राजनीति


नेकपामा पुरानैलाई जिल्ला इन्चार्ज तोक्ने सहमति

नेकपामा पुरानैलाई जिल्ला इन्चार्ज तोक्ने सहमति

नेपालखबर
असार २४, २०७६ मंगलबार ६:२५,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पूरानैलाई फेरि जिल्ला इन्चार्ज तोक्ने सहमति जुटेको छ।

सोमबार बिहान जुटेको सहमति अनुसार ७७ जिल्लाका इन्चार्जमध्ये पूर्व एमालेबाट ६० प्रतिशत र पूर्व माओवादीबाट ४० प्रतिशत रहने गरि जिल्ला इन्चार्ज तोकिने छन्। उनीहरू दुई पार्टी एकताअघि साविकको पार्टीबाट जिल्ला इन्चार्ज रहेकाहरू नै हुने सहमति जुटेको नेकपा सचिवालयका एक सदस्यले नेपालखबरलाई बताए।

यसअघि जिल्ला अध्यक्षमा एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व लिने सहमति गरेका थिए। जिल्ला इन्चार्जमा पनि करिब यही अनुसार भागबण्डा हुनेछ।

श्रीलंका भ्रमणमा रहेका नेकपाका बरिठ नेता माधव नेपाल असार २९ गते स्वदेश फर्केपछि ३० गते सचिवालय बैठक बसेर सोमबार भएको सहमति अनुसार जिल्ला इन्चार्ज तोक्ने औपचारिक निर्णय गर्ने तयारी छ।

जिल्ला इन्चार्ज नेकपाका केन्द्रीय सदस्यहरूमध्येबाट तोकिने छन्। ‘एक व्यक्ति एक पद’ को सिद्धान्त अस्वीकार गरिएकाले संघ र प्रदेशमा मन्त्री वा संसाद रहेकाहरू पनि इन्चार्ज हुन सक्नेछन्।

पूर्व एमाले र माओवादी एकता प्रक्रियामा १४ महिनापछि भएको यो एउटा अर्को त्यस्तो महत्वपूर्ण सहमति हो, जसमा राजनीतिक प्रतिवेदनसँगै परिणाम देखिएको छ।

सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा बरिष्ठ नेता माधव नेपालबीच भएको दुई घण्टा लामो बैठकमा जिल्ला इन्चार्ज पूरानैलाई बनाउने समझदारी भएको हो।

तीन नेताबीच छुट्टाछुट्टै भएका भेटघाटहरूमा जिल्ला इनचार्ज तोक्नेबारे पटक पटक छलफल भएका थिए। सोमबार बिहान पनि राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो, जसलाई अब अन्तिम रुप दिएर प्रेसमा पठाउने जिम्मा महासचिव विष्णु पौडेललाई दिइएको छ।

यसअघि के आधारमा जिल्ला इन्चार्ज तोक्ने भन्ने विषयमा खासगरी अध्यक्ष ओली र नेता नेपालबीच विवाद देखिँदै आएको थियो। बरिष्ठ नेता नेपालले वरिष्ठताका आधारमा जिल्ला इन्चार्ज तोक्न प्रस्ताव गरेका थिए भने अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गर्दै आएका थिए।

विभिन्न विकल्पमा छलफल हुने क्रममा सोमबार पूरानैलाई जिल्ला इन्चार्ज बनाउने सहमति जुटेको हो।

नेकपामा पूरानैलाई जिम्मेवारी दिने क्रम बढेकाले अब विभागीय जिम्मेवारीको बाँडफाँड पनि त्यसैगरी हुने संकेत देखिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .