राजनीति


अनौपचारिक अर्थतन्त्रका कारण विकास असन्तुलित भयो : महासचिव पोखरेल

अनौपचारिक अर्थतन्त्रका कारण विकास असन्तुलित भयो : महासचिव पोखरेल

नेपालखबर
जेठ २४, २०८२ शनिबार १४:५६, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्यका नीतिहरुका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताएका छन्।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले शनिबार आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गरे।

‘हाम्रो राज्यका नीतिहरुका कारणले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र वलशाली भएर गएको छ,’ पोखरेललले भने, ‘अनौपचारिक अर्थतन्त्रले हाम्रो आर्थिक सामाजिक विकासलाई असन्तुलित बनाइदिएको छ। राज्यकै नीतिहरुमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीतिहरु रहँदै आए। अहिले पनि पूरै सुधार भएको छ भन्ने मलाई लाग्दैन।’

्कोभिडपछि नेपालको अर्थ व्यवस्थाको सबैभन्दा ठूलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त लगायतमा प्रत्यक्ष असर देखिएको बताउँदै घरजग्गा कारोबारमा मन्दी आउँदा विकास निर्माणमा पनि त्यसको प्रत्यक्ष असर परेको दाबी गरे।

‘कोडिभ पछाडि प्राय मुलुकहरुको अर्थव्यवस्था ऋणात्मक भयो त्यसैगरी हाम्रो पनि अवस्था त्यही भयो, तर त्यतिबेला विश्व अर्थव्यवस्थामा जुन प्रकारको नकारात्मक प्रभाव पर्‍यो त्यसको तुलनामा हाम्रो अर्थव्यवस्थामा नकारात्मक प्रभाव कम परेको हो,’ पोखरेलले भने, ‘त्यसपछि नेपालमा राजनीति यति धेरै अन्तरसंघर्षपूर्ण, उतारचढावपूर्ण र द्वन्दबाट गुज्रियो अनि नेपालको अर्थव्यवस्था एक प्रकारले मन्दीको तहमा प्रवेश गर्‍यो। मन्दीको अवस्थामा पुगेको अर्थव्यवस्थाको सबैभन्दा ठूलो मार राज्यको ट्रेजरीमा पर्‍यो। राज्यको ट्रेजरीमा परिसकेपछि राज्यले दिने सेवा सुविधा र विकास निर्माणका कामहरुमा त्यसको प्रभाव पर्नगयो।’

उनले थपे, ‘नेपालको अर्थ व्यवस्थाको मन्दीको ठूलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त आदि इत्यादिमा त्यसको प्रत्यक्ष असर देखियो र आज हामी यसो हेर्दा घरजग्गा कारोबारमा परेको असर सबैभन्दा बढी कहाँ परेको छ भन्दा निर्माण उद्योगमा परेको छ।’ 

उनले पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको र पञ्चायतको अन्तिम समयको आर्थिक, सामाजिक सूचकहरुलाई आधार बनाएर विश्लेषण गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad