जेनजीको प्रदर्शन हिंसात्मक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अघि राजीनामा दिएका छन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा बुझाएका हुन्।
‘राजनीतिक परिस्थिति समाधान गर्नको लागि मैले राजीनामा दिएको हुँ,’ राष्ट्रपति पौडेलसँग ओलीले भने।
उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले जानकारी दिए।
जेनजीको प्रदर्शन आक्रामक बन्दै गइरहेका बेला प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि अबको निकास के होला, राष्ट्रपतिले कस्तो कदम चाल्छन् भन्ने विषयमा चासो बढेको छ।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले अब राष्ट्रपति प्रक्रियामा जाने बताए।
‘उहाँले त अब प्रोसेसमा जानुपर्यो नि,’ थापाले भने।
राष्ट्रपतिको सचिवालयका अर्का अधिकारीका अनुसार राष्ट्रपतिले कानुनी परामर्श थालिसकेका छन्।
भ्रष्टाचार, नातावाद र अन्य बेथितिप्रति तीव्र आक्रोश व्यक्त गर्दै सोमबार काठमाडौँसहित देशका केही सहरमा जेनजीले प्रदर्शन गरेको थियो।
तर, प्रदर्शन आक्रामक बन्दै गएपछि प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो। गोली लागेर २० जना युवाको ज्यान गइसकेको छ। त्यसले आक्रोशित भएका युवाहरूले मंगलबार बिहानैदेखि नेताका घर र पार्टी कार्यालयमा छानीछानी आगजनी गरे।
सिंहदरबार र संसद भवन प्रवेश गरेर आगो लगाए। स्थिति भयावह र विकराल बन्दै गएपछि आएको प्रधानमन्त्री ओलीको राजीनामापछि निकासको खोजी गर्न राष्ट्रपति पौडेलले छलफल थालेका हुन्।
Shares

प्रतिक्रिया