राजनीति


७० आसपासका नेताबीच ‘अन्तिम’ रस्साकस्सी

७० आसपासका नेताबीच ‘अन्तिम’ रस्साकस्सी

मणि दाहाल
साउन २२, २०७७ बिहिबार १६:३६,

बुधबार नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरेले फोटोसहित एउटा ट्विट गरे।

‘न्युजिल्यान्डकी वर्तमान प्रधानमन्त्री जेसिन्डा आर्डेनसँग सन् २००४ मा नेविसंघको तत्कालीन अध्यक्षको हैसियतमा, साथमा तत्कालीन नेविसंघ नेता गजेन्द्र कार्की र एक फिलिपिनी युवा नेता,’ घिमिरेले लेखेका थिए।

तीन वर्षअघि कम उमेरमै न्युजिल्यान्डको प्रधानमन्त्री भएर विश्वमै चर्चा कमाएकी आर्डेनको यो वर्ष फेरि वाहवाही भयो।

कोरोना महामारीलाई उदाहरणीयरुपमा नियन्त्रण गरेका कारण उनलाई अहिले विश्वमै सफल प्रधानमन्त्रीको रुपमा लिइन्छ। संसारका युवाबीच अहिले उनी सर्वाधिक लोकप्रिय छिन्।

सो फोटो मलेसियामा भएको युवासम्बन्धी एक कार्यक्रममा खिचिएको थियो।

घिमिरेको ट्विटलगत्तै योगेन्द्र कार्कीले उनलाई प्रश्न गरे– ‘आर्डेन प्रधानमन्त्री भइसकिन्, तपाईंहरु अझै पनि देउवा, पौडेल, सिटौला, कोइराला भन्दै पछि लाग्दै हुनुहुन्छ। अझै पनि अगागि बढ्ने हिम्मत गर्न सक्नुभएको छैन, यसरी कसरी राजनीति अगाडि बढ्ला?’

हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका घिमिरे पुस्ताका नेताहरुलाई धेरैले सोध्ने प्रश्न हो यो– युवा नेताहरु किन सधैँ वयोवृद्ध नेताहरुको रक्षाकवच बन्छन्? किन उनीहरु शीर्ष नेताकै छत्रछायामा रहन चाहन्छन्?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा यी दुई पार्टीमा अब आउने नेतृत्वबारे फेरि बहस सुरु भएको छ।

नेकपाको केन्द्रीय कमिटीले चैतको २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। विवाद बढ्दै जाँदा मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव पनि गरिएको छ।

कांग्रेसले पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १३ औं महाधिवेशन गर्ने कार्यतालिका नै सार्वजनिक गरेको छ।

कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएमा वा अन्य अप्रत्याशित परिस्थिति सिर्जना नभए यो वर्ष दुवै दलको महाधिवेशन टार्ने अवस्था छैन। संविधानले नै राजनीतिक दलको नेतृत्व प्रत्येक पाँच वर्षमा प्रतिनिधिहरुबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ।

तर, अहिलेको अवस्थामा कुनै नाटकीय परिवर्तन भएन भने आउने महाधिवेशनबाट यी दुवै दलको नेतृत्वमा ठूलो परिवर्तन हुने सम्भावना भने देखिँदैन।

अहिले दुवै दलको नेतृत्वमा ६५ वर्ष माथिका नेताहरुकै हालिमुहाली छ, जो करिब ३० वर्ष सरकार र पार्टीको नेतृत्वमा रहिसकेका छन्। र, आगामी महाधिवेशनबाट पनि तिनै नेता नेतृत्वमा कायम रहने सम्भावना बलियो छ। संभवतः यो नै आफ्नो राजनीतिक जीवनको अन्तिम कार्यकाल हुने ठानेर पनि होला, अहिले नेकपा र कांग्रेसमा नेतृत्व हत्याउने हानथाप झन् धेरै देखिएको छ।

हटाइयो कार्यकाल र उमेरहदको प्रावधान 
तत्कालीन नेकपा एमालेले नेतृत्व विधिबाटै सहज हस्तान्तरण होस् भनेर आठौँ र नवौँ महाधिवेशनमा केही नयाँ प्रावधान ल्यायो।

२०६५ सालमा भएको आठौं महाधिवेशनबाट कुनै पनि नेता एक पदमा दुई कार्यकाल मात्र रहन पाउने व्यवस्था गरेको एमालेले नवौं महाधिवेशनबाट ७० वर्ष पुगेपछि नेताहरु कार्यकारी पदमा नरहने व्यवस्था गरेको थियो।

सोही व्यवस्थालाई मानेर भरतमोहन अधिकारी र सिद्धिलाल सिंह नवौं महाधिवेशनपछि एमालेको सक्रिय नेतृत्वबाट बाहिरिए। तर, एमाले र माओवादी एकीकरण भई नेकपा बन्दा नवगठित पार्टीको विधानबाट सो व्यवस्था नै हटाइयो। ७० वर्षे उमेर हदको व्यवस्था राखे पनि त्यसप्रति शीर्ष नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका थिए।

तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमले आफूलाई नै पार्टी नेतृत्वबाट हटाउन सो व्यवस्था राखिएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

नेकपाको शीर्ष तहका नेताहरु सबै ७० वर्षकै वरपर छन्। केपी शर्मा ओली (६९), पुष्पकमल दाहाल प्रचण्ड (६६), झलनाथ खनाल (७१), माधवकुमार नेपाल (६८) र गौतम ७२ वर्षका भए।

उता प्रमुख प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेताहरु पनि त्यही उमेर समूहका छन्।

७४ वर्षे शेरबहादुर देउवालाई सभापतिमा चुनौती दिने अग्रपंक्तिमा रहेका रामचन्द्र पौडे उनीभन्दा २ वर्ष जेठा छन्।

त्यसैगरी देउवालाई चुनौती दिने कोसिसमा रहेका अर्का नेता शेखर कोइराला ७० वर्ष पुगिसके भने महामन्त्री शंशाक कोइराला ६२ वर्ष। अघिल्लो महाधिवेशनमै सभापति उम्मेदवार बनेका कृष्णप्रसाद सिटौला ७१ वर्षका भए।

नेपाली कांग्रेसमा पनि केन्द्रीय सदस्य तथा सांसद गगन थापालगायतका नेताले बेलाबखत उमेर हदको विषय उठाउँदै आएका छन्। थापाले २०७५ मंसिरमा भएको केन्द्रीय समिति बैठकमा पार्टीको कार्यकारी नेतृत्वमा ७० वर्षको उमेर हद तोक्नुपर्ने प्रस्ताव ल्याएका थिए।

त्यसबारे पार्टीमा कुनै औपचारिक छलफल हुन सकेको छैन।

जवाफदेहिताका आधारमा अवकास
थापा पछिल्लो समय पार्टीको नेतृत्व परिवर्तनका लागि उमेर हदमा केन्द्रित नभई यसबारे फरक ढंगले सोच्न सकिने उनी बताउँछन्। तर अवकासको कुनै विधि हुनैपर्ने उनको भनाइ छ।

नेतृत्वबाट नेताहरुको बहिर्गमनका लागि निश्चित पद्धति नहुँदा समस्या आएकोले केही न केही व्यवस्था हुनैपर्ने उनले बताए।

‘हामीकहाँ कस्तो अवस्थामा नेताहरु पार्टीबाट अवकास लिने भन्ने व्यवस्था नै छैन, त्यसले समस्या सिर्जना गरेको छ। त्यसैले बहिर्गमनको केही न केही पद्धति बसाउनै पर्छ,’ सांसद गगन थापाले भने।

उमेरको प्रावधान छाडेर जवाफदेहितालाई पनि नेतृत्वकाे अवकासको आधार बनाउन सकिने थापाको भनाइ छ।

‘पार्टीभित्र चुनाव हार्दा पनि नछाड्ने र आम चुनावमा पार्टीकाे लज्जाजनक पराजय भए पनि जिम्मेवारी नलिने कारणले समस्या आएको हो,’ उनले भने, ‘कुनै नेता पार्टीभित्र वा अन्य चुनावमा जाँदा कुनै एजेन्डा हुनुपर्‍यो र त्यो एजेन्डा अस्वीकृत भयो भने त्यो नेताले नेतृत्वमा पनि दाबी गर्नुभएन।’

थापाले नेपालमा शासन व्यवस्था बेलायती अपनाए पनि पार्टी पद्धति त्यसअनुसार भित्र्याउन नसकेको बताए।

‘बेलायतमा विपक्षी लेबर पार्टीमा ४० वर्षे नेतालाई हराएर ६८ वर्षका जेरोमी कोर्बिन दलका नेता भए। तर आम चुनावमा पार्टी हारेपछि पदबाट राजीनामा दिए,’ थापाले भने, ‘हामीले बेलायती शासन व्यवस्था भित्र्यायौं तर पार्टी पद्धति भने भित्र्याएनाैं,’ थापाले थपे, ‘त्यसले समस्या सिर्जना गरेको हो।’

कांग्रेसको आगामी सभापति हुने व्यक्तिले आफ्नो नेतृत्वमा चुनावमा बहुमत आए प्रधानमन्त्री बन्ने र नआए सभापतिबाट राजीनामा दिने घोषणा गर्नुपर्ने थापाले बताए।

सहज छैन नयाँ नेतृत्व आउन
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेकपा र कांग्रेस दुवै पुराना दल भएको र लामो समयदेखि गुट सक्रिय रहेकाले नेतृत्व परिवर्तन हुन नसक्ने तर्क गर्छन्।

‘त्यसैले दुईमध्ये कुनै पनि दलको नेतृत्व नयाँ पुस्तामा जाने सम्भावना देखिँदैन,’ उनले नेपालखबरसँग भने।

प्रमुख राजनीतिक दलहरुमा तलदेखि माथिसम्मको संरचनाले नै नयाँ नेतृत्व आउन नदिने गरेको उनको ठम्याइ छ।

‘केन्द्रका प्रभावशाली नेताले गुटका नेता बनाएका छन्। गुटअनुसारको महाधिवेशनमा प्रतिनिधि आउँछन्। तिनै प्रतिनिधिले केन्द्रका नेता चुन्छन्, अनि कसरी नयाँ नेता नेतृत्वमा आउँछ?’ आचार्यले भने।

कांग्रेसमा पार्टी नेतृत्वलाई सबैभन्दा बढी प्रश्न गरिरहेका थापा पनि नेतृत्व परिवर्तनमा पार्टीको संरचना मुख्य बाधक रहेको बताउँछन्। चुनाव हारेपनि तिनै नेताले पार्टीभित्र गुट शक्तिशाली बनाइरहने र पद ओगटिरहने हुँदा पुरानै नेतृत्व रहिरहेको उनले बताए।

थापा पार्टीमा सदस्यता खुला गरी सिमित महाधिवेशन प्रतिनिधिबाट नभई सबै क्रियाशील सदस्यबाटै केन्द्रीय नेतृत्व निर्वाचित गर्ने हो भने अहिलेको नेतृत्वको जाम हट्ने दाबी गर्छन्।

‘यो अवस्थामा परिवर्तन ल्याउन संरचनागत र नीतिगतरुपमै सुधार गर्नुपर्छ भनेर हामी लागेका छौं,’ थापाले भने, ‘महाधिवेशनमा नेतृत्वमा पनि हस्तक्षेप गर्ने गरी जाने विषयमा अहिले हामी छलफलमा छौं।’

कांग्रेस केन्द्रीय सदस्य घिमिरेले नेपालमा राजनीतिक संरचनाबाट सामन्ती व्यवस्था हटाए पनि व्यवहारमा भने अझै कायम रहेको बताए। पुरानो नेतृत्वले पार्टी सत्तामा रहन सम्भव सबै उपाय अपनाउने गरेको उनले दृष्टान्त दिए।

‘हाम्रोमा नेतृत्वले आफूलाई सत्तामा रहिरहन अनुकूल भएन भने संविधान वा पार्टीको विधान समेत परिवर्तन गरिदिन्छन्,’ उनले भने।

अन्तिम मौका
ठूला दलका शीर्ष नेतालाई आगामी महाधिवेशन नेतृत्वमा रहन अन्तिम मौका हुने धेरैको आकलन छ।

प्रमुख नेताहरुको उमेर, अहिलेको नेतृत्वप्रति युवाहरुमा बढ्दो वितृष्णा आदिका कारण याे नेतृत्वले अब धेरै समय राजनीति हाँक्न सक्ने देखिँदैन।

सरकारको नेतृत्व गर्ने सन्दर्भमा पनि सोही कुरा लागू हुन्छ। तसर्थ शीर्ष नेताहरुले अहिलेको महाधिवेशनमा अन्तिम शक्ति प्रयोग गर्ने संकेत देखाइसकेका छन्।

सक्रिय युवापुस्तालाई ठूला दलले आकर्षित गर्न नसक्दा अहिले सो पुस्ता स्वतन्त्र अभियानमा लागेको, विवेकशीलजस्ता नयाँ र साना राजनीतिक दलहरुमा संगठित भएको विश्लेषक आचार्यको ठहर छ।

ठूला दलमा एकातर्फ नयाँ पुस्ता नेतृत्वमा आउने सम्भावना कम रहेको र अर्कोतर्फ अहिलेकै नेतृत्व दोहोरिँदा उसले आउने पाँच वर्ष पनि समाजको नयाँ पुस्ताको असन्तुष्टिलाई थेग्न नसक्ने अवस्था रहेको आचार्यको विश्लेषण छ।

‘यतिका युवा बेरोजगार छन्। धेरै विदेशबाट फर्केका छन्। अहिलेको नेतृत्वले उनीहरुको आक्रोश र दबाबलाई अब केही वर्ष पनि थेग्न सक्ने अवस्था छैन,’ आचार्यले भने।

नेपालको जनसांख्यिक बनोटभन्दा पार्टी नेतृत्वको संरचना ठिक उल्टो छ। नेपालको कुल जनसंख्याको आधा हिस्सा २५ वर्षभन्दा कम उमेरको छ। तर, नेतृत्व भने सबै ७० र ८० को हाराहारीमा छन्।

नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले राजनीतिक परिवर्तनको एजेन्डामा सफल भएको अहिलेको नेतृत्वले नयाँ पुस्ताको सोच र आकांक्षालाई सम्बोधन गर्न नसक्ने हुँदा नेतृत्व हस्तान्तरण अपरिहार्य बन्दै गएको बताए।

अहिले आएर आपसी झगडामा रुमल्लिएको त्यो पुस्ताले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बेला भएको गैरेले बताए। नत्र भने ‘आफू पनि सकिने र पार्टी पनि सकाउने’ उनको भनाइ छ।

पहिलो पुस्ता मात्र होइन, दोस्रो पुस्ता समेत आफूलाई परिवर्तन नगरे असान्दर्भिक बन्ने घिमिरे बताउँछन्।

‘२०४८ सालयता सरकार र पार्टीको नेतृत्वमा बस्नेहरुले अब विदा लिनुपर्छ,’ उनले भने।

तर घिमिरे पनि महाधिवेशनबाट पुरानै पुस्ता दोहोरिने सम्भावना रहेको स्वीकार्छन्।

‘पहिलो पुस्ताका लागि यो अन्तिम अवसर हो, तर त्यो नेतृत्वले आउने पाँच वर्षको चुनौती सामना गर्न कठिन छ। सबै पुस्ताको प्रतिनिधित्व गर्ने गरी नेतृत्व छनोट गर्नुपर्छ,’ उनले भने, ‘यसरी छनोट गर्न सकेनन् भने पार्टी नेतृत्वमा आउन सके पनि समग्र समाजको चुनौती सामना गर्न सक्दैनन्।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले शक्ति छाड्न नचाहने पहिलो पुस्तामाथि नयाँ पुस्ताले हस्तक्षेप गर्न नसकेको तर्क गरे।

‘शीर्ष नेताहरुमा नमरुन्जेल नछाड्ने प्रवृत्ति रहँदै आएको छ,’ श्रेष्ठले भने, ‘दोस्रो पुस्ताले पनि उत्तराधिकारी बन्नु भन्दा हस्तक्षेपकारी भूमिका देखाउनु पर्नेमा त्यसो गर्न सकेको छैन।’

तत्कालीन नेकपा एमालेको सांगठनिक प्रतिवेदनमा पार्टीमा नयाँ पुस्ताको प्रवेश कम भएको र पुरानाको बहिर्गमन नहुँदा पार्टीको संरचना मादल जस्तो भएको भन्दै चिन्ता व्यक्त गरिएको थियो।

प्रतिनिधि नै बुढेसकाल लागेका
६ वर्षअघि काठमाडौंमा भएको तत्कालीन एमालेको नवौं महाधिवेशनमा पहिले नदेखिएको एउटा परिदृश्य देखियो।

महाधिवेशनका लागि देशभरबाट चुनिएर आएका प्रतिनिधिमध्ये अधिकांश पाका उमेरका थिए।

उनीहरुकै अवस्थालाई मध्यनजर गरी आयोजक समितिले झोलामा साबुन, रुमालसँगै चश्मा र स्वास्थ्यसम्बन्धी जानकारी पुस्तिका राखेर वितरण गर्‍यो।

प्रतिनिधिलाई राजनीतिक र सांगठनिक प्रतिवेदनहरु पढ्न गाह्रो भएपछि विशेष चश्माको व्यवस्था गरिएको थियो भने मधुमेह, उच्च रक्तचाप रोगीका लागि विशेष व्यवस्था गरिएको थियो।

ठूलो संख्यामा वृद्ध प्रतिनिधि देखिएपछि महाधिवेशनमा त्यसबारे व्यापक चर्चा भएको थियो।

कतिपय युवा उम्मेदवारहरुले त्यसबेला टिप्पणी गरेका थिए– ‘कैयौं दशक राजनीति गरेका यी पाका प्रतिनिधिले युवा उम्मेदवारलाई पदाधिकारीमा त के केन्द्रीय सदस्यका लागि पनि पत्याउँदैनन्।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .