राजनीति


रविमाथि ओलीको टिप्पणी- भिजिट भिसामै विदेश गएर, नागरिकता त्यागेर विदेशमै दुई-दुई वटा बिहे गर्ने

रविमाथि ओलीको टिप्पणी- भिजिट भिसामै विदेश गएर, नागरिकता त्यागेर विदेशमै दुई-दुई वटा बिहे गर्ने

नेपालखबर
साउन २८, २०८२ बुधबार १४:६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन्। सम्बोधनको क्रममा उनले हालै भएको तुर्कमेनिस्तानको भ्रमणबारे जानकारी गराए। लगत्तै उनले सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उक्त पार्टीका सांसदहरूमाथि खनिए। 

'म संसद्‌मा सरकारले के काम गर्‍यो भन्ने प्रश्न उठोस् भन्ने चाहन्थे। यस्ता कप्टी बहसले देशलाई कहाँ लैजान खोजिएको छ? केही गरौँ भन्ने पनि होइन। गालिगलौज र उत्तेजनालाई प्रेरित गरिन्छ' उनले भने।  

त्यस्तै देश र जनताको हितमा केन्द्रित बहस गर्नुपर्नेमा सोसल मिडियालाई कन्टेन्ट दिने काम मात्रै भएको उनको भनाइ छ।   

त्यस्तै रास्वपाले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भनेर आरोप लगाएको बारे टिप्पणी गरे। 

'आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित छैनन्। देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ,' उनले भने, 'के आजको हाम्रो राष्ट्रिय आवश्यकता यही हो ? पोजिसनका हिसावले प्रतिपक्षमा भए पनि जनताको मत लिएर आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि!'

सहकारीमा गरेको बचत हिनामिना गर्न सयौँ व्यक्तिमाथि मुद्दा चलेको तर रवि लामिछानेमाथि मात्रै प्रतिशोध साँधिएको भन्ने भाष्य बनाइएको भन्दै ओ‌लीले आपत्ति जनाए। 

'लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ,' उनले भने, 'तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो ? अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुनकुन व्यक्तिमाथिको थुना जायज हो ? भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने छ। त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि छ।'

ओलीले काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीलाई पेसेबर मासमेनेपोलुसनबाट बचाउनुपर्ने बताए। 'कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर मन्त्री सम्म भएका। भिजिट भिसामा गएर उतै दुई-दुई पटक बिहे गर्नेले अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने नागरिकलाई बेचिएको भन्ने?' उनले प्रश्न गरे। 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad