ad ad

राजनीति


वामदेव निकट नेताहरू नै भन्छन्- प्रधानमन्त्री बनाउने प्रस्तावमा शंकैशंका छ

वामदेव निकट नेताहरू नै भन्छन्- प्रधानमन्त्री बनाउने प्रस्तावमा शंकैशंका छ

मणि दाहाल
बैशाख १८, २०७७ बिहिबार ११:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु हट्नु परेको अवस्थामा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावप्रति नेकपा सचिवालयका सदस्यहरूसँगै स्वयं गौतम निकट नेताहरूले पनि शंका गरेका छन्।

सांसद नरहेका गौतमलाई ओलीले प्रधानमन्त्री ने बनाउने प्रस्ताव गर्दा बुधबार सचिवालय सदस्यहरू नै चकित भएका थिए। यसअघि कुनै ठाउँमा उपचुनाव गराएर प्रतिनिधिसभामा ल्याउने वा राष्ट्रिय सभामा लैजाने प्रस्ताव अस्वीकार गर्दै आएका ओलीले अप्रत्यासित रुपमा प्रधानमन्त्रीको प्रस्ताव गर्दा विश्वास गर्न कठिन भएको हो।

आफुलाई प्रधानमन्त्रीको प्रस्ताव आएकोमा गौतमले सचिवालय बैठक र शीर्ष नेतृत्व तहमा बाहेक सार्वजनिक रुपमा मुख खोलेका छैनन्। गौतम निकटस्थहरु चाहिँ सो प्रस्तावप्रति विश्वस्त भइहाल्न नसकिने बताउँछन्।

बुधबार साँझको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा मागिएपछि प्रत्युत्तरमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। यस विषयमा शनिबार बस्ने सचिवालयको बैठकमा थप छलफल गर्ने बताइएको छ।

गौतम निकट नेकपाका नेताहरूमध्ये एक हुन्, राष्ट्रियसभाका सांसद तथा केन्द्रीय सदस्य बलराम बाँस्कोटा। गौतमलाई यसअघि पनि पटक पटक झुक्याइएको कारण नयाँ प्रस्तावमा पनि विश्वस्त हुन नसकिने उनको भनाइ छ।

‘वामदेवलाई यसअघि पनि पटक पटक झुक्याइएको छ। त्यसैले प्रधानमन्त्रीको प्रस्ताव कति वास्तविक हो भन्ने प्रश्न छ,’ बाँस्कोटाले भने, ‘गौतम अहिले प्रतिनिधिसभा वा राष्ट्रियसभाको सांसद हुनुहुन्न। यो प्रस्ताव साँच्चै कार्यान्वयन गर्ने हिसाबले ल्याइएको हो भन्नेमा शंकैशंका छ।’

बाँस्कोटाका अनुसार गौतमका लागि प्रधानमन्त्री बन्न पहिला सांसद कसरी हुने भन्ने स्पष्ट खाका चाहिन्छ।

‘यो साँच्चिकै कार्यान्वयन गर्ने उद्देश्यसहित ल्याएको प्रस्ताव हो भने स्वागतयोग्य छ,’ बाँस्कोटाले भने।

२०७४ मा भएको आमनिर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमले यसपाली पनि प्रतिनिधिसभा पुग्ने पटक पटक कोसिस गरेका थिए। आफू निकट सांसदलाई राजिनामा गराएर उपनिर्वाचनबाट संसद पुग्न खोजेका गौतमलाई प्रधानमन्त्रीको नेतृत्वमा रोकिएको उनको गुनासो छ।

गौतमले पार्टी नेताहरुको निर्देशनमा आफूमाथि अन्तरघात गराएर चुनावमा पराजित गरिएको आरोप लगाउने गरेका छन्।

‘यो प्रस्ताव गम्भीरतापूर्वक आएको हो कि होइन निश्चित छैन। सांसद नभएको व्यक्तिलाई प्रधानमन्त्रीसम्म बनाउने खाका के हो, त्यो स्पष्ट हुनुपर्छ,’ गौतम निकट अर्का नेता केशवलाल श्रेष्ठले भने, ‘राष्ट्रिय सभामा लैजाने पार्टीको पहिलेको निर्णय नै कार्यान्वयन भएको छैन।’

यसअघि राष्ट्रपतिद्वारा मनोनित राष्ट्रिय सभा सांसद युवराज खतिवडाको कार्यकाल गत फागुनमा सकिएका बेला सोहि स्थानमा गौतमलाई सिफारिश गर्न भनी अन्य नेताहरुले गरेको प्रस्ताव ओलीले रोकेका थिए।

सो पदमा ओलीले अर्थमन्त्री समेत रहेका खतिवडालाई नै निरन्तरता दिन चाहेका छन्।

श्रेष्ठले गौतमलाई प्रधानमन्त्री प्रस्ताव गर्नेहरुले उनलाई कसरी त्यो पदमा पुर्याउने भन्ने एउटा स्पष्ट खाकामा सहमति गर्नुपर्ने बताए।

‘प्रधानमन्त्री बनाउने हो भने त्यस विषयमा तत्काल औपचारिक निर्णय गर्न नसकिए भद्र सहमति हुनुपर्छ,’ श्रेष्ठले भने।

यसअघि गौतमलाई राष्ट्रिय सभामा लाने प्रस्ताव नै रोकिएको र अर्कोतर्फ अहिलेको संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्य मात्रै प्रधानमन्त्री हुन पाउने भएकोले प्रस्तावबाट उत्साहित हुन नसकेको गौतमनिकट नेताहरुको भनाइ छ।

राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने भन्दै त्यसका लागि माधवकुमार नेपालको नेतृत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सहितको कार्यदल नै बनाइएको थियो।

तर कुनै एक व्यक्तिलाई लक्षित गर्दै संविधान संशोधन गर्न लागिएको भन्दै व्यापक आलोचना भएपछि सो कार्यदल त्यत्तिकै विघटन गरिएको थियो। त्यो प्रक्रिया त्यसपछि अघि बढ्न सकेन।

संविधान संशोधनका लागि दुई तिहाइको संख्या आवश्यक पर्छ। जुन सत्तारुढ दल नेकपासँग छैन।

प्रतिनिधिसभामा पुग्नका लागि उपनिर्वाचन अर्को बाटो हो।

रिक्त रहेको कुनै पनि प्रतिनिधिसभा सदस्यका लागि ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

दोस्रो संविधानसभाको संसदीय दलको नेता र नवौैं महाधिवेशनको अध्यक्षमा ओलीलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेका गौतमको पछिल्लो समयमा अध्यक्ष ओलीसँग दूरी बढ्दै गएको थियो।

केहि महिनायता गौतमको भैंसेपाटीस्थित निवास नै ओलीप्रति असन्तुष्ट नेताहरुको जमघट गर्ने प्रमुख थलो हुँदै आएको छ।

ओलीले बुधबार सचिवालय बैठकअघि प्रधानमन्त्री कार्यालय बालुवाटारमा आफूनिकट सांसदहरुको भेला गरी आफ्नो पक्षमा बलियो समर्थन रहेको देखाउने प्रयास गरेका थिए। जहाँ गौतमपत्नी तुल्सी थापा समेत देखिएकोमा त्यसलाई अर्थपूर्ण रुपमा चर्चा गरिएको थियो।

सो भेलामा संसदीय दलका नेताको रुपमा ओलीप्रति समर्थन रहेको भन्दै हस्ताक्षर समेत गराइएको बताइएको थियो। थापाले भने हस्ताक्षर नगरेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .