राजनीति


चीनको स्पष्टीकरण: हल्लाले स्तब्ध छौँ, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति दृढ छौँ

चीनको स्पष्टीकरण: हल्लाले स्तब्ध छौँ, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति दृढ छौँ

नेपालका लागि चीनका राजदूत चाङ माओमिङ


नेपालखबर
जेठ ११, २०८३ सोमबार ९:२२, काठमाडौँ

चीनले नेपालका राजनीतिकर्मीविरुद्ध नकारात्मक समाचार बनाउन एक चिनियाँ नागरिकले नेपाली सञ्चारमाध्यमकै पत्रकारहरूलाई घुस दिने प्रयास गरेको हल्ला सामाजिक सञ्जालमा फैलिएको भन्दै यसलाई नपत्याउन नेपाली पक्षलाई आग्रह गरेको छ।

नेपालस्थित चिनियाँ दूतावासले प्रवक्ताका तर्फबाट विज्ञप्ति जारी गरी चीनको बदनाम गर्न गलत अफवाह फैलाइएको भन्दै कडा निन्दा गरेको हो। साथै यस विषयमा गहन अनुसन्धान गर्न नेपाली अधिकारीहरूलाई आग्रह पनि गरिएको छ।  

‘हल्लाबारे थाहा पाउँदा चिनियाँ पक्ष स्तब्ध भएको छ र स्पष्ट रूपमा त्यसलाई अस्वीकार गर्दछ। हामी चीनको जानाजानी बदनाम गर्ने यस्ता कार्यको कडा निन्दा गर्छौं। म जोड दिन चाहन्छु- चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गरिरहेको छ, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासलाई निरन्तर र दृढतापूर्वक समर्थन गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हल्लाबारे गम्भीर, गहन र पूर्ण अनुसन्धान गर्न र त्यसमा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति र तिनका पछाडि रहेकाहरूलाई नेपालको कानुनबमोजिम कडा सजाय दिन हामी सम्बन्धित नेपाली अधिकारीलाई आग्रह गर्दछौँ। दुई देशको साझा हित रक्षाका निम्ति हामी नेपाली पक्षसँग कानुन प्रवर्तन र सुरक्षा सहयोगलाई सुदृढ पार्न तयार छौँ।’

चिनियाँ दूतावासका प्रवक्ता भनाइ भनी अगाडि लेखिएको छ, ‘तर्क र बुद्धिले अफवाहको अन्त्य गरौँ। हामीलाई विश्वास छ- सबै नेपाली साथीले सही र गलत छुट्याउनु हुनेछ र चीन र नेपालबिचको परम्परागत मित्रता र सहयोगलाई प्रवर्द्धन गर्न योगदान पुर्‍याउन हामीसँग मिलेर काम गर्नुहुनेछ।’

वक्तव्य जस्ताको तस्तै

प्रश्न: हालै नेपालमा सामाजिक सञ्जालमा एक चिनियाँ नागरिकले नेपाली राजनीतिकर्मीका बारेमा नकारात्मक रिपोर्ट बनाउन नेपाली मिडियाका धेरै पत्रकारलाई घुस दिने प्रयास गरेको हल्ला फैलिएको छ। हल्ला सत्य हो त? यस विषयमा तपाईंको धारणा के छ?

उत्तर: तपाईंले उल्लेख गरेको हल्लाबारे थाहा पाउँदा चिनियाँ पक्ष स्तब्ध भएको छ र स्पष्ट रूपमा त्यसलाई अस्वीकार गर्दछ। हामी चीनको जानाजानी बदनाम गर्ने यस्ता कार्यको कडा निन्दा गर्छौं। म जोड दिन चाहन्छु- कि चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गरिरहेको छ, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासलाई निरन्तर र दृढतापूर्वक समर्थन गरिरहेको छ। र, नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास र जनताको जीविकोपार्जन सुधारमा सक्रिय रूपमा समर्थन गरिरहेको छ। तपाईंले उल्लेख गरेको हल्लाबारे गम्भीर, गहन र पूर्ण अनुसन्धान गर्न र त्यसमा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति र तिनका पछाडि रहेकाहरूलाई नेपालको कानुनबमोजिम कडा सजाय दिन हामी सम्बन्धित नेपाली अधिकारीलाई आग्रह गर्दछौँ। दुई देशको साझा हित रक्षाका निम्ति हामी नेपाली पक्षसँग कानुन प्रवर्तन र सुरक्षा सहयोगलाई सुदृढ पार्न तयार छौँ।

तर्क र बुद्धिले अफवाहको अन्त्य गरौँ। हामीलाई विश्वास छ- सबै नेपाली साथीले सही र गलत छुट्याउनु हुनेछ र चीन र नेपालबिचको परम्परागत मित्रता र सहयोगलाई प्रवर्द्धन गर्न योगदान पुर्‍याउन हामीसँग मिलेर काम गर्नुहुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad