ad ad

राजनीति


चीनले गर्ने स्वास्थ्य सहयोगबारे बेइजिङ–काठमाडौं संवाद हुँदैछः राजदूत होउ

चीनले गर्ने स्वास्थ्य सहयोगबारे बेइजिङ–काठमाडौं संवाद हुँदैछः राजदूत होउ

नेपालखबर
चैत २४, २०७६ सोमबार ७:५०,

कोभिड–१९ को महामारीबारे चीनको अनुभव र उसले हाल नेपाललगायत बिभिन्न मुलुकलाई गरिरहेको सहयोगका विषयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राखेका धारणाः

चीनमा कोभिड–१९ को पछिल्लो अवस्था र यो महामारी सामना गर्न चीनले गरेको अन्तर्राष्ट्रिय सहयोग
राष्ट्रपति सी चिनफिङको कमाण्ड र निर्देशन, चिनियाँ सरकार र जनताको मेहनत र बलिदानबाट, चीनको महामारीको अवस्था अब स्थिरता र सकारात्मक दिशातर्फ मोडिएको छ। ७६ हजारभन्दा बढी बिरामी निको भएका छन्। अझै पनि केही फाट्ट फुट्ट बिरामीहरु देखापरिरहेका छन् तर मुख्यतः महामारी फैलिने क्रमलाई नियन्त्रणमा लिइएको छ। यो महामारी अहिले संसारभर फैलिरहेको छ। त्यसैले, अहिले हामी कोभिड–१९ का बाहिरबाट आउने (आयातित) बिरामीलाई रोक्ने चुनौति भोगिरहेका छौं। शनिबारसम्म, चीनको मुख्यभूमिमा ९१३ जना बाहिरबाट आएका बिरामी भेटिएको पुष्टि भएको छ।

कोभिड–१९ बिरुद्धको लडाईंमा चीन होमिइरहेको अत्यन्त कठिन समयमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायले हामीलाई निकै महत्वपूर्ण साथ र सहयोग दिए। चीन यस्तो सहयोगप्रति सँधै अनुग्रहित छ र यस्तो साथको गुन तिर्छ। कोभिड–१९ बिरुद्धको चीनको लडाईं सकिइसकेको छैन। बाहिरबाट आउनसक्ने र स्थानीय तहमै फेरि ब्युँतिन सक्ने संभावना रहेको हुँदा त्यसलाई रोक्नका लागि चीन अहिले पनि ठूलो दबाबमै छ।

त्यसैले अहिले पनि मेडिकल सामग्रीको ठूलो माग कायमै छ। तर चीन सरकारले सर्जिकल तथा एन९५ मास्कहरु, व्यक्तिगत सुरक्षा कवच (पीपीई), टेष्ट किटहरु र अन्य सामानहरु १२० भन्दा धेरै देश र कैयौं अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई प्रदान गर्न सफल भएको छ। त्यसबाहेक, हामीले धेरै देशलाई उनीहरुको व्यापारिक खरिद प्रक्रियाअनुसार सहयोग गर्यौं र सँगसँगै उनीहरुलाई रोकथाम र नियन्त्रणसम्बन्धी हामीले हासिल गरेको अनुभव पनि भिडियो कन्फ्रेन्समार्फत् जानकारी गरायौं।

अहिले मानवजाती नै एउटा साझा भविष्यसहित एउटा वैश्विक ग्राम र समुदायमा बाँचिरहेको अवस्था छ। यो महामारी सुरु भएदेखि नै चीन सबैका लागि खुला, पारदर्शी र सबै प्रयासमा जिम्मेवाररुपमा प्रस्तुत भइरहेको छ। हामीले समयमै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गरायौं र रोकथाम तथा नियन्त्रणका सबैभन्दा सशक्त उपायहरु अपनायौं। महामारी रोक्नका लागि निकै ठूलो बलिदान तथा योगदान दियौं।

अमेरिका, बेलायत र अन्य मुलुकका अनुसन्धानकर्ताहरुले दि जर्नल साइन्समा एउटा पेपर प्रकाशित गरे। त्यसमा उनीहरुले संक्रमण फैलावटको क्रमलाई तोडेर महामारी रोक्न गरेको चीनका प्रयासहरुले सफलरुपमा काम गरेको र त्यसबाट मुलुकलाई जोगाउन सफल भएको बताएका छन्। चीनले ‘पहिले चीन’ भन्ने नीति कहिल्यै लिनेछैन। चीनबाट दिइने सहयोगमाा कुनै राजनीतिक शर्त जोडिएको हुँदैन।

यसलाई हामी विश्व जनस्वास्थ्य सुरक्षामा एक जिम्मेवार देशको योगदानको रुपमा लिन्छौं। अन्तर्राष्ट्रिय समुदायले हामीलाई त्यसको जस दिनेछ।

एउटा कुरा प्रष्ट रुपमा भन्नैपर्छ कि केही गतल नियत भएका निश्चित व्यक्ति र शक्तिहरु यतिबेला पनि अरुलाई गालि गर्न र दोषारोपण गर्न लागिपरेका छन्। उनीहरुले जे गरिरहेका छन् त्यसले त यो महामारी रोक्न सहयोग गर्दैन बरु थप मानिसहरुको ज्यान जान्छ भन्ने प्रष्टै छ। यतिबेला सबै मुलुकले त्यहाँका मानिसको जीवन जोगाउने र यो महामारीविरुद्धको लडाईंमा सबैले हातमा हात मिलाउने कुरालाई नै मुख्य प्राथमिकता दिनेछन् भन्ने हामीलाई आशा छ।

नेपालको लकडाउन र महामारी रोक्ने प्रयास
यो महामारी सुरु भएसँगै नेपालको सरकारले उपप्रधानमन्त्री र्इश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्नुका साथै बिभिन्न कदमहरु चालेको छ। जस्तै समयमै महामारीबारे सूचनाहरु जारी गर्ने, परिक्षण क्षमता वृद्धि गर्ने, कोरोना उपचारकै लागि निश्चित अस्पतालहरुको राष्ट्रिय सञ्जाल बनाउने, पुष्टि भएका बिरामीसँग सम्बन्धित मानिसहरुको खोजी गरी तिनलाई सेल्फ आइसोलेसनमा राख्ने लगायतका कामहरु गरेको छ।

लकडाउन र उडान बन्दपछि आवतजावतमा कमी आएको छ। नेपाल सरकारले आवश्यक सामग्रीको आपूर्ति र अभावमा रहेका परिवारलाई राहत दिने लगायतका काममा आफ्ना प्रयास केन्द्रित गरेको छ। यी प्रयासले गर्दा महामारी फैलिनबाट रोक्न महत्वपूर्ण योगदान पुर्याएको हामीले पाएका छौं। नेपाली जनताले पनि सरकारको आदेशलाई पालना गर्दै आफैलाई थप सुरक्षित गर्न व्यक्तिगत सरसफाईको बानी बसाएको देखिन्छ। नेपाल प्रहरी लकडाउनलाई कडाइका साथ लागु गर्न खटिएको छ। त्यसैगरी नेपालको बिभिन्न क्षेत्रका मानिसहरु कोष तथा आपूर्तिमा आफ्नो योगदान पनि दिइरहेका छन्।

नेपाल सरकारले आफ्नो राष्ट्रिय परिस्थिति र यथार्थलाई मध्यनजर गर्दै महामारीबाट आफ्ना जनताको जीउज्यान बचाउन यी सबै कदमहरु चालिरहेको छ भन्ने हामीलाई लाग्छ। यतिबेला, केही चिनियाँहरु पनि नेपालमा रोकिएका छन्। हामी उनीहरुको सुरक्षाका लागि सम्बन्धित सरकारी निकायहरुसँग सहकार्य गरिरहेका छौं।

नेपाललाई चीनको सहयोग
चीन महामारीसँग लडिरहेको कठिन परिस्थितिमा नेपालले चीनलाई निकै महत्वपूर्ण सहयोग गरेको छ। चिनियाँ जनताले त्यो कहिल्यै बिर्सने छैनन्। अब अहिले नेपालमा यो समस्या सुरु हुँदा, चीनले पनि आफूले सक्दो सहयोग गरेको छ। नेपालका सम्बन्धित मन्त्रालयसँग दूतावासले संयुक्त टोलीहरु गठन गरी महामारी रोकथाम तथा नियन्त्रण, क्लिनिकल उपचार, भन्सार क्वारेन्टाइन लगायत विषयबारे कागजपत्रको आदान प्रदान तथा भिडियो मार्फत् जानकारी तथा अनुभव बाँड्ने काम भइरहेको छ।

चीनको केन्द्रीय सरकारले नेपाललाई आवश्यक सामग्री सहयोग गर्नेछ, त्यसका लागि दुवै पक्ष अहिले संवादमा छन्। यसैबीच, चीनका केही स्थानीय सरकारहरु र नागरिक समाजले नेपाललाई सबैभन्दा बढी आवश्यक सामग्री संकलन गर्न सक्रियरुपमा काम गरिरहेका छन्।

चैत १६ गते बिहान सहयोगस्वरुप प्रदान गरिएका सामानको पहिलो खेप आइपुगेको छ। त्यो सामान स्थानीय सरकारहरु र एनजीओहरुले प्रदान गरेका हुन्। मलाई थाहा भएअनुसार सिन्ज्याङ स्वायत्त क्षेत्र, युनान प्रदेश र केही चिनियाँ संस्थाहरुले पनि नेपाललाई मेडिकल सामग्री प्रदान गर्न इच्छा व्यक्त गरेका छन्।

यतिबेला सबैभन्दा जटिल पक्ष यातायातको हो। चिनियाँ दूतावासले संवाद र सहकार्यलाई थप सशक्त बनाउँदै यातायात र भन्सार क्लियरेन्सलगायतका विषयलाई सहज बनाउँदै जानेछ।

महामारीको अवस्था र नेपाली पक्षको आवश्यकताका आधारमा हामीले भिडियो सम्पर्क र अन्य माध्यमबाट प्राविधिक सहयोग प्रदान तथा अन्य संयुक्त पहलहरु गर्नेछौं।

नेपालले चीनमा किनेका मेडिकल सामग्री मापदण्डअनुसार छन्?
सम्बन्धित प्रक्रियाबमोजिम, यदि कुनै देशले कुटनीतिक माध्यमबाट खरिदको माग पठायो भने दूतावासले हेडक्वार्टरलाई पठाउँछ र योग्य आपूर्तिकर्ताको सूची उपलब्ध गराउँछ।

चैत २० गते, नेपाली पक्षले बेइजिङस्थित नेपाली दूतावासमार्फत् चीन सरकारसमक्ष व्यापारिक माग पेश गरेको छ। चीनको बाणिज्य मन्त्रालयले यसमा संयोजन तथा तयारी गरिरहेको छ।

विश्वका बिभिन्न मुलुकमा मेडिकल सामग्रीका बिभिन्न मापदण्डहरु हुन्छन् जुन अत्यन्त स्वभाविक कुरा हो। निर्यात सामग्रीको गुणस्तर नियन्त्रण गर्ने कुरालाई चीनले उच्चमहत्व दिन्छ। जुन सामग्री मापदण्डअनुसार छैनन्, तिनलाई निर्यात गर्ने अनुमति नै दिइँदैन। सम्बन्धित विभागहरुले यससम्बन्धी थप नियामक कदमहरु ल्याएको छ। मेडिकल सामान निर्यात गर्ने कम्पनीहरुले भन्सारबाट ती सामानको दर्ता प्रमाण देखाउनुका साथै पठाउन लागेको मुलुकको मापदण्डअनुसार छन् भनी लिखित वा डिजिटल फर्म्याटमा स्पष्टसँग भन्नैपर्छ।

सो प्रक्रियाका क्रममा मापदण्डसम्बन्धी कुनै समस्या देखियो भने ती कुरा तथ्यगतरुपमा समाधान गर्नुपर्छ। तर चिनियाँ सामग्रीमा गुणस्तरको समस्या छ भनेर बिना तथ्य बढाइचढाइ गर्ने र राजनीतिकरण समेत गर्ने केही पश्चिमी मिडियाको काम गैरजिम्मेवारपूर्ण छ। महामारीसँग लड्न अन्तर्राष्ट्रिय सहकार्य गर्नका लागि यो उचित होइन।

सार्कसँग चीनको सहयोग
दक्षिण एसियाका सबै मुलुकमा गरी ७ हजार बिरामी फेला परेक छन्। चीन दक्षिण एसियाको छिमेकी मुलुक हो र यो सार्क संगठनमा पर्यवेक्षकको रुपमा सहभागी छ। यो महामारी सुरु भएसँगै, सार्क राष्ट्रहरुसँग रोकथाम तथा नियन्त्रणसम्बन्धी जानकारी तथा अनुभाव बाँड्नका लागि निकटको सहकार्य रहँदै आएको छ। हाम्रो क्षमताले भ्याएसम्म हामी सबै सार्क राष्ट्रहरुलाई सहयोग गर्दै आएका छौं।

चैत ७ गते चीनले युरोएसियन र सार्क मुलुक गरी १९ देशका प्रतिनिधिसँग भिडियो कन्फ्रेन्स गर्यो। त्यतिबेला चीनका स्वास्थ्यकर्मी र भन्सारका कर्मचारीले यससम्बन्धी अभ्यास र अनुभवबारे जानकारी बाँडे। उनीहरुले रोकथाम तथा नियन्त्रण, क्लिनिकल जाँच तथा उपचार, सामग्रीको सहयोग र बन्दरगाहमा जाँच तथा क्वारन्टिन लगायत विषयमा जानकारी दिएका थिए। उनीहरुले ८० भन्दा बढी प्रश्नहरुको जवाफ दिएका थिए। सार्क मुलुकका सहभागीहरुले सो भिडियो कन्फ्रेन्स निकै सान्दर्भिक र उपयोगी भएको बताएका थिए।

कोभिड–१९ महामारी अहिले व्यापकरुपमा विश्वभर फैलिइरहेको छ। ठूलो जनसंख्या रहेको दक्षिण एसिया पनि अहिले यसलाई रोक्न तीब्र दबाबमा छन् र सोहिअनुसार उनीहरुले रोकथामका कडा कदम चालेका छन्। सार्क मुलुकहरु र सार्क सचिवालयसँग नजिक रहेर चीनले आफुसँग उपलब्ध स्रोत साधनको उच्चतम सदुपयोग गर्नेछ। महामारी नियन्त्रण र उपचारका लागि हामीले क्षेत्रीय सञ्जाल निर्माण गर्नसक्छौं जसले सार्वजनिक स्वास्थ्यका आपतकालिन परिस्थितिको तत्काल सामना गर्न र क्षेत्रीय जनस्वास्थ्य सुरक्षालाई टिकाइराख्न सहयोग गर्न सक्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .