राजनीति


मन्त्री र मुख्यमन्त्री बाँडफाँट गर्न माधव नेपाल समक्ष ओलीको प्रस्ताव, जुटेन सहमति

मन्त्री र मुख्यमन्त्री बाँडफाँट गर्न माधव नेपाल समक्ष ओलीको प्रस्ताव, जुटेन सहमति

मणि दाहाल
बैशाख १५, २०७७ सोमबार १६:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको प्रयासलाई असफल तुल्याउन नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष केही मन्त्री र मुख्यमन्त्री परिवर्तनको प्रस्ताव राखेका छन्। तर, नेपालले ओली पक्षको सो प्रस्ताव अस्वीकार गरेका छन्।

नेताहरुले आफूलाई सरकारबाट हटाउने योजना तीव्र पारेपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई आफ्नो पक्षमा ल्याउन जोड लगाइरहेका छन्।

सोमबार कोटेश्वरस्थित नेपाल निवासनजिकैको नेपाल वन पैदावार उद्योग तथा व्यवसायी महासंघको कार्यालयमा ओली र नेपाल पक्षका नेताहरुबीच करिब ३ घण्टा छलफल भएको थियो। 

निर्णायक भनिएको दुई समूहको वार्तामा ओली पक्षका नेताहरुले नेता नेपालले भनेका केही व्यक्तिलाई मन्त्री र मुख्यमन्त्री बनाउने प्रस्ताव राखेका थिए। त्यसका लागि मन्त्रिपरिषद् पुनर्गठन गरिने र केही प्रदेशका मुख्यमन्त्री फेर्ने उनीहरुको भनाइ थियो।

तर, सो प्रस्तावलाई नेता नेपालले अस्वीकार गरेको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए।

‘हामीले मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्रीमा कुन व्यक्तिलाई लैजाने भन्ने विषय उठाएका होइनौँ। सरकार र पार्टी जसरी चलेको छ त्यसरी चल्न सक्दैन। समस्या उत्पन्न भएको छ,’ पन्तले भने, ‘अहिले समस्याको निकास प्रधानमन्त्रीले दिनुपर्छ।’

MadhavBishnu2

बैठकमा पूर्वप्रधानमन्त्री नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए भने प्रधानमन्त्री ओली पक्षका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल,  प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उपस्थित थिए।

प्रधानमन्त्री ओली संकटमा परेपछि काठमाडौँ आएका मुख्यमन्त्री पोखरेल समस्या समाधानका लागि दौडधूप गरिरहेका छन्।

सोमबार बिहान नै प्रधानमन्त्री ओली र नेता नेपालबीच बालुवाटारमा करिब साढे चार घण्टा लामो भेटवार्ता भएको थियो।

पन्तका अनुसार सो बैठकमा दुवै पक्षले सरकार गठन र पार्टी सञ्चालनका विषयमा विस्तृत छलफल गरेका थिए।

दिउँसोको अनौपचारिक बैठकमा भने नेपाल पक्षले स्थायी समितिको बैठक राखेर पार्टी र सरकार सञ्चालनको विषयसहित सबै विषयमा समीक्षा र निर्णय गर्नुपर्ने धारणा राखेको थियो।

‘भेटवार्तामा ओली पक्षबाट स्थायी समितिमा जाँदा जटिलता बढ्ने भन्दै नेतृत्व तहमा सहमति गरेर मात्रै स्थायी समितिमा जानुपर्ने धारणा आएको थियो,’ पन्तले भने, ‘अहिले भएको विवाद झनै बढ्ने र पार्टी तथा सरकार दुवै अफ्ठ्यारोमा पर्ने भन्ने थियो।’

पन्तले बैठकमा सहभागी भएका सबै नेताहरुले पार्टीभित्र उत्पन्न भएको परिस्थितिको बारेमा स्पष्ट धारणा राखेको बताए।

बैठकमा अध्यादेश प्रकरण, संघीय समाजावादी पार्टीका सांसदलाई जबरजस्ती काठमाडौँ ल्याएको विषयदेखि पार्टी फुटाउन खोजेको आरोपबारे पनि छलफल भएको थियो।

‘हामीबीच मन माझामाझ पनि भयो। त्यसैले बैठक पनि लामो समयसम्म चल्यो,’ उनले भने।

एकीकरणपछि पहिलो पटक अनौपचारिक वार्ता टोली बनाएर गरिएको छलफलले मंगलबार सचिवालयको बैठक बोलाउने र त्यसले नै स्थायी समितिको बैठक आह्वान गर्ने सहमति पनि गरेको उनले जानकारी दिए।

ओली र नेपाल पक्षबीच कोटेश्वरमा वार्ता चलिरहेको समयमा कार्यकारी अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच खुमलटारमा दुई घण्टा छलफल भएको थियो।

नेकपाभित्र प्रचण्ड र नेपालले प्रधानमन्त्री हटाउने तयारी गरेपछि ओली संकटमा परेका छन्। उनीहरुले बजेटअघि नै प्रधानमन्त्री परिवर्तन गर्ने गरी तयारी गरेका छन्। जसका लागि उनीहरुले तत्काल सचिवालय बैठक बोलाएर स्थायी समितिको मिति तोक्नु पर्ने बताउँदै आएका छन्। तर, प्रधानमन्त्री ओलीले बैठक छल्दै आएका छन्।

उता प्रधानमन्त्री ओलीले पनि प्रतिनिधिसभाका सांसदहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन्। बालुवाटारमा दिनभर जस्तो प्रधानमन्त्री ओलीले सांसदहरुसँग भेटघाट गरेको उनको सचिवालयले जनाएको छ।

संसदीय दलमा प्रचण्ड र नेपाल पक्षको बहुमत रहेकाले त्यसो हुन नदिन प्रधानमन्त्री ओलीले सक्रियता बढाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .