राजनीति


विष्णु पौडेलको चुनावी मन्त्र: 'अरूलाई गाली नगरौँ, आफ्ना काम मात्र बुझाऔँ'

विष्णु पौडेलको चुनावी मन्त्र: 'अरूलाई गाली नगरौँ, आफ्ना काम मात्र बुझाऔँ'

रुपन्देही


नेपालखबर
फागुन १, २०८२ शुक्रबार १२:४०, काठमाडौँ

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेसँगै मुख्य प्रतिस्पर्धीहरूका बीचमा सालीन प्रचार शैली देखिएको छ। नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद पौडेलसहित अन्य राजनीतिक दलका उम्मेदवारहरूले एक–अर्काको आलोचना गर्नुभन्दा आफ्ना एजेन्डा र विकासका योजनालाई प्राथमिकता दिँदै घरदैलो तीव्र पारेका हुन्।

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेलले चुनावी भेटघाट र छलफलमा आफूले यस क्षेत्रमा गरेका विगतका काम र आगामी समृद्धिको खाकालाई मुख्य चुनावी मुद्दा बनाएका छन्।

प्रचारका क्रममा पौडेलले भने, “चुनावका बेला अन्यलाई गाली गर्ने, आलोचना गरेर हाम्रो समाजको भावनात्मक सम्बन्ध बिगार्नु भन्दा हामीले यस क्षेत्रको विकासका लागि विगतमा गरेका काम जनतालाई बुझाउन सके मात्र पर्याप्त हुन्छ। त्यसैले अरुको आलोचना भन्दा जनता माझ हामीले विगतमा गरेका काम र आगामी दिनमा यहाँको विकास र समृद्धिका लागि गर्ने योजनाका बारेमा जनतालाई बुझाउँदा पुग्छ।”

यस क्षेत्रबाट २०६४ यताका चारवटा निर्वाचन लगातार जित्दै आएका पौडेल यसपटक पनि आफ्नो बलियो विरासत जोगाउने दाउमा छन्। उनीसँगै मैदानमा रहेका अन्य प्रतिस्पर्धीहरूले पनि भद्र शैलीमै प्रचार गरिरहेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल व्यावसायिक पृष्ठभूमिबाट आएकाले उनले शिक्षा, स्वास्थ्य र लगानीमैत्री कानुनको एजेन्डा अघि सारेका छन्। उनले आफूलाई सामाजिक क्षेत्रको अभियन्ताका रूपमा प्रस्तुत गर्दै राजनीतिलाई सेवाका रूपमा लैजाने प्रतिबद्धता जनाएका छन्।

निर्वाचनमा नयाँ पुस्ताको चुनौती पनि उत्तिकै छ। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट २२ वर्षपछि बाबुको विरासत पछ्याउँदै चुनावी मैदानमा उत्रिएका युवा नेता सुरज पाण्डे ‘जेनजी’ समूहको भावना र पाका नेताहरूको अनुभवलाई जोडेर अघि बढ्ने दाबी गर्छन्। उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिवक्ता सुलभ खरेल र नेपाल जनसेवा पार्टीका डा. कमल भुसाल(९निकोलस)ले सुशासन र भ्रष्टाचार निवारणलाई मुख्य मुद्दा बनाएका छन्।

१९ दल र २० स्वतन्त्र गरी ३९ जना उम्मेदवार रहेको यस क्षेत्रमा १ लाख ३५ हजार ५० मतदाता छन्। निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार अनुभवी उम्मेदवार र सचेत मतदाता भएका कारण यस क्षेत्रमा हालसम्म आचारसंहिता उल्लंघनका गम्भीर गुनासो आएका छैनन्। एमाले र कांग्रेसको परम्परागत मतसँगै नयाँ थपिएका र बसाइँ सरेर आएका मतदाताको झुकाव नै यसपटकको जित–हारको निर्णायक कडी बन्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad