राजनीति


शुक्रबारको नेकपा बैठकले देखाउँदैछ पार्टीकाे अबकाे झलक, यस्तो छ तीन पक्षको तयारी

शुक्रबारको नेकपा बैठकले देखाउँदैछ पार्टीकाे अबकाे झलक, यस्तो छ तीन पक्षको तयारी

मणि दाहाल
भदौ २२, २०७७ सोमबार १६:५७,

डेढ महिना लामो ब्रेकपछि शुक्रबार हुन लागेको स्थायी कमिटी बैठकको दृष्यले नेकपाको आन्तरिक विवाद व्यवस्थापन अब कसरी हुन्छ भन्ने संकेत गर्ने देखिएकाे छ।

महासचिव विष्णु पौडेलका अनुसार सो बैठकमा नेकपाका दुवै अध्यक्षले पार्टी सञ्चालनबारे प्रस्ताव प्रस्तुत गर्नेछन्।

‘स्थायी कमिटी बैठकलाई जति सकिन्छ चाँडै सम्पन्न गर्ने योजना छ। यो बैठक सुरु भएको धेरै लामो समय भइसक्यो। दुवै अध्यक्षले बैठकमा प्रस्ताव ल्याउनु हुनेछ,’ पौडेलले भने, ‘सचिवालयको बैठकले नै दुवै अध्यक्षले प्रस्ताव ल्याउने निर्णय गरेको हो। त्यसमाथि स्थायी कमिटीमा छलफल हुनेछ।’

विवाद समाधानमा सुझाव दिन गठित पौडेल नेतृत्वको छ–सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनकै आधारमा ती प्रस्तावहरु बैठकमा प्रस्तुत गरिनेछ।

त्यसबारे बैठकअघि दुवै अध्यक्षबीच छलफल हुनेछ। महासचिव पौडेलले स्थायी कमिटीको बैठकअघि सचिवालय बैठक भने नबस्ने बताए।

गत शनिबार महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग भएको छलफलमा पनि अध्यक्ष प्रचण्डले कार्यदलले आफ्नो प्रतिवेदनमा पार्टी सञ्चालनबारे कार्यकारी अध्यक्षको भूमिका प्रष्ट पार्न नसकेको औल्याएका थिए। उनले यस विषयमा थप व्याख्या आवश्यक भएको जानकारी गराएका थिए।

सोमबार प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच बालुवाटारमा भएको बैठकपछि शुक्रबार बैठक बोलाउने निर्णय भएको थियो।

बैशाखबाट सुरु भएको विवादमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एकातर्फ हुँदा ओली अल्पमतमा परेका थिए। अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरु समेत प्रचण्ड–नेपाल खेमामै रहेपछि ओली एकलौटीरुपमा अघि बढ्नबाट रोकिएका हुन्।

पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीले अब बाँकी विवादित विषयलाई महाधिवेशनबाट टुंगो लगाउन जोड दिनेछन्।

बैठकबाट कार्यकारी अध्यक्षको भूमिका थप स्पष्ट पार्नुपर्ने प्रचण्डको एउटा मुख्य जोड हुनेछ।

नेपाल खेमा भने बैठकमा आउने प्रस्ताव र दुवै अध्यक्षको भूमिका हेरेर आगामी रणनीति तय गर्ने अवस्थामा रहेको देखिएको छ।

ओलीलाई केहि राहत
स्थायी कमिटी बैठकमा जोडदार रुपमा उठेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको राजीनामा कार्यदल गठनसँगै टुंगिएको छ। त्यसले गर्दा आगामी दिनका बैठक सामना गर्न ओलीका लागि तुलनात्मक रुपमा सहज हुनेछ।

यसअघिका बैठकहरुमा स्थायी कमिटीका बहुमत सदस्यले नै ओलीबाट सरकार तथा पार्टी ठीकसँग सञ्चालन नभएको हुँदा राजीनामा दिनैपर्ने आवाज उठेको थियो।

कार्यदलको प्रतिवेदनमा सो विषय हटाई अन्य विषयहरु समेटिएको छ।

स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पार्टीभित्रको विवाद कार्यदलबाट धेरै हदसम्म हल भएको बताए।

‘कार्यदलले गरेका प्रस्तावहरु कार्यान्वयन हुन सुरु भइसकेको छ। साउन २६ गतेको स्थायी कमिटीको बैठकपछि पार्टी महाधिवेशनतर्फ होमिन्छ,’ मण्डलले भने।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टीको विवाद उत्कर्षमा पुगेको थियो।

बैठकका लागि सात वटा एजेण्डा तय गरिएको सो बैठकको सुरुका दुई दिन एजेण्डामा छलफल भएको थियो।

त्यसपछि स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए।

तर ओलीले दुवै पद नछाड्ने अडान लिएका थिए। साउन १४ मा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा बोल्दै आफूलाई हटाउन भारतीय संस्थापन लगायत बाह्य शक्ति समेत लागेको बताएपछि सो विषय झनै पेचिलो बनेको थियो।

त्यसपछि बैठकका बहसहरु ओलीको राजीनामामै केन्द्रित भएका थिए।

विवादका कारण बैठक पटक पटक स्थगित गरी सहमति जुटाउने कोशिस गरिएको थियो।

विवाद यतिसम्म बढ्यो कि अन्तिम पटक अर्थात साउन १३ को प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेको बैठक कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो।

प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्यले सो बैठक बहिस्कार गरेका थिए। सो बैठकबाट सहमति गर्नका लागि स्थगित गरिएको स्थायी कमिटी बल्ल शुक्रबार बस्न लागेको थियो।

त्यसपछिको लामो संवादहीनता तोड्दै दुई अध्यक्षबीच भएको छलफलबाट छ–सदस्यीय कार्यदल गठन गरिएको थियो। जसमा ओली, प्रचण्ड र नेपाल निकट २–२ जना सदस्य राखियो। त्यसलाई सचिवालय बैठकले अनुमोदन गर्‍यो।

नेता नेपालले पनि कार्यदलले अघि सारेको प्रस्तावमा बिभिन्न बुँदामा थप व्याख्या माग गरेका छन्। तत्कालका लागि उनी दुई अध्यक्षका आगामी कदमहरु कसरी अघि बढ्छन् त्यो हेर्ने पक्षमा छन्।

नेपालनिकट एक नेताले आफूहरु केही समय पर्ख र हेरको रणनीतिमा रहने बताए।

‘पार्टी विवाद असमान्य ढंगबाट लामो समयसम्म जाने भयो। अहिले जसरी नेताहरुको व्यवस्थापन गरेर मात्रै चलिहाल्छ भनेर समाधान गर्न खोजिएको छ। त्यसले दीर्घकालिन समाधान दिन सक्दैन,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘विधि र प्रक्रियाबाट समाधान नखोज्ने हो भने प्रधानमन्त्री ओलीको पुरै कार्यकाल व्यक्तिहरुको व्यवस्थापन गर्नमै बित्नेछ।’

नेपालनिकट नेता मनाउने ओली प्रयास
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीले नेपालनिकट केहि स्थायी कमिटी सदस्यलाई बालुवाटार बोलाएर एक्लाएक्लै भेटेका थिए। कार्यदल बन्नुअघि नै उनले भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टसँग छुट्टाछुट्टै भेट गरेका थिए।

शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष दाहाल र उनीनिकट नेताहरु कसरी प्रस्तुत हुन्छन त्यसले आगामी दिनको सहकार्य पनि निर्धारण हुने ती नेताले बताए।

‘ओली र प्रचण्ड मिलेर मात्रै पनि समस्या समाधान हुने अवस्था छैन,’ ती स्थायी कमिटी सदस्यले भने।

प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले भने पार्टी विभाजनलाई अहिलेलाई कार्यदलले टारे पनि बाँकी विषय कार्यदलको प्रतिवेदनको कार्यान्वयन कसरी हुन्छ, त्यसबाट निर्धारण हुने बताए।

‘अहिले पार्टी विभाजनको अवस्था टरेको छ। दुवै अध्यक्ष अहिले संवाद गर्न थाल्नु भएको छ,’ प्रचण्डनिकट स्थायी कमिटी सदस्यले भने, ‘कार्यदलको प्रतिवेदन कार्यान्वयन कुन ढंगबाट कसरी अगाडी बढ्छ त्यसले नै आगामी अवस्था निर्धारण गर्नेछ।’

ओलीनिकट स्थायी कमिटी सदस्य मण्डलले भने कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्दै जाने र बाँकी विषय महाधिवेशनबाट टुङ्गो लगाउनु पर्नेमै जोड दिए।

‘जस जसको जे जे आकांक्षाहरु छन् ती सबै महाधिवेशनले निर्णय गर्छ। त्यसैले साउन २६ को स्थायी कमिटी बैठकले नयाँ दिशा दिने छ,’ मण्डलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .