरुले पनि आफूहरुलाई अलि पर राखेको देखिन्छ,’ उनले भने।

यसपटक दुवै तर्फका नेताहरुले अर्को पक्षबाट पार्टी एकता गम्भीर संकटमा परेको भनी पार्टी पंक्तिको सहानुभूति र समर्थन जित्ने प्रयास गर्दा कार्यकर्ताले भने पटक्कै पत्याएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .