चक्रे मिलन भनिने मिलन गुरुङ धरौटीमा रिहा भएका छन्। भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो।
आदेशलगत्तै धरौटी बुझाएर उनी रिहा भइसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।
गोरखाको सिरानचोक गाउँपालिका-५ का चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। प्रहरीको अनुसन्धानपछि बिहीबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको थियो।
शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश न्यौपानेको इजलासले उनलाई धरौटीमा छाड्न भनेको हो। सर्लाहीको हरिवनका मनीष रायमाझीलाई ज्यान मार्ने उदेश्यले कुटपिट गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले प्रहरीमा जाहेरी दिएका थिए।
अदालतमा उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ अनुसार ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको थियो। यो कसुरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको थियो।
यस्तै पीडितलाई आवश्यक क्षतिपूर्ति भराइदिन पनि माग भएको थियो। घटना २०८१ भदौ १० गते साँझको हो। पहिलो चरणमा अजित खवासविरुद्ध २०८१ असोज ४ गते मुद्दा दर्ता भइसकेको भए पनि चक्रे मिलनको भने एकीन ठेगाना नखुलेको भन्दै त्यतिबेला मुद्दा दर्ता गरिएको थिएन। तर काठमाडौँको ठमेलबाट पक्राउ परेका उनलाई एक वर्ष पहिलेको घटनामा पनि प्रहरीले मुद्दा अगाडि बढाएको थियो।
सानोठिमी दिव्यश्वरीस्थित बड्डाको तावा रेस्टुरेन्टमा हेल्मेट, मास्क, रेनकोटसमेत अजित खवासलगायत ९-१० जनाले मनीष रायमाझीलाई कुटपिट गरेको आरोप छ।
रायमाझीलाई हेल्मेट, सिसाको बोतल, लात्ता, मुक्का समेतले प्रहार गरी गम्भीर घाइते बनाएका थिए। मनीषलाई घाइते भइसकेपछि अजित खवासले नै अस्पताल लगेका थिए।
उनको उपचार खर्च पनि कुटपिटमा संलग्नकै आफन्तले व्यहोरेको रायमाझीले बयान दिएका थिए। उनको मोबाइल फुटेको र त्यसको पनि खर्च व्यहोरेको बयान दिएका रायमाझीले कुनै पनि क्षतिपूर्ति माग गरेका थिएनन्।
उक्त घटनाका मुख्य योजनाकार भनिएका चक्रे मिलन भन्ने मिलन गुरुङ्गको हकमा तीन पुस्तेसहितको एकिन वतन नखुलेको भन्दै त्यतिबेला प्रतिवादी बनाइएको थिएन।
अजित खवास र मनीष रायमाझी एउटै गाउँका हुन्। चक्रे मिलनको ग्याङलाई उनैले लोकेसन दिएकाले आफूमाथि कुटपिट भएको जाहेरीमा उल्लेख गरेका थिए।
तर रायमाझी र चक्रे मिलनको भने चिनजान नरहेको खुलेको छ। दुवै जनाले एकअर्कालाई नचिनेको बयान दिएका छन्।
कुटपिटमा परेका रायमाझी नेपाली कांग्रेस र चक्रेमिलनको समूह नेकपा एमालेनिकट हुन्। चक्रे मिलनविरुद्ध रायमाझीले फेसबुकमा स्टाटस लेखेपछि उनको समूहले खोजी सुरु गरेको थियो। तर रायमाझी भने फोन अफ गरेर बसेका थिए।
तर त्यसदिन आफ्नै गाउँका खवासले लोकेसन दिएकाले आफूमाथि कुटपिट भएको पीडितको दाबी छ। उनले घटना भएको दिन पनि खवासलाई आफ्नो र चक्रे मिलनको लफडा परेको बताएका थिए।
त्यसपछि कसैलाई नभेटेको भन्दै खवासलाई एक्लै भेट्न बोलाएका थिए। तर खवास आएको केही समयमै चक्रे मिलन समूहका केही युवा आएर कुटपिट गरेको पीडितको आरोप थियो।
त्यसपछि उनीहरू बसिरहेको होटलमा आएर ‘चक्रे मिलनबारे अपाच्य शब्द उल्लेख गरेर किन स्टाटस लेख्या? भाइहरू छैनन्?’ भन्दै एक्कासि हेल्मेट, सिसाको बोतल, लात्ती, मुक्कासमेतले प्रहार गरी घाइते बनाएका थिए।
चक्रे मिलनले बयानका क्रममा मनीष रायमाझीलाई नचिनेको, धम्की दिने र म्यासेज पठाउने नगरेको दाबी गरेका थिए। उनले अजित खवासलाई पनि नचिनेको र रायमाझीलाई कुटपीट गर्न कुनै योजना नबनाएको दाबी गरेका थिए।
Shares

प्रतिक्रिया