निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन्।
गोरखापत्र संस्थानद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गरे।
निर्वाचनको विकल्प निर्वाचन नै भएको उनको भनाइ छ। केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेको उनको आरोप छ।
‘निर्वाचनको विकल्प निर्वाचन नै हो’ भण्डारीले भने, ‘केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन्। २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ।’
सञ्चार जगत र आयोगः एउटै सिक्काका दुई पाटा
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोग र सञ्चार जगतलाई एउटै सिक्काका दुई पाटाको रूपमा चित्रण गरे। आयोगले निर्वाचनको व्यवस्थापकीय पाटो हेर्ने भएपनि निर्वाचनको माहोल सिर्जना गर्ने र मतदातालाई सुसूचित गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीको रहेको उनको भनाइ थियो।
उनले भने, ‘तपाईंहरूले सिर्जना गरिदिएको माहोल र मलजलका कारण नै आज निर्वाचनको वातावरण यो अवस्थासम्म आइपुगेको हो।’
मत सर्वेक्षणमा प्रतिवन्ध र आचारसंहिता
‘संविधानको अधिकारको नाममा निर्वाचनको निष्ठामाथि खेलबाड गर्न पाइँदैन’ उनले चेतावनी दिँदै भने, ‘मत सर्वेक्षणले हार्ने उम्मेदवारलाई जित्ने र जित्नेलाई हार्ने देखाएर मतदातामा भ्रम छर्नसक्छ, जुन समुच्च निर्वाचन प्रक्रियाकै लागि घातक हुन्छ।’
युवा मतदाताको उत्साह र सुशासनको आशा
यस पटकको निर्वाचनमा ९ देखि १० लाख नयाँ मतदाता थपिनुलाई उनले सकारात्मक परिवर्तनको रूपमा लिनुपर्ने बताए। थपिएका मतदातामा युवाहरूको बाहुल्यता रहेको र उनीहरू सुशासनको खोजीमा निर्वाचन प्रक्रियामा सहभागी हुन उत्सुक रहेको उनको विश्लेषण छ।
‘युवाहरूको यो जोस र उत्साहले नेपालमा सुशासन प्रवाह गर्ने मार्ग प्रशस्त गर्नेछ’ उनले भने।
पर्यवेक्षकमाथि ‘तेस्रो आँखा’ को निगरानी
निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएका स्वदेशी तथा विदेशी संस्थाहरूले आफ्नो सीमाभित्र रहेर काम गर्नुपर्नेमा उनले जोड दिए। विगतमा केही संस्थाहरूले निश्चित मत चिन्हमा भोट हाल्न प्रचार गरेको तितो अनुभव सुनाउँदै उनले सञ्चारकर्मीहरूलाई पर्यवेक्षकका गतिविधिमाथि पनि ‘तेस्रो आँखा’ को रूपमा निगरानी राख्न आग्रह गरे।
मुलुकलाई लयमा फर्काउने कडी
राजनीतिक विद्रोह र प्रतिनिधि सभा विघटनपछिको जटिल परिस्थितिमा हुन लागेको यो निर्वाचनले मुलुकको भड्किएको अनुशासनलाई लयमा ल्याउने भण्डारीले विश्वास व्यक्त गरे।
उनले भने, ‘यो शताब्दीकै पेचिलो निर्वाचन भएपनि हामीले यसलाई सरल बनाइसकेका छौँ। निर्वाचनपछि आउने प्रतिनिधिहरूले जनमतको कदर गर्दै मुलुकमा शान्ति र सुशासन कायम गर्नेछन्।’
उनले निर्वाचन सम्पन्न गर्ने ‘पवित्र यज्ञ’ मा सबै सरोकारवाला, राजनीतिक दल, उम्मेदवार र मतदातालाई जिम्मेवार भएर प्रश्तुत हुन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल गरे।
Shares

प्रतिक्रिया