जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रकुमार महतोले आम मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय रहेको भन्ने परेको बताएका छन्।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्यासम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्।
वन मन्त्रालयमाथि परेको यो भ्रमलाई चिर्न सक्नुपर्ने भन्दै महतोले नेपाललाई समृद्ध बनाउन पछिल्लो समय हाईड्रोपावरमा लगानी बढाउने क्रम बढेको उल्लेख गरे।
‘नेपालमा अहिले समृद्ध नेपाल बनाउने भनेर अहिले हाईड्रोपावरमा जोड दिईरहेका छौँ, किनभने भारत र बंगलादेश किन्ने भएको हुनाले अलिकति हामीले हाईड्रोलाई बेच्न पनि सक्छौँ र त्यसबाट आम्दानी लिन पनि सक्छौँ भनेर जहाँ गएपनि हाईड्रो पावर बनाउने, बन्नुपर्छ भनेर हामी कुरा गर्छौं,’ उनको भनाइ छ, ‘तर अहिलेको आम मानिसको बुझाईमा के छ भने विकासको बाधक, नेपाल समृद्धि वन मन्त्रालय हुन्जेलसम्म नेपालमा कुनै पनि समृद्धि हुँदैन भन्ने कुरा चाहीँ आम मानिसको बुझाईमा आईसकेको छ। यो कुरालाई हामीले चिर्न सक्नुपर्छ नत्र भने झन आक्रोश चाहीँ बढ्दै गईरहेको मैले बुझेको छु।’
उनले हाल धेरै लगानी भएका, लाइसेन्स पाइसकेर काम अगाडि बढेका जलविद्युत आयोजनाका काम रोकिएको अवस्थामा रहेको बताए। वन मन्त्रालयले यसमा केही सहज गरिदिन खोजे एनजीओ, आइएनजीओमार्फत जनजिवन धानिरहेकाहरुले मुद्दा हाल्दिने चलन रहेको उनको आरोप छ।
Shares

प्रतिक्रिया