बाराको सिमरामा प्रशासन र जेनजी प्रदर्शनकारीबीच कहाँ वार्ता गर्ने भन्ने विषयमा नै सहमति जुट्न सकेको छैन। बुधबारदेखि अशान्त रहेको सिमरामा कर्फ्यु लागेको छ।
तर पनि जेनजीले प्रदर्शन जारी राखेका छन्। उनीहरूले सडक अवरुद्ध गरेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
सिमरामा बुधबार जेनजी र नेकपा एमालेका नेता कार्यकर्ताबीच झडप भएको थियो। त्यसपछि खलबलिएको यहाँको अवस्था आज बिहीबार पनि उस्तै छ।
प्रदर्शन जारी राखेका जेनजीलाई जिल्ला प्रशासन कार्यालय बाराले छलफलका लागि आह्वान गरेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरामा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूलाई वार्तामा बोलाएका हुन्। जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको हो।
उता जेनजीले भने वार्ताका लागि कलैया जान नसक्ने र जितपुर सिमरा उपमहानगरपालिकामा वार्ता हुनुपर्ने अडान लिएका छन्।
प्रमुख जिल्ला अधिकारी मिश्रले भने अहिले कमान्ड पोस्ट छोडेर आउन नमिल्ने र सदरमुकाम कलैया नै आउनुपर्ने प्रस्ताव गरेका छन्।
प्रदर्शनकारी र प्रशासन दुवैपक्षसँग जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले वार्ताका लागि सहजीकरण गरिरहेको बताएका छन्।
तर, वार्ता कहाँ बस्ने भन्ने टुंगो लगाउन गाह्रो भएको उनको भनाइ छ। 'जेनजी भाइहरू कलैया नजाने भन्छन् सीडीओ सा'प कलैया छोडेर सिमरा आउन मिल्दैन भन्नुहुन्छ,' उनले भने, 'अहिलसम्म वार्ता कहाँ बस्ने भन्ने टुंगो लागेको छैन। दुवै पक्षसँग म कुरा गरिरहेको छु।'
जेनजीले भने कुटपिटमा संलग्न एमाले कार्यकर्ता अरविन्द साहलाई पनि पक्राउ गरेपछि वार्तामा बस्ने पनि बताएका छन्।
Shares

प्रतिक्रिया