राजनीति


पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

कार्यसम्पादन समिति बैठक पनि आजै, क्रियाशील सदस्यता र दल नेता चयन मुख्य एजेन्डा
पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का


नेपालखबर
बैशाख २, २०८३ बुधबार ९:४०, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (बुधबार) बस्दै छ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

केन्द्रीय कार्यसम्पादन समितिको बैठमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्य सहभागी हुने छन्।

बैठकका मुख्य एजेन्डामा पार्टीको क्रियाशील सदस्यता अद्यावधिक र संसदीय दलको नेता चयन छन्। 

कांग्रेसले वैशाख १ गतेदेखि सदस्यता अद्यावधिक अभियान सुरु गरेको छ भने वैशाख ४ गते संसदीय दल नेता चयन गर्ने तयारी गरेको छ।

निर्वाचन समितिले आज संसदीय दलको नेता चयनका लागि निर्वाचनको कार्यतालिका ल्याउने छ।

कार्यसम्पादनअघि केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दै छ।

बिहान ११ बस्ने अनुशासन समिति बैठकमा गत निर्वाचनको अन्तर्घातको उजुरी र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समानन्तर गतिविधिमाथि छलफल हुनेछ।

अनुशासन समितिका संयोजक तारामान गुरुङले आजको बैठकले खड्कालाई कारबाही गर्ने संकेत गरेका छन्।

उनले भने, ‘पार्टीको मर्यादा र अनुशासन उल्लंघन भएको विषयमा निर्णय हुन्छ। अहिले धेरै कुरा केही छैन। बैठकले आवश्यक निर्णय लिन्छ।’

गत चैत १४ मा कार्यवाहक सभापतिका रूपमा विज्ञप्ति निकालेपछि खड्कालाई कांग्रेसको अनुशासन समितिले त्यसो नगर्न सचेत गराएको थियो।

आगामी दिनमा उक्त गतिविधि जारी राखे खड्कालाई स्पष्टीकरण माग्नेदेखि क्रियाशील सदस्यता नवीकरण नगर्नेसम्म चेतावनी दिइएको थियो।

खड्काले चैत ३० मा क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियानमा प्रश्न उठाउँदै कार्यवाहक सभापतिकै रूपमा विज्ञप्ति जारी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad