राजनीति


सिंहदरबार सुरक्षालाई १४ करोड, गेटमा भेइकल स्क्यानरदेखि बायोमेट्रिकसम्म

सिंहदरबार सुरक्षालाई १४ करोड, गेटमा भेइकल स्क्यानरदेखि बायोमेट्रिकसम्म

दीपक खरेल
साउन ९, २०७६ बिहिबार १३:११,

सिंहदरबार सुरक्षा सधैँ चर्चाको विषय हुने गर्छ, सिंहदरबारभित्र र बाहिर पनि। प्रधानमन्त्री कार्यालयसहित देशको प्रमुख प्रशासनिक केन्द्रभित्र हुने स–सना घटनाले समेत राष्ट्रिय चर्चा पाउनु स्वाभाविक नै हो।

यही सुरक्षा सम्वेदनशीलता बुझेर सरकारले सिंहदरबार सुरक्षा गुरुयोजना अघि सारेको छ।

संघीय सरकारको प्रमुख सचिवालय सुरक्षा सवालमा गुरु योजना (मास्टर प्लान) बनाएर अघि बढ्ने निर्णयमा सरकार पुगेको हो। गृहमन्त्रालयले तयार पारेको गुरु योजनामा अर्थ मन्त्रालयले समेत सहमति जनाएको छ।

सिंहदरबार सुरक्षा गुरुयोजनाको पहिलो वर्षका लागि १४ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ।

singha darbar south gateसिंहदरबार दक्षिण गेटमा सुरक्षा जाँच गरिँदै

तीनवटै गेट बनाइनेछ प्रविधिमैत्री
गृहकाअनुसार सिंहदरबार सुरक्षा गुरुयोजना अन्तर्गत पहिलो वर्ष तीनवटै गेटमा सुरक्षाकर्मीले गर्ने जाँच प्रविधिको जिम्मामा जानेछ। त्यसका लागि उपकरण खरिद गरिनेछ।

भेइकल स्क्यानर (मोटर गाडी एक्सरे), वाक थ्रु डोर र मेटल डिटेक्टर राखिनेछ। तीनवटै गेटलाई सुरक्षा जाँच प्रविधिमैत्री बनाइने गृहको योजना छ।

‘गुरु योजनाअनुसार यो वर्षदेखि काम सुरु भएको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी भन्छन्, ‘विकसित देशका मन्त्रालयमा प्रवेशद्वारमा अपनाइने सुरक्षा प्रणाली हामी पनि अपनाउँदैछौं। सुरक्षाकर्मीको सट्टा प्रविधि केन्द्रित सुरक्षा प्रणाली स्थापना गर्न गइरहेका छौं।’

गृहले सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा अहिले विद्यमान झन्झटिलो प्रक्रिया समेत सहज बनाउन काम गरिरहेको छ। नयाँ व्यवस्था लागू भइसकेपछि सिंहदरबार प्रवेश गर्न चाहने सर्वसाधारणले घरमै बसेर पासका लागि फारम भर्न पाउनेछन्।

‘सिंहदरबार प्रवेशको उद्देश्य र सम्बन्धित कागजपत्र पठाएपछि घरमै बसेको नागरिकलाई पास जारी हुन्छ,’ सहसचिव सुवेदी भन्छन्, ‘यसरी सुरक्षा विभागले जारी गरेको पासबाट सजिलै प्रवेश पाइनेछ। यसले अनावश्यक भिडभाड घट्ने अपेक्षा छ।’

गेटमा बायोमेट्रिक
सिंहदरबार गेटमा अत्याधुनिक बायोमेट्रिक प्रणाली जडान गर्ने सिंहदरबार सुरक्षा गुरु योजनामा उल्लेख छ। बायोमेट्रिकले पाँचैवटा औंलाको फिंगर प्रिन्ट, आँखासहित अनुहारको डिजिटल फोटो लिनेछ। यसरी एक पटक गेटमा बायोमेट्रिक रेकर्ड दर्ता भइसकेको व्यक्तिका लागि सिंहदरबार प्रवेशमा फेरि–फेरि बायोमेट्रिक दिइरहनु पर्ने छैन।

विशेष पास बाहक बाहेकका हकमा जुन मन्त्रालयको लागि पास जारी भएको हो त्यो बाहेक अन्य मन्त्रालयमा प्रवेश पाइने छैन। सिंहदरबार भित्र रहेका मन्त्रालयमा समेत सोही अनुसारको सुरक्षा प्रबन्ध गर्ने योजना गृहले बनाएको छ।

‘घरमै बसेर पास, बायोमेट्रिकसहितको डाटा र उद्देश्यपछि पास जारी गर्नेसम्मका योजनामा छौं,’ सुवेदीले भने, ‘यो वर्ष प्राविधिक सामाग्री खरिद प्रक्रिया सुरु हुन्छ।’

‘विश्वका विकसित देशका संघीय सरकारले अपनाउने सुरक्षा प्रबन्ध यहाँ लागू गर्न लागिएको हो,’ सहसचिव सुवेदीले नेपालखबरसँग भने, ‘प्रविधिको सहयोगमा सुरक्षाकर्मीले कोठामा बसेर ढोकाको सुरक्षा गर्न सक्नेछन्।’

हाल सिंहदरबार दक्षिण गेटमा प्रवेशका लागि मन्त्रालयले पास पठाएपछि सर्वसाधारणले नागरिकता देखाएर चिट पाउँछन्। यसरी पाएको चिटबाहक आगन्तुक सानो वाकथ्रु भएर भित्र प्रवेश गर्छन्। आगन्तुकका झोला ड्युटीमा खटिएका प्रहरीले चेकजाँच गर्छन। शरीर समेत प्रहरीले हातैले छामछुम गर्छन्।

सिंहदरबार प्रवेश गर्ने दुई पाङग्रे र चार पाङग्रेका हकमा समेत ड्युटीमा खटिएका प्रहरीले नै सुरक्षा जाँच गर्छन्। बेलाबखत ऐनासहितको डण्डाले हेर्ने गरिए पनि त्यो सधैँ हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .