प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको वाचापत्रमा विभिन्न सय वटा वाचा गरिएका छन्।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभामा सार्वजनिक गरिएको वाचापत्रमा रास्वपाले देश रुपान्तरणका लागि सय वटा आधार अघि सारेको छ। रास्वपाले चुनावी घोषणापत्रलाई वाचापत्र भनेको छ।
वाचापत्रको पहिलो बुँदामा दलित समुदायसँग क्षमायाचना गर्ने वाचा गरिएको छ। ‘ऐतिहासिक यथार्थलाई आत्मसाथ गर्दै नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमै दलित तथा पीछडिएका समुदायहरूमाथि भएका जातीय विभेद्, अन्याय र बहिष्करणप्रति नेपाल राज्यको तर्फबाट औपचारिक रुपमा क्षमायाचना गर्छौं,’ रास्वपाले भनेको छ।
रास्वपाले जेनजी आन्दोलनको छानबिन आयोगले दिने प्रतिवेदन कार्यान्वयन गर्ने वाचा गरेको छ। यस्तै, २०४६ सालदेखि महत्त्वपूर्ण सार्वजकि पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने रास्वपाको वाचापत्रमा उल्लेख छ।
रास्वपाको सरकार बनेपछि राज्यका निकायमा बसेका व्यक्तिले कुनै पनि पार्टीमा आवद्ध हुनु नपाउने व्यवस्था गर्ने जनाएको छ। रास्वपाले भनेको छ, ‘राज्यका विभिन्न निकायहरू कर्मचारीतन्त, शिक्षण सेवा, प्राध्यापन, सुरक्षा निकाय, अदालत तथा संवैधानिक अंगहरू लगायत राज्यको सेवा सुविधा उपभोग गर्ने सबैको दलिय आवद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्छौँ।’
यस्तै, सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन खारेज गर्ने वाचा गरिएको छ। रास्वपाले सरकारमा आएपछि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने वाचा गरेको छ।
‘सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे बहसपत्र तयार गर्नेछौं,’ रास्वपाले भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रारम्भिक छलफलका लागि पेश हुने विषयमा निम्न अवधारणा न्यूनतम पर्नेछन्ः प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संस्द्, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरुप।’
Shares

प्रतिक्रिया