राजनीति


राष्ट्रपतिसँग परामर्श लिएरै छलफलमा छन् प्रधानसेनापति, अन्तरिम सरकार गठन गर्न अझै केही दिन

राष्ट्रपतिसँग परामर्श लिएरै छलफलमा छन् प्रधानसेनापति, अन्तरिम सरकार गठन गर्न अझै केही दिन

सागर न्यौपाने
भदौ २६, २०८२ बिहिबार १८:१७, काठमाडौँ

जेनजी प्रदर्शन नियन्त्रणबाहिर गएपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिए।

आन्दोलनबाट ओली सरकारले घुँडा टेकेको भन्दै जेनजी प्रतिनिधिले तत्काल अन्तरिम सरकार गठनको लागि दबाब बढाए। 

मंगलबार बेलुकादेखि प्रधानसेनापति अशोकराज सिग्देलले जेनजीका विभिन्न प्रतिनिधि, दुर्गा प्रसाईँ, पूर्वप्रधानन्यायाधीस सुशीला कार्की लगायतसँग निरन्तर छलफल गरेका छन्। 

राष्ट्रपतिले गर्नुपर्ने वार्ता र संवाद सेना प्रमुखले गरेको भन्दै नागरिक समाज, राजनीतिक दलका युवाले असन्तुष्टि पनि जनाएका छन्। 

उनीहरूले संविधानमाथि नै प्रहारको कोसिस भइरहेको भन्दै चिन्ता जनाइरहेका छन्। राष्ट्रपति सक्रिय हुनुपर्ने र उनले नै सबै पक्षसँग छलफल र वार्ता गर्नुपर्ने उनीहरूले माग गरेका छन्।

तर, राष्ट्रपतिसँग सल्लाह र परामर्शबाटै सेनाप्रमुखले विभिन्न पक्षसँग छलफल गरेर माहोल निर्माणको काम गरिरहेको राष्ट्रपति पौडेलको सचिवालयका एक अधिकारीले बताए।

‘अस्ति राष्ट्रपतिले अपिल गर्नुभएअनुसार प्रधानसेनापतिले वार्ताको वातावरण बनाउन सहजीकरणको काम गरिरहनुभएको छ,’ ती अधिकारीले नेपालखबरसँग भने, ‘किनभने वार्ता गरेर माहोल बनाउने तत्काल अरू छैनन्।’

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तत्काल संसद् विघटन गर्न दबाब बढाइरहेका छन्। जेनजीको मागअनुसार अन्तरिम सरकार गठनको लागि पहिलो सर्त नै संसद विघटन रहेको भन्दै शाहले बारम्बार सामाजिक सञ्जालमा लेखिरहेका छन्। 

राष्ट्रपति मौन र सेना सक्रिय हुँदा कतै संविधान र यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने चिन्ता गर्दै दलहरू एकजुट हुने प्रयासमा छन्। तर, राष्ट्रपति पौडेल त्यो बाटो जाने सोचमा नभएको उनको सचिवालयका अधिकारीको दाबी छ। 

‘संसद् विघटनतिर जाँदैन। अहिलेसम्म त्यस्तो कुरा भएकै छैन। त्यतातिर विषय गएकै छैन। ध्यानै दिएको पनि छैन,’ उनले थपे, ‘अहिले पहिलो काम नै ल एन्ड अर्डर (कानुनको शासन) लाई कायम राख्नु र जेनजीको डिमान्ड के हो भन्ने कुरा पत्ता लगाउने काम भइरहेको छ।’

तत्काल अन्तरिम सरकार गठनका लागि दबाब भए पनि त्यसका लागि केही समय लाग्ने उनीहरूको भनाइ छ।

‘एक-दुई दिन अझै समय लाग्छ। किनभने, सबै कुरा पहिचान नगरी, विश्वासमा नलिई अहिले नै गरिहाल्ने भन्ने कुरा पनि भएन। कहिलेकाहीँ यही सबै कुरा हो भनेर गयो भने त्यो उल्टै प्रत्युत्पादक पनि हुन सक्छ,’ राष्ट्रपति पौडेलको सचिवालयका ती अधिकारीले थपे।

त्यस्तै बिहीबार अपराह्न राष्ट्रपति एक अपिल जारी गर्दै संवैधानिक दायरामा रहेर निकास दिन प्रयास गर्दै गरिरहेकोले विश्वस्त हुन भनेका छन्।

 

भ्रष्टाचारविरुद्ध जेनजीले सोमबार गरेको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले गरेको दमनमा २० युवाको ज्यान गएपछि मंगलबार आक्रोशित युवाले राज्य सञ्चालनका तीनै अंग सिंहदरबार, संसद् भवन र सर्वाेच्च अदालतमा आगजनी गरेका थिए। यस्तै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूको घर जलाएका थिए।

यस्तै प्रदर्शनकारीले सरकारी र निजी प्रतिष्ठानका भवनमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका थिए।

सरकारविहीनताको अवस्था भएकाले राष्ट्रपतिले आफ्नो अभिभावकीय जिम्मेवारी पूरा गरिरहेको सचिवालयका अधिकारीको भनाइ छ।

राष्ट्रपति पौडेलको सरकारी निवास शीतलनिवास पनि प्रदर्शनकारीले आगजनी गरेर पूर्णरूपमा क्षतिग्रस्त पारेपछि उनी सेनाको उच्च सुरक्षामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad