राजनीति


पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा काम दिने जिम्मेवारी ओलीको, ५ गतेअघि नै टुंग्याउने

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा काम दिने जिम्मेवारी ओलीको, ५ गतेअघि नै टुंग्याउने

सागर न्यौपाने
साउन ३, २०८२ शनिबार २१:३४, काठमाडौँ

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा दिने कामबारे अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी लिएका छन्।

दुई दिनसम्म चलेको नेकपा एमालेको पोलिटब्युरो बैकठले अध्यक्ष ओलीलाई नै यसमो जिम्मेवारी दिएको हो।

बैठकलाई समापन गर्दैै उनले भण्डारीबारे आएका सुझावलाई सकेजति सम्बोधन गर्ने र त्यो ५ गते बस्ने केन्द्रीय कमिटी अघि नै टुंग्याउने बताएको नेकपा एमालेका एक नेताले नेपालखबरलाई जानकारी दिए। 

‘उहाँलाई कसरी काम लगाउने, के जिम्मा दिने भन्नेबारे उहाँ(अध्यक्ष)आफैले जिम्मा लिनुभयो,’ ती नेताले भने।

उनले थपे, ‘आवश्यक आएका सुझावलाई सम्बोधन गर्नसक्नेजती सम्बोधन गर्ने र ५ गतेको केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरियो भनेर समापन भयो।’

केन्द्रीय समिति बैठक बस्नुअघि नै सचिवालय बैठक बसेर यसबारे छलफल हुनेछ।

आफूसँग सल्लाह नगरेकोमा गुनासो
अध्यक्ष ओलीले राजनीतिमा आउने घोषणा गर्नुअघि पूर्वराष्ट्रपति भण्डारीले आफूसँग छलफल नगरेकोमा चित्त दुखेको संकेत पनि बैठकमा गरेका थिए। ‘विद्या भण्डारीले पार्टीमा बसेर छलफल गर्नुपथ्र्यो, त्यो नगरेकोमा पार्टी नेतृत्वको गुनासो हो,’ ती नेताले भने, ‘अरु केही होइन।’

पोलिटब्युरो बैठकका निर्णयबारे जानकारी गराउँदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने भण्डारीको सदस्यता नवीरकरणबारे पार्टी विधानको धारा ८ र ९ आर्कषित हुने भन्दै हाललाई त्यो 'पेन्डिङ'मा रहेको जानकारी गराएका थिए। 

ओलीले भने समापन मन्तव्य राख्ने क्रममा 'पेन्डिङ'मा राख्नेबारे त्यसो केही निर्णय नभएको बताएका थिए। यसबारे पार्टीले उपयुक्त समयमा निर्णय लिने ओलीको भनाइ छ।

‘न पेन्डिङ, न होल्डिङ, केही निर्णय भएको छैन,’ अध्यक्ष ओलीको भनाइ उदृद्ध गर्दै ती नेताले भने, ‘पार्टीले बसेर उपयुक्त समयमा उहाँको बारेमा निर्णय गर्छ भन्नु भएको छ।’

विद्यासँग आफै कुरा गर्ने

पोलिटब्युरो बैठकमा दुई दिन गरेर ६८ जनाले आफ्नो धारणा राखेका थिए। त्यसमध्य धेरैले पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा गम्भीर भएको भन्दै यसबारे अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीले नै आपसमा बसेर समस्याको समाधान निकाल्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।

ओलीले ती सुझावलाई आफूले ग्रहण गरेको भन्दै भण्डारीसँग आफैले कुरा गर्ने समेत बैठकमा बताएका थिए। यसबारे बैठकबाट अहिले नै निर्णय गर्न आवश्यक नभएको भन्दै उनले आफूहरू बसेर कुरा गर्ने अनि टुंग्याउने उनले बताएका  थिए।

‘विधा भण्डारीका बारेमा छलफल गरेर टुंगोमा पुर्‍याउने भनेर उहाँहरू दुई जना बस्ने कुरा भएको छ,’ एमालेका अर्का नेताले ओलीको भनाइ उल्लेख गर्दै नेपालखबरसँग भने, ‘हामी बसेर सल्लाह गर्छौं, अहिले यहाँ केही निर्णय गर्न परेन। सबैका कुरा सुन्ने हो भनेर अध्यक्षले भन्नु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad