राजनीति


विद्या-ईश्वर समूहले बदल्यो रणनीति : ओली पक्षका नेता तान्न तत्काल प्यानल घोषणा नगर्ने

विष्णु पौडेल, पृथ्वीसुब्बा र रघुवीरमा नजर, महाधिवेशन प्रतिनिधिसँग छलफलको तयारीमा विद्या
विद्या-ईश्वर समूहले बदल्यो रणनीति : ओली पक्षका नेता तान्न तत्काल प्यानल घोषणा नगर्ने

सागर न्यौपाने
मंसिर १४, २०८२ आइतबार २२:२८, काठमाडौँ

नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने घोाषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्काल प्यानल नबनाउने भएका छन्।

मंसिर पहिलो साता केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका उनले बाँकी १४ जना पदाधिकारीका उम्मेदवार पनि बनाएर महाधिवेशन प्रतिनिधिसम्म पुग्ने योजना अघि सारेका थिए। 

मंसिर १३ गते विवादका बीच कतै मतदान त कतै सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भइसकेको छ। तर, अझैसम्म केन्द्रमा प्रतिनिधिको अन्तिम विवरण आइसकेको छैन। 

अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणले विद्या–ईश्वर तत्काल पदाधिकारी समूह निर्माण नगर्ने निचोडमा पुगेको निकटस्थहरू बताउँछन्। ओली तेस्रो कार्यकाल अध्यक्ष बन्नु हुँदैन भन्दै आएको यो समूहले प्रतिनिधि चयनपछि रणनीति बदल्नुपर्ने निष्कर्ष निकालेको उनीहरूको भनाइ छ। 

‘अहिले टिम बनाउनु हुँदैन, ओली समूहमा खुल्ने नेताहरू प्रष्ट भएपछि मात्र यताबाट बन्छ, अहिले त हामी पर्ख र हेरको अवस्थामा छौँ,’ पोखरेल निकट एक नेता भन्छन्।

भदौ २०–२२ ललितपुरमा भएको विधान महाधिवेशनले एमालेको पदाधिकारी संख्या १९ जनाबाट १५ जनामा झारेको छ। यस्तै, स्थायी कमिटीको संरचना हटाइएको छ, केन्द्रीय कमिटी २५० मा सीमित गरिएको छ। 

यस्तो अवस्थामा एमालेको केन्द्रीय सदस्यदेखि पदाधिकारी बन्न चाहने संख्या अधिक छ। फेरि अध्यक्ष उठ्ने निश्चित भए पनि ओलीले कसकसलाई पदाधिकारी बनाउँछन्, टुंगो छैन। 

यद्यपि, आफूलाई संकट पर्दा साथ दिएका नेतालाई ओलीले जिम्मेवारी दिने गरेका छन्। यसपटक पनि भानुभक्त ढकाल, खगराज अधिकारी, हिक्मत कार्की, महेश बस्नेत लगायत केही नेतालाई ओलीले पदाधिकारीमा समेट्ने निकट नेताहरू बताउँछन्। कतिपय पुरानै नेतालाई दोहोर्‍याउने संकेत पनि ओलीले दिइसकेका छन्।

ओली समूहका स्थायी कमिटी र पोलिटब्युरोमा लामो समय रहेका नेता बढुवाको पर्खाइमा छन्। तर, सबैले जिम्मेवारी पाउने सम्भावना छैन।

त्यही भएर महाधिवेशन प्रतिनिधिको हिसाब गरेर मात्र होइन, ओलीको समूह गठन भएपछि मात्रै विद्या–ईश्वर समूहले उम्मेदवार बनाउने निर्णय गर्ने सो समूहका नेताले बताए। 

यो समूहमा अहिलेसम्म ६ जना पदाधिकारी प्रस्ट रुपमा खुलेका छन्। तिनै नेताबाट पदाधिकारी बनाउन समस्या छैन। तर, ओलीतिर रहेका नेता तानेर पदाधिकारी बनाई महाधिवेशनको नतिजा उल्टाउने कोसिस यो समूहले गर्दैछ। 

‘उताको बनिसकेपछि यताको बन्छ,’ ती नेताले भने, ‘संस्थापन पक्षलाई नेता मिलाउन सधैँ दबाब हुन्छ, पदाधिकारीमा नसमेटिएकाहरू रिसाउने सम्भावना हुन्छ। एउटा उद्देश्य लिएर बन्ने अर्काे समूहमा त्याग गर्नेहरू हुन्छन्।’

महाधिवेशन प्रतिनिधिको माहोल प्रस्ट भएपछि मात्र अन्य नेतालाई सार्वजनिक गराउनुपर्ने सुझाव आएपछि यो समूह कम्तीमा मंसिर २२ सम्म कुर्ने मनस्थितिमा पुगेको छ। 

सक्रिय हुँदै विद्या 
साउन पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकबाट एमालेमा नवीकरण भइसकेको सदस्यता रोक्ने निर्णय गराएपछि पूर्वराष्ट्रपति विद्या भण्डारी ओलीसँग रुष्ट छिन्। 

उनलाई राजनीतिमा ल्याउन मरिमेटेर लागेका नेताहरूले सदस्यता नवीकरण रोक्ने निर्णय फिर्ता लिन जोडबल गरे। सचिवालय बैठकमा बहुमत नेताले भण्डारीको सदस्यता खुला गर्न ओलीलाई आग्रह गरे। केन्द्रीय कमिटी बैठकमा पनि ५० भन्दा बढी नेताले यो कुरा उठाए। 

तर, ओलीले सुनेनन्। 

भण्डारीको सदस्यता खुला हुने सम्भावना कमजोर बन्दै जाँदा र महाधिवेशन नजिकिएपछि यो समूहले ईश्वर पोखरेललाई अगाडि सारेको हो। ओली समूहमै रहेर लामो समय काम गरेका पोखरेल अध्यक्षमा अघि सरेपछि भण्डारीले पछाडिबाट मरिमेटेर साथ दिएकी छन्।

‘मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु,’ भण्डारीले मंसिर ११ गते सामाजिक सञ्जालमा लेखेकी थिइन्। 

साथै उनले संगठित सदस्यहरूलाई सन्तुलित प्रतिनिधि चयनमा ध्यान पु‍र्‍याउन पनि आग्रह गरेकी थिइन्। 

‘विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ,’ भण्डारीले भनेकी थिइन्। 

मंसिर २७–२९ सम्म काठमाडौँमा महाधिवेशन हुँदैछ। ईश्वरलाई साथ दिइरहेकी भण्डारीको ध्यान अब महाधिवेशन प्रतिनिधि भेट्नेमा छ। 

‘उहाँ १८ देखि २० गतेभित्र महाधिवेशन प्रतिनिधिसँग छलफलमा निस्किनुहुनेछ,’ उनी निकट एक नेताले भने। 

तीन नेतामा नजर 
विद्या–ईश्वर समूहले ओली खेमाका तीन नेतामा नजर लगाएको छ। उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव रघुवीर महासेठलाई तान्न सके महाधिवेशनको नतिजालाई प्रभाव पार्नसक्ने सो समूहको विश्लेषण छ।

पौडेल देशभरि सांगठनिक संरचना भएका नेता हुन्। यस्तै, गण्डकीका बलिया जनाधार भएका नेता गुरुङ हुन् भने मधेसमा राम्रै पकड जमाएका नेतामा पर्छन् महासेठ।

गण्डकीका महाधिवेशन प्रतिनिधि चयनमा पनि गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

महासेठले धनुषा लगायत केही जिल्लाबाट राम्रै प्रतिनिधि जिताएर ल्याएको नेताहरू बताउँछन्। विद्या–ईश्वर समूहले तत्काल निर्णय गर्न नचाहनुको कारण यो पनि हो। 

दुई पटक पार्टी अध्यक्ष भइसकेको, चार पटक प्रधानमन्त्री भइसकेकोले अब अध्यक्ष ओलीले विश्राम लिनुपर्ने आफूहरूको भनाइ रहेको उपाध्यक्ष युवराज ज्ञवाली बताउँछन्। 

‘प्रतिनिधि चयनमा तलतल अधिकांश प्रतिनिधि खुल्न चाहेका छैनन् तर हरेकले मन बनाएका छन्,’ उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad